Site icon PALPA SAMACHAR

बगनासकालीमा वडाबाटै भत्ता बितरणसँगै स्वास्थ्य परीक्षण पनि

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य सेवा सहितको वडास्तरीय घुम्ति शिविर सोमबारबाट शुरु भएको छ ।

माघ १५ गतेसम्म चल्ने शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण, परामर्श, स्वास्थ्य चेकजाँच एवम् औषधि वितरण सहितको सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चाडवाडलाई मध्यनजर गरी चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता पौष तेस्रो साता नै लाभग्राहीको खातामा रकम जम्मा गरिदिएको थियो । बैंकसम्म पुग्न नसक्ने, असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीलाई घरदैलोमै सहज सेवा प्रवाह गर्ने उद्देश्यका साथ नियमित सामाजिक सुरक्षा भत्ताहितको शिविर समेत सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्तातर्फ दोस्रो त्रैमासिक अन्तर्गत कार्तिक, मंसिर र पुष महिनाको लागि ६८ वर्ष माथिका १ हजार ९ सय ८३ लाभग्राहीका लागि २ करोड ३४ लाख ४४ हजार ७ सय ७१ रुपैंया, दलित जेष्ठ नागरिकतर्फ १४३ लाभग्राहीका लागि ११ लाख २७ हजार ८ सय ४० रुपैंया, जेष्ठ एकल महिलातर्फ २ सय ७१ जना लाभग्राहीका लागि २१ लाख ५९ हजार ९२० रुपैंया निकासा माग गरी लाभग्राहीको खातामा जम्मा भएको छ ।

यस्तैगरी विधवा आर्थिक सहायतातर्फ ४ सय ४१ लाभग्राहीको लागि ३५ लाख २२ हजार ४५ रुपैंया, क वर्गका ५२ लाभग्राहीका लागि ५ लाख ९९ हजार ३२ रुपैंया, १०८ ख वर्ग आर्थिक सहायताको लािग ६ लाख ७४ हजार ५ सय ७६ र १९३ दलित बालबालिकाको लागि २ लाख ९७ हजार ५ रुपैंया निकासा भएको छ । गाउँपालिकामा दोस्रो त्रैमासिकमा ३ हजार १ सय ९१ लाभग्राहीले ३ करोड १८ लाख ७ हजार ३ सय ८९ रुपैंया निकासा भएको पालिका स्रोतले जनाएको छ ।

सोमबार वडा नं. ६ गुँगा माविमा जम्मा १०८ लाभग्राहीले वडा तहमा पुगेको बैंकमार्फत १२ लाख ३१ हजार सामाजिक सुरक्षा भत्ता बुझेका छन् । सोही दिनको शिविरमा ९१ जना लाभग्राहीले स्वास्थ्य सेवा, चेकजाँच र औषधीसहितको सेवा पाएका छन् । नेपाल बैंकको समन्वयमा गाउँपालिकाले वडास्तरमा स्वास्थ्य सेवासहितको शिविर सञ्चालन गर्दै आएको हो ।

Exit mobile version