पाल्पा । रामपुर नगरपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुका जिज्ञाशाको जवाफ दिँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले आफूहरुले कालीगण्डकी डाइभर्सन विरुद्ध रामपुर नगरपालिकाले सशक्त रुपमा आवाज उठाउदै आएको बताउनुभयो । उहाँले उक्त डाइभर्सनले यहाँको धार्मिक आस्था, संस्कृति र पारिस्थितिक प्रणालीको रक्षा नहुने भन्दै यसको बिरोध गर्ने बताउनुभयो ।
रामपुरको फोहर व्यवस्थापन, विकास निर्माणका योजनाको काम गुणस्तरीय र समय मै सम्पन्न गर्ने विषयमा आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले चालु आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विनियोजित बजेट मध्ये चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ३२ करोड ४ लाख ६ हजार २४३ रुपैयाँ ८२ पैसा र पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार विनियोजन भएकोमा ५ करोड १८ लाख ७६ हजार ३६६ खर्च भएको जानकारी दिनुभयो । नगर भित्र सञ्चालनमा रहेका ३८० योजना मध्ये २३५ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो ।
उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरू भएको कार्यक्रमको सहजीकरण सिताकुण्ड मिडिया प्रालिले गरेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले गर्नुभएको थियो ।