Site icon PALPA SAMACHAR

बगनासकालीमा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा

जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक भत्ता वितरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना योग्य लाभग्राही सूचिकृत भइसकेका छन् । उनीहरूका लागि ३ करोड १४ लाख ८ हजार ९१ रुपैंया निकासा गर्न सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले पालिकाभित्रको सवै वडामा पुगी तयारी पूरा गरेको छ । सामाजिक सुरक्षा शाखा र आर्थिक प्रशासनशाखाको तयारी पूरा भएपछि कोष तथा लेखा लेखा नियन्त्रण कार्यालयबाट सिधै लाभग्राहीको बैंक खातामा रकम जम्मा हुनेछ । दशैं अगाडि नै कार्यालयले आवश्यक प्रक्रिया सम्पन्न हुने गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईका अनुसार बगनासकालीमा ६८ वर्ष माथिका जेष्ठ नागरिक सख्या १ हजार ९ सय ५७ जना, दलित जेष्ठ नागरिक १ सय ४० जना, एकल महिला जेष्ठ नागरिक २ सय ७२ जना, विधवा (आर्थिक सहायता) ४ सय ३५, पूर्ण अपाङ्ग ४७ जना जना, अपाङ्गता ख वर्ग आर्थिक सहायता १ सय ४ जना र दलित बालपोषण १ सय ९२ जना सामाजिक सुरक्षा भत्ताका लागि सूचिकृत भएका छन् । विगतमा भत्ता लिनका लागि वडास्तरमा वितरण गर्ने गरी पालिकाले तयारी थालेको जनाएको छ । नेपाल बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकमा ३ हजार १ सय ७२ लाभग्राही कायम भएकोमा चालु आर्थिक वर्षमा प्रक्रिया अनुसार लगतकट्टा र थपसहित ३ हजार १ सय ४७ लाभग्राही कायम भएका हुन् । आर्थिक वर्ष २०८१/८२ मा ३०८२ जना लाभग्राहीले नविकरण गरेको र ६६ जना नयाँ लाभग्राही थप भएको फिल्ड सहायक प्रेम बहादुर बगालेले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभरीमा २५ जना लाभग्राही देश बाहिर र सम्पर्कमा नआएकोले नविकरण छुट भएका छन् ।
योसँगै बगनासकाली गाउँपालिकाले ग र घ वर्गका लाभग्राहीको लागि वितरण गरिने निर्वाह भत्ताको नविकरण विवरण संकलन समेत सकिएको जानकारी दिएको छ । गाउँपालिकाभित्रका ग वर्गका पहेंलो कार्डका लागि मासिक ५ सय र घ वर्ग सेतो कार्ड हुने अपागंता भएका लागि मासिक ३ सय निर्वाह भत्ता विरण गर्दै आएको छ । ग र घ वर्गका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले अर्धवार्षिक रूपमा लाभग्राहीको खातामा जम्मा गर्ने जानकारी दिएको छ ।

Exit mobile version