Site icon PALPA SAMACHAR

शैक्षिक गुणस्तर सुधारको लागि बगनासकालीमा शैक्षिक अन्तरक्रिया सम्पन्न

विष्णुप्रसाद घिमिरे । पाल्पा
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बगनासकालीमा सरोकारवालाहरुको अन्र्तक्रिया भएको छ । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा गाउँपालिका भित्रका विद्यालयहरु, गाउँपालिकाका जनप्रतिनिधिहरु, शिक्षा शाखा र सरोकारवालाहरु संगको अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै कालिका क्याम्पस बुटवलका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रयास प्रधानाध्यापकबाट सुरु गर्नुपर्ने बताउनुभयो । कालिका मानवज्ञान मा.वि.को प्रधानाध्यापक हुँदाको स्मरण गर्दै, राम्रो नतिजा दिन नसक्दा कारवाही भोगेको विद्यालयले शिक्षकहरुको मेहनतका कारण देशमै उत्कृष्ठ नतिजा दिएको अनुभव सुनाउनुभयो ।

पाठकले विद्यालय हाम्रो सम्पत्ति हो भन्ने अभिभावकलाई अपनत्व नहुञ्जेल शैक्षिक गुणस्तर सुधार नहुने भन्दै अभिभावकलाई अपनत्व गराउन शिक्षकले वालवालिकाको शैक्षिक गुणस्तरको ग्यारेन्टी लिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले शैक्षिक सुधारको सुरुवात भएको उल्लेख गर्दै, शिक्षक कर्मचारीहरुलाई अभिभावकको मन जित्न अनुरोध गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले शिक्षामा राज्यको लगानी बढिरहेको स्मरण गर्दै, लगानी अनुसारको प्रतिफलका लागि मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, शिक्षा शाखा प्रमुख गुणाराम खनाल, बगनासकाली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगायतले बगनासकाली भित्रका विद्यालयहरुको अवस्था, शैक्षिक गुणस्तर बृद्धीका लागि भएका पहलहरु, अभिभावक र विद्यार्थी केन्द्रित शैक्षिक योजना निर्माण लगायतका विषयहरुमा छलफल गर्नुभएको थियो ।

बगनासकाली सहकारी, २०७६ सालमा ३ वटा सहकारीहरु एकिकरण पछी बनेको सहकारी हो । वडा नं. ८ बराङ्गदीमा कार्यालय रहेको सहकारीले बचत र ऋणको कारोवारको साथै कृषि तथा पशुपालन, डेरी व्यवस्थापन जस्ता कार्यहरु गर्दै आएको छ । साथै कोभिड जस्ता महामारीहरुमा पनि उलेख्य कार्यहरु गर्दै आएको छ । पछिल्लो समय बगनासकाली गाउँपालिकाको शैक्षिक अवस्था खस्किदै गएको, विद्यालयहरुमा विद्यार्थी संख्या न्यून र सदरमुकाम केन्द्रित हुदै गएको सन्र्दभमा शैक्षिक अन्र्तक्रियाको अभियान गरेको हो ।

Exit mobile version