Site icon PALPA SAMACHAR

पाल्पामा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

पाल्पामा बालबिवाह न्यूनीकरण कार्य चुनौतीपूर्ण देखिएको छ ।  जिल्लाको दुर्गम गाउँपालिका निस्दीमा आर्थिक वर्ष २०८०/०८१ मा ५३ जोडी बालबालिकाले बिवाह गरेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनुभयो ।  यद्यपी निस्दीमा सचेतना कार्यक्रमको प्रभाव स्वरुप अघिल्लो वर्षको तुलनामा बाल विवाह केही हदसम्म न्यूनीकरण भएको पालिकाले जनाएको छ ।
नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई बालविवाह  र विवाहयोग्य उमेर २० वर्षपछि तोकेको छ । तर बालबालिकाहरुले भने सानै उमेरमा बिवाह गर्ने गरेका छन् । निस्दीलाई २०८३ मा बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्ने तयारी गरिएपनि बालविवाह चुतौतीको रुपमा रहेको छ । ५१ वटा सूचकमध्ये शून्य बालविवाह पनि पर्दछ । यसका लागि गाउँपालिकाले बालविवाह अन्त्यका लागि अहिलेसम्म बालविवाह सामुहिक रुपमा बहिस्कार गर्ने निर्णयदेखि बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका विषयमा आधारभूत तथा मावि तहको वक्तृत्वकला प्रतियोगिता, अन्तर महिला समूह स्तरीय तीज गीत प्रतियोगिता, सडक नाटक प्रदर्शन, आधारभूत र माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरुसँग बालविवाह नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर संकलन, २५ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनुभयो ।
१३ प्रतिशत किशोरी आमा 
स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार गर्भवती महिलामध्ये करिव १३ प्रतिशत गर्भवती २० वर्ष भन्दा कमका छन् । तीन आर्थिक वर्षमा कुल १३ हजार ९ सय ९८ गर्भवती महिला मध्ये १ हजार ७ सय ८१ जना २० बर्ष मुनिका अर्थात्  १२ दशमलव ७२ प्रतिशत गर्भवती बालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानीय स्तरमा बालविवाह भइरहेपनि उजुरी प्रहरीसम्म भने आउँदैन । यो ३ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय पाल्पामा २ वटा मात्रै बालविवाहका उजुरी परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपि सुगन्ध श्रेष्ठले बताउनुभयो । सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ सरकारले ल्याएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ लागू भएको  छ । केन्द्रदेखि स्थानीय तहसम्म बालमैत्री शासनको अवधारणा अघि सारिएको छ ।
Exit mobile version