Site icon PALPA SAMACHAR

बगनासकाली र पाणिनी गाउँपालिका बीच बालमैत्री कार्यक्रमबारे अन्तरसंवाद सम्पन्न

पाल्पा । स्थानीय बालमैत्री शासन कार्यक्रमका बिषयमा पाणिनी गाउँपालिका वडा नं. ६ र बगनासकाली गाउँपालिकाबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनी वडा नं. ६ को जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बाल क्लवका पदाधिकारी सदस्य, पत्रकार लगायत सरोकारवालाहरुको टोली बालमैत्री कार्यक्रमबारे जानकारी लिन बगनासकाली गाउँपालिकामा आएका थिए । कार्यक्रममा बगनासकाली गाउँपालिकाका बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन नारायण तिमिल्सिनाले बगनासकालीमा भएको बालमैत्री अभियान र त्यस अन्तरगत भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बगनासकालीलाई २०७७ चैत १४ गते बगनासकाली गाउँपालिकालाई प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको बताउनुभयो । उहाँले बालमैत्री घोषणा पश्चात पनि हरेक बर्ष बालमैत्री अभियानहरु निरन्तर रुपमा रचनात्मक तरिकाले संचालन भइरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बालबालिकाको हक अधिकारलाई सुनिश्चित गर्दै उनीहरुलाई लक्षित गरी बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो । यो कार्यक्रमबाट बालबालिकाको हक अधिकार स्थापित हुनुको साथै बालबालिकाहरुका क्षमता बिकासका गतिबिधि पनि चल्दै आएको बताउनुभयो ।

पाणिनी वडा नं. ६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले बालबालिकाहरुको हक अधिकार सुनिश्चित गर्नका लागि बालमैत्री अभियान थप प्रभावकारी हुने बताउनुभयो । उहाँले बगनासकालीबाट यो कार्यक्रमबारे धेरै जान्ने बुझ्ने मौका मिलेको बताउनुभयो । कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमको संचालन बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले गर्नुभएको थियो ।

Exit mobile version