Site icon PALPA SAMACHAR

सीप विकास कार्यक्रममा माथागढीको जोड

पाल्पा । माथागढी गाउँपालिकाले सीप विकास कार्यक्रमलाई बिशेष जोड दिएको छ । नागरिकहरुले सीप पाएपछि सोही बमोजिम सीपलाई सदुपयोग गर्दै आयआर्जनतर्फ प्रेरित हुने भएकोले पनि गाउँपालिकाले सीप विकासका कार्यक्रमलाई जोड दिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

गाउँपालिकामा संचालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पा कार्यक्रम अन्तरगत माथागढी १ चिदीपानी र वडा नं. ४ झडेवामा ३ दिने चल्पल बनाउने सीप विकास तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिमका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सहभागीताका लागि आह्वान गरेको थियो । जस अन्तरगत वडा नं. १, २, ३ का लागि चिदीपानीमा र ४ देखि ८ नं. वडाका सहभागीलाई झडेवामा तालिम संचालन गरिएको थियो । दुई स्थानमा संचालित तालिममा गरी १ सय जना बढीको सहभागिता रहेको थियो ।

माथागढीको वडा नं. १ धैरेनी गाउँमा गत २ वर्षअघि स्थानीय महिलाहरुका लागि चप्पल बनाउने तालिम संचालन गरिएको थियो । यहाँका महिलाहरुले चप्पल निर्माण गरी बिभिन्न मेला पर्वहरुमा लगेर बेच्ने गरेका छन् । चिदीपानीमै यस वर्ष एड्भान्स लेवलको सिलाइकटाई तालिम संचालनको तयारी समेत गरिएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।

यसैबर्ष महिला सशक्तिकरणको बजेट ४ लाख रुपैयाँबाट स्थानीय ५ वटा बिद्यालयका अभिभावकहरुलाई लक्षित गरी ढाका बुन्ने तान राखी अभिभावकहरुलाई उद्यमशील बनाउने तालिम संचालन गरिने योजना रहेको वडाध्यक्ष पन्थीले बताउनुभयो । बिहान बिद्यालयमा छोराछोरी छोड्न आएका अभिभावकलाई तालिम दिई उनीहरुलाई उद्यमशील बनाउने योजना रहेको उहाँले बताउनुभयो । “अभिभावकहरुले उत्पादन गरेको ढाकालाई खरिद गरी बजारीकरण गर्ने ब्यवस्था समेत हामीले मिलाउँछौं, यसबाट एकातिर अभिभावकको खाली समयको सदुपयोग हुन्छ भने अर्कोतिर उनीहरु आत्मनिर्भर हुने अवर पनि प्राप्त हुन्छ ।” अध्यक्ष पन्थीले भन्नुभयो ।

चप्पल बनाउने तालिमको समापन गर्दै माथागढी गाउँपालिका अध्यक्ष यम बहादुुर चिदीले तालिमका सहभागीहरुले स्थानीय स्तरमै चप्पल बनाउने सीप सिकेर आर्थिक रुपमा आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेको बताउनु भयो । उहाँले गरिवी निवारणका लागि शिक्षा, स्वास्थ्य र आत्मनिर्भरका विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्न पालिकाले योजना बनाएर नै अघि बढिरहेको पनि उल्लेख गर्नुभयो । सीप सिकेर मात्रै हुँदैन सीपलाई व्यवहारमा उतार्र्दै आफू पनि व्यवसायिक बन्ने र अरुलाई पनि ब्यवसायिक बनाउने कुरामा सहभागीहरुले ध्यान दिनुपर्छ अध्यक्ष चिदीले भन्नुभयो ।

Exit mobile version