Site icon PALPA SAMACHAR

बालमैत्री घोषणा गर्न निस्दीमा अभियान जारी

पाल्पा । निस्दी गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तरगत बिभिन्न अभियान चलाएको छ । निस्दीमा बालमैत्री कार्यक्रम २०७९ भदौ २९ गते एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको थियो ।

निस्दीलाई २०८३ चैत मसान्तसम्म बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी तयारी अगाडि बढाइएको बालकल्याण अधिकारी कुश्माखर पाण्डेले बताउनुभयो । बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन पूर्व गाउँपालिकाका सबै घरधुरीमा बेसलाइन सर्भे गरी बालबालिकाको अवस्था र बालमैत्री अवस्थाको बिषयमा अध्ययन गरिएको थियो ।

बालमैत्री घोषणाका लागि ५१ वटा सूचकलाई आधार मानी कार्यक्रमहरु संचलन गरिएको छ । प्रारम्भिक चरणमा गाउँपालिका स्तरमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा बालमैत्री स्थानीय शासन कार्यक्रम मूल समिति, प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सहजीकरण तथा कार्यान्वयन समिति गठन गरिएको थियो । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बालमैत्री समिति बनाइएको छ । त्यस्तै वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको थियो । यी समितिहरुले सक्रियताका साथ काम गरिरहेका छन् ।

बिद्यालय र समुदाय स्तरमा समेत बालबालिका सम्बन्धी कार्यक्रम संचालनका लागि बाल क्लवहरु बनाएर सक्रिय बनाइएको छ । बिद्यालय र समुदाय स्तरमा गरी १ सय २१ वटा बाल क्लव सक्रिय रहेको पाण्डेले बताउनुभयो ।

गाउँपालिकाका सबै वडाहरुमा बालमैत्री कार्यक्रम संचालनका लागि बालकल्याण अधिकारीको नेतृत्व रहने गरी ७ जना सहजकर्ता परिचालन गरिएको छ ।

बालबालिकामैत्री कार्यक्रममा जोडः

बालमैत्री कार्यक्रम अन्तरगत बालबालिकाहरुको प्रत्यक्ष संलग्नता रहने कार्यक्रममा जोड दिइएइको छ । यो वर्ष सबै वडाहरुमा मिनि बाल मेलाको आयोजना हुँदैछ । सहलकोटमा कार्यक्रम सकिएको र अन्य वडाहरुमा बाकी रहेको बालकल्याण अधिकारी पाण्डेले बताउनुभयो । त्यस्तै सडक नाटकलाई समेत जोड दिइएको छ । हाजिरी जवाफ, वक्तृत्वकला लगायतका प्रतियोगिता समेत नियमित संचालन हुँदै आएका छन् । पालिका भित्रका सबै माध्यमिक र आधारभुत बिद्यालयमा बिद्यार्थीहरुले मासिक रुपमा भित्तेपत्रिका निकाल्दै आएका छन् ।

चुनौती बालविवाहकै
निस्दी आफैमा पनि बालबिवाह बढी हुने पालिकाको रुपमा परिचित छ । यद्यपी यहाँ बालमैत्री स्थानीय शासन कार्यक्रम सुरु भएपछि बाल बिवाह गर्ने क्रम निकै घटेको छ । विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा यहाँ विसं २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए । २०८१ सालको साउनदेखि हालसम्म ८ जोडी बालबिवाह गरेको बालकल्याण अधिकारी पाण्डेले बताउनुभयो । यी ८ जोडीलाई पनि बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा कागज बनाई छुटाइएको उहाँले बताउनुभयो ।

नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई बालविवाह र विवाहयोग्य उमेर २० वर्षपछि तोकेको छ । तर बालबालिकाहरुले भने सानै उमेरमा बिवाह गर्ने गरेका छन् । निस्दीलाई २०८३ मा बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्ने तयारी गरिएपनि बालविवाह चुतौतीको रुपमा रहेको छ । ५१ वटा सूचकमध्ये शून्य बालविवाह पनि पर्दछ ।

यसका लागि गाउँपालिकाले बालविवाह अन्त्यका लागि अहिलेसम्म बालविवाह सामुहिक रुपमा बहिस्कार गर्ने निर्णयदेखि बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका विषयमा आधारभूत तथा मावि तहको वक्तृत्वकला प्रतियोगिता, अन्तर महिला समूह स्तरीय तीज गीत प्रतियोगिता, सडक नाटक प्रदर्शन, आधारभूत र माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरुसँग बालविवाह नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर संकलन, २५ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनुभयो ।

कोही बालबालिकाले आफैमा मिलेर बालबिवाह गरेमा उनीहरुलाई उमेर पुगेपछि बिहे गर्ने गरी छुटाउने अभिभावकहरुलाई वडा कार्यालयले उचित सम्मान समेत गर्दै आएको छ । बालविवाह न्युनीकरणका लागि बिद्यार्थी, अभिभावक, सरोकारवाला सबैलाई हस्ताक्षर गराइएको र उपभोक्ता समिति लगायतको तालिममा समेत बाल बिवाह न्युनीकरणको प्रतिबद्धता गराउने गरिएको पाण्डेले बताउनुभयो ।

बालविवाह गर्दा पढाइ बीचमा छोडनुपर्ने, यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर पर्ने, बाहुविवाह र सम्बन्ध विच्छेदका घटनाहरु घट्ने, लैंगिक र यौन हिंसा बढ्नुका साथै बालबालिकाको समग्र विकासमा बाधा पुग्ने भएकोले बालबालिका र अभिभावकलाई सचेत गराउने अभियान संचालन गरिएपनि बालविवाह न्यूनीकरणमा चुनौती देखिएको पाण्डेले बताउनुभयो ।

निस्दीमा बालमैत्री घोषणाका लागि स्वास्थ्यका सूचकहरु जस्तै सरसफाई, आयोडिनयुक्त नुनको प्रयोग लगायतका बिषयमा पनि केही मेहनत गर्नुपर्ने पाण्डेले बताउनुभयो । निस्दीले बालमैत्री कार्यक्रम संचालनका लागि चालु आर्थिक वर्षमा रु २० लाख बिनियोजन गरेको छ ।

Exit mobile version