पाल्पा । १ सय १३ वर्षअघि अर्थात् वि.स. १९६९ मा स्थापित पाल्पा अस्पतालमा आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा सेवाप्रवाहमा समस्या भएको छ ।
तत्कालीन अवस्थामा हैजा नियन्त्रणका लागि पृथ्वीचन्द्र अस्पतालको नामबाट स्थापित यो अस्पताल २०४२ सालमा पाल्पा अस्पतालको नामाकराण् गरिएको थियो भने सोही समयमा नै दरबन्दी समेत कायम भएको थियो ।
अस्पताल आर्थिक वर्ष २०७७/०७८ बाट ५० शैयाको अस्पतालको रुपमा रहेको छ तर आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । अस्पतालमा दैनिक बिरामीको संख्या बढ्दै गएपनि सीमित जनशक्तिले साँघुरो पुर्वाधारबाट सेवा दिन कठिन हुँदै गएको उहाँले बताउनुभयो ।
यो अस्पतालमा स्वासथ्य बीमा कार्यक्रम समेत लागू भएको छ । स्वास्थ्य बीमा गरेका बिरामीहरुले बीमा सुविधा पाउने भएपछि यहाँ बिरामीको संख्या थप बढेको छ । हाल दैनिक ५ सय जनासम्म बिरामीले सेवा लिदै आएको अध्यक्ष आत्रेयले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वर्षौँ पुरानो भवन साथै साँघुरो कोठा, विशेषज्ञ चिकित्सकको अभाव, कर्मचारी आवासको समस्या, शल्यक्रिया कक्षसहितको अन्य विशिष्टीकृत सेवाको अभाव रहेको बताउनुभयो ।
अस्पतालमा हाल ११ औँ तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर विशेषज्ञ चिकित्सक दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन । ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । तर अधिकांश मेडिकल अधिकृत छात्रवृत्ति करारका छन् । ६४ जना स्वीकृत दरबन्दी रहेको छ ।अहिले स्थायी पदपूर्ति २७ जना रहेको छ । दरबन्दी, करार, कार्यक्रम, छात्रवृत्ति तथा समिति करार गरी ८४ जना कर्मचारी कार्यरत रहेको देवकोटाले बताउनुभयो । अस्पतालले अघिल्लो आर्थिक वर्षमा ९८ हजार ७ सय २७ जना र चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५३ हजार ८ सय ५० बिरामीले सेवा लिएको उहाँले बताउनुभयो ।