Site icon PALPA SAMACHAR

अम्रिसोबाट एकातिर पर्यटन प्रवर्धन अर्कोतर्फ मनग्ये आम्दानी

पाल्पा । निस्दी गाउँपालिका–३ झिरुवासको काउले सामुदायिक बन र यहाँ लगाइएको अम्रिसोले अव काउले देशब्यापी भएको छ ।
धेरै सामुदायिक बनका पदाधिकारी सदस्य तथा अन्य आन्तरिक बाह्य पर्यटकहरु काउले आउने गरेका छन् । इलामको चिया बगैचाको झल्को दिने यहाँको अम्रिसो बगैचा लोभलाग्दो नै छ ।

२ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान फेरिएको छ । यहाँका स्थानीयहरुको आयआर्जन समेत बढेको छ । वर्षमा यहाँबाट २ करोड बढीको अम्रिसो निर्यात हुने गरेको छ । पछिल्लो समय काउले डाँडाको अम्रिसो खेती हेर्न आउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पूर्वमा पर्ने यो ठाउँ प्राकृतिक हिसावले पनि निकै सुन्दर र मनमोहक छ ।

यहाँ जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाकिएको छ । यहाँबाट उत्तरतर्फ माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला प्रष्टसँग देख्न सकिन्छ भने दक्षिणमा तराईको समथर भू भागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्रसम्म देख्न सकिन्छ । २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाउन सुरू गरिएको काउले डाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमनसिंह पाटाले बताउनुभयो । सुरुवातको समयमा स्थानीय २ सय १५ घरधुरी मिलेर १ सय १५ हेक्टर क्षेत्रमा अम्रिसो लगाइएको थियो । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । स्थानीय २ सय २७ घरधुरी यसमा आवद्ध रहेको अध्यक्ष पाटाले बताउनुभयो । विभिन्न १९ वटा उप समूह मिलेर काम गर्दै आएका छन् । पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ–ठाउँमा प्रतिक्षालय बनाइएको छ । त्यस्तै सभाहल सहितको कुँडुले घरले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।

यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ । काउले डाँडाडाँडामा होमस्टे पनि संचालनमा आएको छ । यहाँ आउने पर्यटकहरुले काउले डाँडाको अम्रिसोको अवलोकन र यहाँको मगर संस्कृतिको समेत राम्रो अनुभव लिने गरेका छन् । मगर र ठकुरी समुदायका मानिसहरुको बढी बाहुल्यता भएको यो स्थानमा पाहुनाहरुका लागि साँस्कृतिक नृत्य समेत देखाउने गरिन्छ ।

यो ठाउँ समुन्द्री सतहबाट १५९० मिटरको उचाईमा रहेको कारणले गर्दा पाल्पा तानसेनको जस्तै हावा पानी पाउन सकिन्छ ।

तस्बिरःधन बहादुर ठाडा/निस्दी

 

Exit mobile version