प्रधानाध्यापक र विव्यस अध्यक्ष कक्षा १ मा भर्ना

0
546
पाल्पा । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कक्षा १ मा भर्ना भएको भन्दा तपाईँलाई सुन्दै अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो ।  महेन्द्र बोधि मावि(एमबिएस स्कुल) तानसेन–२ पाल्पाका प्रधानाध्यापक केशव के.सी. र विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला श्रेष्ठ कक्षा १ मा भर्ना हुनुभएको छ । उहाँहरू मात्रै होइन शिक्षक अभिभावक संघ अध्यक्ष स्वस्तिका श्रेष्ठ, सहायक प्रधानाध्यापक हरिलाल गैरे, शिक्षकहरू झविन्द्र देवकोटा, कमलराज बस्याल, अर्जुन प्रपाद बस्याल, बाबुराम खत्री, कृष्णप्रसाद पौडेल, सृजना शर्मा लगायत पनि कक्षा १ मा भर्ना हुनुभएको छ । शैक्षिक योग्यताको हिसावले प्रधानाध्यापक एमएस्सी र विव्यस अध्यक्ष एमएड/विएस्सी (पूर्व प्र.अ.) हुनुहुन्छ । अन्य शिक्षक स्टाफ पनि माथिल्लो शैक्षिक योग्यताकै हुनुहुन्छ ।
विद्यालयको शुक्रवारीय कार्यक्रममा “बुक फ्रि फ्राइडे” समावेश गरिएको छ । बुक फ्रि फाइडेको एक भागमा कक्षा ५, ६ र ७ का बालबालिकालाई नैतिकवान बनाउन परियत्ति शिक्षा लागू गरिएको छ । परियत्ति शिक्षा बुद्धको नैतिक शिक्षा भएकाले नैतिक शिक्षा सिक्न प्रधानाध्यापक र विव्यस सहितको टिम पनि कक्षा १ मा भर्ना हुनुभएको हो ।
विद्यालयले तानसेनको महाचैत्य विहार तानसेन ३ टक्सारटोलसँग सम्झौता गरी विद्यालयमा निःशुल्क परियत्ति कक्षा सञ्चालन गरेको छ । सम्झौतामा शुरुको चरणमा बुक फ्रि फ्राइडेको दिन परीक्षणको रुपमा कक्षा ५,६,७ का विद्यार्थीहरूलाई १ घण्टा परियत्ति कक्षा सञ्चालन गरिने, पहिलो बर्ष परियत्तिको कक्षा १ को मात्रै कक्षा सञ्चालन गर्ने र क्रमशः ३ कक्षासम्म पु¥याउने,  शिक्षाको प्रभावकारीता मूल्याङ्कन तीन सदस्यीय समितिले गर्ने लगायतका विषयमा सम्झौता भएको विद्यालयका प्रधानाध्यापक केशव के.सी.ले बताउनु भयो । अहिलेको बालबालिकामा नैतिक शिक्षाको कमी देखिएकाले विद्यालयले परियत्ति शिक्षा लागू गर्न लागेको र विद्यार्थीको हौसला बढाउन आफूहरू पनि भर्ना भएको उहाँले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला श्रेष्ठले परियत्ति शिक्षाले विद्यालयलाई समुदायसँग जोड्ने र बालबालिकाको नैतिक शिक्षाको पक्ष बलियो हुने बताउनुभयो । उहाँले परियत्ति शिक्षाको कक्षा १, २ र ३ कक्षाको पाठ्यक्रमलाई अतिरिक्त शिक्षाको रुपमा लागू गर्ने र आफूले पनि यो शिक्षा लिने बताउनुभयो ।
महाचैत्य विहार परियत्ति केन्द्रकी का.वा. केन्द्राध्यक्ष प्राध्यापक सौन्दर्यवती शाक्यले विहारले निःशुल्क रुपमा बालबालिकालाई शिक्षा दिने र विहारका ध्यान लगायतका कार्यक्रममा विद्यालयलाई पनि जोड्ने बताउनु भयो । परियत्तिमा शिक्षिका सौन्यर्दवती शाक्य, अर्चना शाक्य, विरेनद्रमान बज्राचार्य लगायतले सहजीकरण गर्नुभएको छ ।
स्मरण रहोस् महेन्द्र बोधि नामको “बोधि” अर्थात ज्ञान र यसको विद्यालयसँगको इतिहास खोजी गर्ने क्रममा परियति शिक्षा भेटिएको हो । २०३१ सालमा तानसेनमा रहेको महाबोधि विद्यालय र महेन्द्र रात्री हाइस्कुल मिलाई  महेन्द्र बोधि मावि बनाइएको थियो । महाबोधिको इतिहासलाई संरक्षण गर्न विद्यालयमा बौद्ध शिक्षा अन्र्तगत परियत्ति शिक्षा लागू गरिएको हो । नैतिक शिक्षा भएकाले यो शिक्षा जुनसुकै उमेर समूहले पनि लिन परियत्ति शिक्षा लिन सकिन्छ । लुम्बिनी प्रदेशमै पहिलो पटक विद्यालय तहमा यो शिक्षा लागू गरिएको छ । –झविन्द्र देवकोटाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here