Site icon PALPA SAMACHAR

७९ वर्षीय नागरिक प्रहरी टोपराजको गुनासो, बिरामी पर्दा उपचार खर्च हुँदैन

पाल्पा । सिरदेखि पाउँसम्म कुनै बैंकको सुरक्षागार्डको जस्तो पोशाक । हातमा एउटा लट्ठी छ । कम्मरसम्म झुण्डिएको सिठ्ठी र पुरानिएर च्यातिनै लागेका जुत्ता । उहाँलाई झट्ट हेर्नेहरुले सुरक्षाकर्मी नै होला भन्ने अड्कल काट्छन् । उक्त ब्यक्ति सुरक्षाकर्मी पनि हैन तर सेवा बर्दी लगाएको प्रहरीको भन्दा कम छैन । उहाँलाई सबैले कलकत्ते दाई नामले चिन्छन्  र काम नागरिक प्रहरीको ।
४९ वर्षदेखि तानसेन बसपार्कमा रहेर निरन्तर नागरिक प्रहरीको भूमिका निर्वाह गर्नुभएका टोपप्रसाद श्रेष्ठ (कलकत्ते दाई) लाई नचिन्ने कमै होलान् । शरीर बुढ्यौलीतर्फ ढल्किएपनि उहाँको सक्रियता भने उस्तै छ । २००२ सालमा स्यांगजा जिल्लाको तत्कालीन सिरुखर्क गाविसमा जन्मनुभएका कलकत्ते दाई २०३२ सालतिर कामको खोजीमा पाल्पा आएका बेला देखि नै पाल्पा बसपार्कको सवारी ब्यवस्थापन कार्यमा लाग्नुभएको हो । सवारी चालक र यात्रुहरुका बीच कलकत्ते दाईले परिचित उहाले बुढ्यौलीमा पनि यसरी देखाएको सक्रियता देखेर सबैले आदर गर्छन् ।
टाढाबाट आएका यात्रुलाई गन्तब्यमा पु¥याउन सहयोग गर्ने, चालक तथा सहयोगीलाई सवारीको साधनको अवस्था जाचबुझ गरेर मात्रै गन्तब्यमा लाग्न सुझाव दिने, मादक पदार्थ सेवन नगर्न अनुरोध गर्ने, सवारी पार्किङ्गका लागि उपयुक्त स्थान देखाइने उहाँको दैनिकी हो । यसरी काम गरेबापत उहाँले कत्तिपनि तलब पाउनुहुन्न । सवारी चालकहरुले आदर दिएको ५÷१० रुपियाँले उहाँको गुजारा चल्दै आएको छ ।
“सानै छँदा आमाको मृत्यु भएपछि बा ले अर्को बिहे गरे म सानो छँदा पनि पढेर समाजसेवी बन्ने रहर थिए तर पढ्न पाइन त्यसैले अहिले सडकमा बसेर यात्रु सेवा गर्दैछु ।” उहाँले भन्नुभयो । यो मैले लगाएको सबै कपडा जडौरीमा आएको हो । सबैले मलाई माया गर्छन् । उहाँको भनाई छ । “यो लट्ठी त देखाउनको लागि मात्रै हो कहिल्यै यसको प्रयोग गर्नुपरेको छैन कतिपय लफंगा केटाहरु पनि मलाई देखेपछि आफै डराएर भाग्छन् ।” उहाँले आफ्नो अनुभव सुनाउनुभयो । उहाँले बृद्धभत्ता बापत मासिक रु ४ हजार पाउने गरेको भएपनि उक्त पैसा बिहान साँझ खाना नास्ता खाँदा ठिक्क हुने बताउनुभयो । “बिरामी परियो भने उपचार खर्च हुँदैन ।” उहाँले भन्नुभयो ।
श्रेष्ठको परिवारमा अरु कोही छैन उहाँ एक्लै हो । बिहान भाले बास्न नभ्याउँदै देखि उहाँको ड्युटी सुरु हुन्छ र साँझ आँखाले मेसो पाउञ्जेलसम्म सडकमै खटिनुहुन्छ । सामान्य जागिरेको भए यो बीचमा धेरै बिदाहरु पर्ने थिए होला तर उहाँले काम सुरु गरेदेखि अहिलेसम्म एक दिन पनि बिदा लिएर कहिकतै जानुभएको छैन । श्रेष्ठ प्रति प्रश्न गर्नुहुन्छ — “मेरो घर नै सडक हो यहाँ हिड्ने यात्रुहरु मेरा आफन्त हुन् अव तपाई आफै भन्नुस् मैले बिदा लिएर कसलाई भेट्न जानु ?”
आम जनताका बीचमा लोकप्रिय र बिश्वासका पात्रका रुपमा परिचित उहाँलाई बसपार्क छेवैमा रहेको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुले समेत सम्मान गर्छन् ।
Exit mobile version