Site icon PALPA SAMACHAR

अभियान प्रभावकारी नहुँदा जिल्लाभर डेंगी फैलियो

पाल्पा ।  डेंगी नियन्त्रणको अभियान प्रभावकारी रुपमा संचालन हुन नसक्दा जिल्लाभर फैलिएको छ । जिल्लामा डेंगी संक्रमण तीव्र रुपमा फैलिएपनि नियन्त्रणका लागि उचित कार्यक्रम हुन नसकेको सरोकारवालाहरुको भनाई छ ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू, स्थानीय तह, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायले डेंगी नियन्त्रणका लागि उचित अभियान संचालन गर्न नसकेको स्थानीयको भनाई छ ।
पाल्पामा यो वर्ष हालसम्म १ सय ४७ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । एक महिनाअघि ५० जनामा मात्र डेंगी सङ्क्रमण भएकोमा अहिले बढेर १ सय ५० बढी पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले बताउनुभयो । उहाँले भदौ लागेसँगै दैनिक ३/४ जनामा डेंगी पुष्टि भएको उहाँले बताउनुभयो ।
डेंगी सङ्क्रमित हुनेमा पाल्पाका मात्र ९४ जना रहेका छन् । बाँकी अन्य जिल्लाका व्यक्ति विभिन्न अस्पतालमा उपचाररत रहेको उहाँले बताउनुभयो । पाल्पा लुम्विनी प्रदेशभरिका १२ जिल्लामध्ये सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा रहेको उहाँले बताउनुभयो ।
डेंगी एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगीको सङ्क्रमण भएमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
Exit mobile version