पाल्पा । पाल्पामा रक्तसञ्चार सेवा केन्द्र बनाउन पाल्पाली सेवा समाज युएइले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा मार्फत तानसेन नगरपालिका–१ भुसलडाँडामा रक्तसञ्चार सेवा केन्द्र निर्माण कार्य अगाडि बढेको छ ।
समाजले एक कार्यक्रममा बीच रेड्क्रस सोसाइटी पाल्पालाई १ लाख १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । तानसेनमा रक्तसञ्चार सेवा केन्द्र नहुँदा बिरामीहरू धेरै समस्यामा रहेका छन् । कतिपय जटिल अवस्थाका अपरेशन गरिहाल्नुपर्ने बिरामी समेत रगतको खोजीमा भौतारिनुपर्ने बाध्यतामा रहेका छन् । यही समस्या समाधानको लागि रेड्क्रसले रक्तसञ्चार सेवा केन्द्र निर्माण कार्य अगाडि बढाएको छ ।
पाल्पाली समाजका पुर्ब संरक्षक गितामणी पाण्डे, पुर्ब अध्यक्ष,तथा सल्लाहकार बेदप्रसाद अर्याल, पुर्ब महासचिव धनु क्षेत्री पुर्ब उपाध्यक्ष बिष्णु बस्याल पुर्व प्रवक्ता युबि भट्टराई र बर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण तिमिल्सिना, कोषाध्यक्ष दिल्ली भट्टराई लगायतले उक्त रकम रेड्क्रस सोसाइटीका सभापति बाबुराम कार्कीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा सभापति कार्कीले सेवा केन्द्रको अक्ष्यकोषमा ३ करोड रुपैयाँ राख्ने योजना सहित आर्थिक संकलन अभियान अगाडि बढाएको बताउनुभयो । अहिलेसम्म कोषमा ५६ लाख रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले यो अभियानमा साथ दिनुहुने पाल्पाली समाज सम्बद्ध सबै ब्यक्तिहरुलाई धन्यवाद दिनुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नागरिक समाजका अगुवा तथा पत्रकारहरुको उपस्थिति थियो ।
समाजले पाल्पाका ६८ वटा आधारभुत बिद्यालयमा २० लाख बराबरको अक्ष्यकोषको समेत स्थापना गरिसकेको र आफ्नो जन्मभुमिको दुख सुखमा साथैमा रहेको समाजका अध्यक्ष कैलाश अर्यालले बताउनुभयो ।