Site icon PALPA SAMACHAR

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

पाल्पा । बगनासकाली गाउँपालिकाले महिला उद्यमशीलतालाई जोड्ने गरी ४ वटा वडामा पकेट क्षेत्र बिस्तार कार्यक्रम अगाडि बढाएको छ ।

बगनासकाली गाउँपालिका अन्तरगतका वडा नं. ६ यम्घा र वडा नं. ८ बराङ्दीमा मौरीपालन पकेट क्षेत्र निर्माणको तयारी गरिएको छ । त्यस्तै वडा नं. २ पोखराथोकमा अदुवा पकेट क्षेत्र र वडा नं. ४ खानीछापमा बाख्रा पकेट क्षेत्र कार्यक्रम अगाडि बढाइएको छ ।
ग्रामीण क्षेत्रमा अहिले धेरै उद्यमी महिलाहरु नै रहेका छन् । बगनासकाली गाउँपालिकाको महिला समन्वय समितिको चालु आर्थिक वर्षको बजेटबाट बराङ्दीमा महिला सामुहिक मौरीपालनका लागि १ लाख रुपैयाँ, यम्घामा महिला सामुहिक मौरीपालनका लागि १ लाख रुपैयाँ, खानीछापमा महिला बाख्रा पकेट कार्यक्रमका लागि १ लाख रुपैयाँ र पोखराथोकमा महिला अदुवा पकेट कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेटबाट कार्यप्रक्रिया अगाडि बढेको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

यो कार्यक्रमको शुभारम्भ वडा नं. ८ बराङ्दीबाट गरिएको छ । अव क्रमशः यम्घा, खानीछाप र पोखराथोकमा पनि हुनेछ । यो कार्यक्रम मार्फत एकातर्फ महिलाहरुलाई सामुहिक तथा ब्यक्तिगत रुपमा उद्यमशीलतासँग जोड्ने, फरक वडालाई सम्भावनाको आधारमा फरक पहिचान सहितको पकेट क्षेत्र बिस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष चिदीले बताउनुभयो । यस कार्यक्रमबाट सामुहिक मौरीपालन, सामुहिक अदुवाखेतीका लागि प्रेरित गरिनेछ । त्यस्तै खानीछापमा महिलाहरुलाई बाख्रावितरण मार्फत उद्यमशीलताका लागि प्रेरित गरिने अध्यक्ष चिदीले बताउनुभयो ।

बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले उत्पादनसँग जोडिएका र उद्यमशीलतासँग जोडिएका बिषय महत्वपूर्ण रहेको भन्दै बगनासकालीले सोही बमोजिम कार्यक्रम बनाएको बताउनुभयो । उहाँले क्रमशः अन्य वडाहरुलाई समेत यस कार्यक्रम अन्तरगत जोड्दै लैजाने बताउनुभयो । बगनासकाली गाउँपालिका आफैमा पनि मौरीपालन र मह उत्पादनमा परिचित छ । बगानसकालीका बराङ्दी, खानीगाउँ, चापपानी लगायतका वडाहरु मौरीपालनका लागि उपयुक्त वडाको रुपमा रहेका रहेका छन् । बगनासकालीबाट बार्षिक ४ करोड बढीको मौरी, तथा मह कारोवार हुँदै आएको छ । तस्बिर सौजन्यः समाचारघर

Exit mobile version