Site icon PALPA SAMACHAR

रम्भामा विद्यार्थीलाई तरकारीको बीउ

गोविन्द भट्टराई
रम्भा गाउँपालिकाले आधारभूत तहदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई तरकारीको बीउ वितरण गरेको छ । १६ वटा विद्यालयका कक्षा ८ देखि १२ सम्म पढ्दै गरेका १४५५ जना विद्यार्थीलाई पोषिलो जातका ८ प्रकारका तरकारीको बीउ उपलब्ध गराइएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
भदौ ३१ गते पालिका परिसरमा आयोजित समारोहमा प्रतिनिधिमूलक रुपमा विद्यार्थी र अन्यलाई विद्यालयका शिक्षकहरू मार्फत् तरकारीका बीउ वितरण शुभारम्भ गर्दै अध्यक्ष भण्डारीले भन्नुभयो–“विद्यार्थीहरूमा श्रमप्रति सम्मान जगाउन साथै करेसाबारीमा तरकारी उत्पादन गरेर ताजा तरकारी खाने बानीको बिकास गर्ने उद्देश्यले रम्भा गाउँपालिकाले केही वर्षयता निरन्तररुपमा विद्यार्थीसँग करेसाबारी कार्यक्रम सञ्चालन गरेको हो ।” भण्डारीले ताजा र अर्गानिक तरकारी उपभोग गर्नसके विभिन्न रोगबाट बँच्नका लागि शरीरलाई पोषिलो तत्व प्राप्त हुने कुरा विद्यार्थीलाई सिकाउँदै किसानको कर्म सम्मानयोग्य बनाउन समेत यो कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
पालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले चुकन्दर,गाजर, मुला,पालुङ्गो, सिमी, रायो साग, धनियाँ र तने बोडी जस्ता पोषिला तरकारीको बीउ विद्यार्थीलाई वितरण गरी उनीहरूमा स्वास्थ्यका लागि आफै उत्पादन गर्नुपर्छ भन्ने भावनाको विकास गर्न कार्यक्रम सहयोगी बनेको धारणा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले किशोर किशोरीलाई खेती गर्न उत्प्रेरित गर्नका लागि रम्भा गाउँपालिकाले सुरु गरेको विद्यार्थीसँग करेसाबारी कार्यक्रम निकै उपयोगी रहेको बताउनुभयो ।
अर्यालले आफूहरूले बीउ दिएपछि विभिन्न विद्यार्थीका करेसाबारी अवलोकन गरेको र उत्पादन हुने गरेको जानकारी गराउनुभयो । शिक्षा शाखा प्रमुख मिना आचार्यले राम्रो काम गर्ने विद्यार्थीलाई काम अनुसार अभ्यासको नम्बर दिने गरेको बताउनुभयो । उक्त अवसरमा कृषि अधिकृत प्रभाज्योति गौँडेलले कार्यक्रममा उपस्थित शिक्षक र विद्यार्थीहरूलाई तरकारी खेती गर्ने तरिकाबारे जानकारी गराउँनुभयो ।
Exit mobile version