कृष्ण जन्माष्टमीमा जाने हैन त रम्भादेवी ? जान्नैपर्ने रम्भादेवीको किंवदन्ती पनि जानी राखौं

0
199

जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको रम्भादेवी मन्दिर भक्तजन तथा दर्शनार्थीको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । कृष्ण जन्माष्टमीको दिन यहाँ बिशेष मेला लाग्ने गर्छ । यस वर्ष रम्भादेवी साँस्कृतिक महोत्सवको समेत आयोजना गरिएको छ ।

रम्भादेवीको मन्दिर गई चोखो मनले भाकल गरे रम्भादेवीले मनोकांक्षा पुरा गर्ने जनविश्वासले गर्दा दिनहुँ भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ । जिल्लाकै धार्मिक केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई साँस्कृतिक, सामुदायिक वन विकास, पर्यटन विकास तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण रहेको छ ।

जिल्ला सदरमुकाम तानसेन बजारबाट करिव ३१ किलोमिटर पूर्वमा रम्भा गाउँपालिकाको ताहुँ बजार नजिकै रम्भादेवी मन्दिर अवस्थित छ । सिद्धार्थ राजमार्गमा पर्ने आर्यभञ्ज्याङ्ग देखि करिब १४ किलोमिटरको दुरीमा यो मन्दिर रहेको छ । गाउँपालिकाको नाम समेत रम्भादेवीको नामबाट नामाकरण गरिएको छ ।

ताहुँ बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ हिंडेपछि रम्भादेवी वन क्षेत्रमा पुग्न सकिन्छ । रम्भादेवी वनको अधिकांश भाग उत्तरी ढलान फर्केको छ भने केही भाग दक्षिणी मोहडा फर्केको छ । यस वनमा ६० प्रजाति भन्दा धेरै वनस्पति तथा सयौं थरीका वन्यजन्तु रहेको जिल्ला वन कार्यालयले जनाएको छ । संरक्षित वनस्पति बेत बाँस यसै वनमा पाईन्छ । उत्तर तर्फ रहेको रमणीय माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण हिम श्रंखला देख्न सकिने रम्भादेवी वनको बिचमा रम्भादेवीको मन्दिर रहेकोछ ।

धार्मिक किम्बदन्ती अनुसार भगवान राम र सीता घुम्दै आउँदा यस क्षेत्रमा आईपुगेको र रमा(सीता) लाई पानीको प्यास लाग्दा रामले वाण हानी पानी उत्पन्न भएकोले रमापानी भनिएको र पछि अपभ्रशं भई रमापानीको सट्टा रम्भापानी भएको कथन छ ।

रम्भादेवी मन्दिर नजिकका क्षेत्र समेत धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र देखि केही दुरीमा बाकुमगढी तथा रिमिघा लेक पर्दछ । रिमीघा लेक पर्यटकीय दृष्टिले महत्वपूर्ण त छँदै छ यो लेक ऋषिमुनीहरुको पवित्र तपोभूमिको रुपमा समेत रहेको विश्वास गरिन्छ । रम्भादेवी क्षेत्रबाट नजिकै रहेको बाकुमगढीमा नेपाल एकीकरणको क्रममा युद्ध भएको थियो । यहाँ गोर्खाली फौज र पाल्पाली सेनवंशीय राजाहरु बिच लडाई चलेको थियो । मन्दिरको प्रवेश क्षेत्रमा नाचन डाँडा रहेको छ । नाचन डाँडा मगर समुदायको मारुनी नाच नाच्ने थलोको रुपमा चिनिन्छ । यहाँ हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मेला लाग्ने गर्दछ । समुद्र सतह देखि करिब ४३०० फिट उचाईंमा रहेको नाचन डाँडा सम्म सडक पु¥याइएको छ । नाचन डाँडामा रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहयोगमा रम्भादेवी मन्दिर प्रवेश द्वार निर्माण गरिएको छ । प्रवेश द्वार देखि करिब ८ सय मिटर को दुरीमा मन्दिर रहेको छ । प्रवेश द्वार देखि मन्दिर सम्मको ८ सय मिटर लम्बाई रहेको बाटो डेढ मिटर चौडाईमा ढुङ्गाले छापेर बनाईएको छ ।

रम्भादेवी मन्दिरमा सर्वप्रथम वि.सं १९५८ मा मुर्ति चढाएको अभिलेख छ । वि.सं. १९९९ मा पाल्पाका तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेर द्वारा मन्दिरमा देवीको मुकुट र गहना चढाईएको थियो । हाल यस मन्दिरमा करिब ४२ वर्ष अगाडी बनाएको मुर्तिलाई दैनिक पुजा गरिन्छ । अहिलेको मुर्ति वि.सं २०३३ साल भाद्र १ गते कृष्ण जयन्तीका दिन टक्सार निवासी मुर्तिकार रामलाल शाक्यले चढाएका हुन् ।

रम्भादेवी मन्दिर बारे विभिन्न रोचक तथ्यहरु समेत खुल्दै आएका छन् । मन्दिरको मुर्ति २ पटक चोरी भएको पुजारी टीकाराम बस्याल बताउछन् । पछिल्लो पटक वि.सं २०२८ मा मन्दिरबाट नभई घरैबाट मुर्ति चोरी भएको वहाँ बताउनु हुन्छ । बस्तीबाट टाढा जंगलको बिचमा मन्दिर रहेको र मन्दिरबाट मुर्ति चोरी भएको विभिन्न संचार माध्यममा आएपनि मुर्ति घरबाट चोरी भएको हो । यहाँका पुजारीले मन्दिरको मुर्ति जोगाउन दिनहुँ घरैबाट डोकोमा बोकेर ल्याउने लैजाने गर्छन ।

घरबाट दैनिक डेढ घण्टा हिंडेर डोकोमा मुर्ति तथा शिला ल्याई मन्दिरमा राख्ने र बेलुकीपख घर लैजाने गरिएको छ
मन्दिरमा हाँस, बोका, राँगा, कुभिण्डो, भेडा, परेवाको बलि दिईन्छ । रम्भा गाउँपालिकाको झोकेदी र पिपलडाँडाका करिब २५० घरकुरियाका भक्तजनले हरेका वर्ष १ पाथी धान उठाई पुजारीलाई दिने गर्छन् ।

यस मन्दिरमा चोखोमनले चिताएको कुरा रम्भादेवीले पु¥याउने हुँदा पञ्चबली पुजा गर्नेहरुको निकै भिड लाग्ने गर्दछ । मगर समुदायबाट धेरै मात्रामा पञ्चबली चढाउने गर्दछन् । आजकल मन्दिरमा विवाह तथा व्रतबन्ध समेत गर्नेहरु आउन थालेका छन् । पुजा गर्न स्याङ्गजा, नवलपरासी, गुल्मी, रुपन्देही, कास्की, काठमाण्डौ लगायतका स्थानबाट समेत आउने गर्दछन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here