पाल्पा । शिक्षक आन्दोलनका कारण बन्द रहेको माथागढी गाउँपालिका–१ चिदीपानी स्थित ज्ञानोदय माध्यमिक बिद्यालय अभिभावकहरुको आन्दोलन र दवावपछि मंगलवारबाट खुलेको छ ।
मंगलवार अभिभावकहरुले बिद्यालय परिसरमा नाराबाजी गरेका थिए । बिद्यालय बन्द हुँदा आफ्ना बालबालिकाहरु शैक्षिक अधिकारबाट बञ्चित भएको भन्दै अभिभावकहरुले बिद्यालय संचालन गर्न दवाव दिएका थिए ।
मंगलवारबाट बिद्यालयमा पठनपाठन सुरु भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा न. १ का वडाअध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । उहाँले आफूहरु शिक्षक बिरोधी नभएको र विद्यार्र्थीको भविष्यका पक्षपाती रहेको बताउनुभयो ।
“शिक्षकहरूका माग मुद्दामा हाम्रो निशर्त समर्थन छ । उत्साहित गुरुहरुले गरेको शिक्षणले सकारात्मक उपलब्धि दिन्छ भन्नेमा हामी एकमत छौं तर आन्दोलनको तरिका मिल्यो ? प्रश्नचिह्न छ । कुनै विद्यालयका १÷२ जना शिक्षक आन्दोलनमा सहभागी हुने अरु शिक्षक कता हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? अभिभावक निरास छन् । शिक्षक न आन्दोलनमा छन्, न स्कुलमा छन् । यस्तो अवस्थामा महासंघले बिकल्प खोज्नुपर्दैन ? नयाँ बाटो अपनाउनु पर्दैन ? म प्रष्ट छु कि सबै तपाईहरुले भनेका ४ लाख शिक्षक आन्दोलनको मोर्चामा उतार्नुस कि प्रतिनिधिमुलक आन्दोलन गर्नुस् स्कुल खोल्नुस् । सामाजिक सन्जालमा कसैलाई गाली गरेर माग पुरा हुँदैन । हामी राजनैतिक आन्दोलनबाट आएका हौं । हजुरहरुको सहयोग स्मरणीय छ तर यस्को अर्थ सर्वसाधारणका छोराछोरी अलपत्र पारेर घुम्न हिड्न पाईंदैन । हामी स्कुल खोल्छौं । स्कुल खोल्न पर्छ । अन्ततःआन्दोलन सफल होस् ।” उहाँले भन्नुभयो ।