पाल्पा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकलाई निकाश दिन माओवादी केन्द्र नेतृत्वको सरकार नै आवश्यक रहेको बताउनुभएको छ । प्रेस सेन्टरले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकार भ्रष्टचारीहरुको संरक्षणमा र भ्रष्टाचारीकै जगमा निर्माण भएको आरोप समेत लगाउनुभयो ।
उहाँले आफू गृहमन्त्री हुँदा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागिपरेको र बिभिन्न काण्डमा मुछिएका ब्यक्तिहरु कतिपयलाई कानुनी दायरमा ल्याएको कतिपयको अनुसन्धान चलिरहेका बेला सरकारबाट बाहिरिनुपरेको बताउनुभयो ।
उहाँले आफु गृहमन्त्री रहँदा जो जो जे जे घटनामा संलग्न छन् उनीहरुलाई तथ्यको आधारमा जुनसुकै पद तथा ओहोदामा बसेका, जति सुकै धनी, जुनसुकै पार्टीका व्यक्तिहरुमा पनि प्रहरीलाई अनुसन्धान तथा पक्राउ गर्न स्प्रष्ट अधिकार, निर्देशन तथा अख्तियारी दिइएको बताउनुभयो ।
उहाँले जनता र राष्ट्रहित विपरित अध्यादेशमा कतिपय कुराहरु भएकाले माओवादी लगायत प्रतिपक्षदलहरुको सहकार्यमा अध्यादेश संसदबाट पारित हुन नदिने समेत बताउनुभयो । उहाँले माओवादी पार्टीमा रुपान्तरणको आवश्यकता भएकाले जनताले नेताहरुलाई सच्चिन दवाव दिइरहेको अवस्थामा विधि पद्धती, जनताको चाहाना र भावना अनुसार पार्टीलाई क्रान्तिकारी बनाउन आफुहरु जनताको माझमा आएको बताउनुभयो ।
प्रेस सेन्टरका केन्द्रीय सदस्य जीवलाल सुवेदीको स्वागत शाखा अध्यक्ष कृष्ण दर्नालको अध्यक्षता र सचिव कमल अधिकारीको सञ्चालनमा कार्यक्रम चलेको थियो ।