पाल्पा । बगनासकाली गाउँपालिका–५ दर्लमडाँडाको सुनादीमा ब्राह्मण होमस्टे संचालन तयारीको लागि ३ दिने तालिम सुरू भएको छ ।
होमस्टे (घरबास) सम्बन्धी अभिमुखीकरण तथा आधारभुत तालिम कार्यक्रम बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाको आयोजना र होमस्टे महासंघ नेपालसँगको सहकार्यमा तालिम संचालन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले सुनादी आफैमा पनि कृषि, पर्यटन, पशुपालनका हिसावले अग्रणी रहेकोले यहाँ होमस्टे संचालन गरी पर्यटन प्रवर्धनसँगै आर्थिक उपार्जन समेत गर्न सकिने बताउनुभयो । उहाँले यो अभियानमा बगनासकाली गाउँपालिकाको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले होमस्टे मार्फत बगनासकालीलाई परिचित गराउन सकिने बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य खुमादेवी भट्टराईले सुनादीको भजनकृतन र यहाँको अर्गानिक कृषि उत्पादन महत्वपूर्ण रहेको बताउनुभयो ।
बैशाख १२ गतेदेखि १४ गतेसम्म चल्ने तालिममा होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् होमस्टे अभियन्ता धनीश्वर बस्यालले सहजीकरण गर्नुभएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बगनासकाली ५ का वडा सदस्य प्रकाश न्यौपाने, जङग उचै, सिता बिक लगायतको उपस्थिति रहेको थियो । तालिम संचालनका लागि वडा कार्यालयको तर्फबाट चालु आर्थिक बर्षमा ५० हजार रुपैयाँ बिनियोजन गरिएको वडाध्यक्ष ओमप्रकाश गैरेले बताउनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा शोभाखर भट्टराईको अध्यक्षता, थानेश्वर भट्टराईको स्वागत र डिला भट्टराईको संचालनमा चलेको थियो ।