पाल्पा । बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिलाई एकदिने अभिमुखीकरण गोष्ठी विहिबार गाउँपालिका सभाहलमा सम्पन्न भएको छ । समृद्धिका लागि वन परियोजना अन्तर्गत बगनासकाली गाउँपालिकाको आयोजना र डिभिजन वन कार्यालय पाल्पाको सहजीकरणमा वन वातावरण तथा वन उद्यम सम्बन्धी नीतिनियमहरूबारे जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको हो ।
डिभिजन वन कार्यालय, सव डिभिजन वन काराइलर र स्नानीय तहसँगको अन्तरक्रियात्मक कार्यक्रमका लागि डिभिजन वन कार्यालय पाल्पाका सिनियर डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले सहजीकरण गर्नुभयो । उहाँले वन सम्बन्धी नीतिनियम, वन डढेलो रोकथाम तथा नियन्त्रणको सवालमा ध्यान दिनुपर्ने कुराहरू, स्थानीय तहमा डढेलो जोखिम नियन्त्रणको अवस्था लगायतमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले घरायसी प्रयोजनको लागि साल, खयर लगायतको काठ प्रयोग गर्न कुनै समस्या नहुने, सालको काठ बेचविखनको लागि निजी वन दर्ता गरी प्रयोजन गर्न सकिने, वन्यजन्तुले कृषि वाली लगायतमा हानी गरेमा राहत निर्देशिकाले व्यवस्था गरेबमोजिमको राहत उपलब्ध हुने लगायतका विषयमा समेत जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले डिभिजन वन कार्यालयले सहजीकरण गरेको कार्यक्रमबाट वन वातावरण तथा वन उद्यम सम्बन्धी धेरै कुरा बुझ्ने अवसर प्राप्त भएको भन्दै यसबाट बगनासकालीमा हुने वनसम्बन्धी समस्या समाधानमा सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिलाई दिइने ज्ञान सिपले समुदायका अन्य संघ, संस्थामा समेत सचेतना विस्तार गरी वन डढेलो नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले वन डढेलो, आगलागी नियन्त्रण लगायतमा सरोकारवाला सवै सचेत हुनुपर्नेमा जोड दिनुभयो । मानवीय कारणबाट धेरै जसो आगलागीजन्य विपद्का घट्ना घट्ने भन्दै उहाँले अभिमुखीकरणबाट प्राप्त ज्ञान समुदायस्तरमा पु¥याई डढेलो आगलागी जन्य घट्ना न्यूनीकरण गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता र समृद्धिका लागि वन परियोजना कार्यक्रम सहजकर्ता नारायण तिमिल्सिनाको सञ्चालनमा भएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरू, विषयगत शाखाका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको गाउँपालिकाका एम।आई।एस। अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।