पाल्पा । स्वास्थ्य क्षेत्रको प्रवर्धनले तिनाउँ गाउँपालिकाले बिशेष जोड दिएको छ । स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाई मार्फत सेवा प्रवाह, नसर्ने रोगहरुबारे सचेतना तथा पहिचान लगायतका महत्वपूाणर्् कामहरु तिनाउले गर्दै आएको छ ।
यसैबीच तिनाउ गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो । १६ देखि ५९ महिना सम्मका बालबालिकाले १५ महिना सम्म पाउनुपर्ने सम्पुर्ण खोपहरु पाएको सर्वेक्षणबाट देखिएपछि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
पालिका स्तरीय पुर्ण खोप घोषणा गर्नु अघि वडाहरुमा समेत अभियान चलाइएको थियो । बैशखा ७ गतेसम्म गाउँपालिकाका ६ वटै वडाले पुर्ण खोप निर्देशिका बमोजिम सबै प्रक्रिया पुरा गरिसकेका थिए । घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउले नागरिकलाई सहज स्वास्थ्य सेवा दिलाउने कार्यमा प्रतिबद्ध भइ लागेको बताउनुभयो ।
उहाँले बिरामीलाई तत्कालै रगत चाहिने अवस्थामा धेरै हारगुहार गर्दा पनि नपाइदा समस्या भएकोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । तिनाउ गाउँपालिकाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम संचालन गर्ने निर्णय गरी कार्यान्वयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले वालबालिकाको स्वास्थ्य महत्वपुर्ण विषय भएकाले सुक्ष्म तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, वडा अध्यक्षहरु, कर्मचारी, युवा क्लवका सदस्य, स्वयमसेविका लगायतको उपस्थिती थियो । तिनाउका ९ सय १० जना बालबालिकाले यो वर्षमा खोप पाएको तथ्याङक रहेको छ ।
नेपाल स्वयमसेवी रक्तदान समाज रुपन्देहीकोे प्राविधिक सहयोगमा भएको रक्तदानमा ४६ जनाले रक्तदान गरेका गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण कार्कीले बताउनुभयो । तिनाउ गाउँपालिकाले तानसेनमा निर्माणाधिन अबस्थामा रहेको ब्लड बैङकका लागि ५ लाख रुपैँया सहयोग गर्ने जनाएको छ ।