Site icon PALPA SAMACHAR

पाल्पाको अदुवा र सिमी युरोप पठाउने तयारी

धनबहादुर ठाडा । पाल्पा

पाल्पामा उत्पादित अदुवा र सिमी युरोप पठाउने तयारी गरिएको छ । निस्दी गाउँपालिका–५, गल्धामा उत्पादन भएको सिमी र अदुवा युरोपमा निर्यात हुने भएको छ । विगत चार वर्षदेखि अदुवा निर्यात गर्दै आएको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्षदेखि सिमीसमेत निर्यात गर्ने तयारी गरेको हो ।

हेफर इन्टरनेशनल प्रालि र ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा अकिस्टा नेपाल प्रालि मार्फत सिमी र अदुवा प्रमाणित गरेर जर्मनी पठाउने तयारी भइरहेको सहकारीका अध्यक्ष अममाया मश्राङ्गीले बताउनुभएको छ । सहकारीले सिमी २० टन, सुकेको अदुवा १० टन र काँचो अदुवा २० टन पठाउने अध्यक्ष मश्राङ्गीले बताउनुभयो ।

विदेशबाट आएको माग पूरा गर्नका लागि सहकारीका शेयर सदस्यहरुले उत्पादन गरेको सिमी र अदुवा खरिद गरेको व्यवस्थापक दिल माया सारुले बताउनुभएको छ । अहिले सिमी र अदुवाको ग्रेडिङ गर्ने काम भइरहेको छ, अबको २ महिना पछि ग्रेडिङको काम सकाएर जर्मनी पठाउने सारुले बताउनुभयो । ग्रेडिङको लागि सहकारीका २८ जना शेयर सदस्य महिलाहरुलाई दैनिक ज्यालादारीमा परिचालन गरेको छ ।

यसरी आफुहरुले उत्पादन गरेको सिमी र आदुवा सहकारीले खरिद गरेपछि यहाँका कृषकहरू उत्साहित भएका छन । स्मरण रहोस यस सहकारी संस्थाले दशैं तिहारको अवसरमा १ करोड ४५ लाख बराबरको खसी बोका बिक्री गरेका थिए ।

Exit mobile version