Site icon PALPA SAMACHAR

होमस्टेले फेरिएको जल्पा ढोलीमाराको पहिचान

पाल्पा । पूर्वखोला गाउँपालिका–२ ढोलीमाराको सामुदायिक होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनेको छ ।
लेखक केवि मसालका अनुसार होमस्टे अवधारणा नेपालमा मात्रै नभएर अमेरिकालगायतका मुलुकमा पनि छ । अमेरिका, अष्टूेलिया, यूरोपलगायत शक्तिशाली देशमा व्यापार र मनोरञ्जन उद्देश्यले ग्रामीण पर्यटनका गतिविधि भएको उहाले बताउनुभयो ।
विकासोन्मुख मलेसिया र केन्याजस्ता देशमा व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि होमस्टे सुरू गरिएको छ । छिमेकी भारत चीनमा पनि होमस्टे अवधारणा रहेको उहाले बताउनुभयो । ग्रामीण पर्यटन विकास र स्थानीयको आर्थिक सशक्तिकरणको मुख्य उद्देश्य सहित संचालनमा ल्याइएको यो होमस्टेमा दैनिक पाहुनाहरू भरिभराउ हुन थालेका छन् । अहिलेको तराइमा गर्मी छ । गर्मी छल्न र प्रकृतिसग रमाउन यहा आउने पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।
कुनै बेला दुर्गम गाउ ढोलीमारा । सवारी साधन नपुग्दै यो गाउ जिल्ला सदरमुकामबाट निकै टाढा र दुर्गम गाउको रुपमा रहेको थियो । होमस्टे सुरू हुनु अघि यो गाउको बारेमा धेरैलाई थाहा पनि थिएन । अहिले ढोलीमाराको परिचय मात्रै फेरिएको छैन । यहाँका नागरिकहरुको सामाजिक आर्थिक विकासको राम्रो बाटो खुलेको छ । यहाँका नागरिकले उत्पादन गर्ने स्थानीय रैथाने कोदो, फापरको उत्पादन बढेको छ । किसानले अर्गानिक तरकारी फलाएका छन् । पर्यटकहरू मिठो आतिथ्यता, स्थानीय मौलिक कला संस्कृति सँगै स्थानीय उत्पादनको स्वाद चाख्न पाउँदा खुशी छन् । यहाँ सञ्चालित होमस्टेबाट नागरिकले स्वरोजगारीको अवसर पाएका छन् । यो होमस्टे र ढोलीमाराको प्राकृतिक सुन्दरताको अझ प्रचार हुन सके होमस्टेमा आउने पर्यटकहरुको संख्या अझ बढ्न सक्न सक्ने स्थानीयको भनाई छ ।
यहाँ पुगेका पर्यटकहरुको स्वागतमा पञ्चेबाजा टोली बाटोसम्म आउँछ । पर्यटकलाई फुलमालाले स्वागत सम्मान गरिन्छ । बाजा तालमा नाचगान गराउदै पर्यटकलाई सामुदायिक होमस्टे भवनमा लगिन्छ । त्यहा खाजा खुवाइन्छ । एकैछिन नाचगान हुन्छ । साँझ खाना खाइसकेपछि फेरी स्थानीय पञ्चेबाजा, झ्याउरे कौरामा नचाइन्छ । अर्कोदिन बिहान फर्कन चाहेकाहरुलाई खाजा खुवाएर सम्मानपुर्वक बिदाई गरिन्छ । यो ढोलीमारा होमस्टेको बिशेषता हो ।
पुर्वखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष नीर बहादुर सारुले यो होमस्टे ढोलीमाराको पहिचान नै फेरिएको बताउनुभयो । यो होमस्टेको अझ प्रचारप्रसार गर्दै अगाडि बढाउनेमा गाउँपालिका र वडाले बिशेष ध्यान दिएको उहाँले बताउनुभयो । पुर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले यो होमस्टे संचालनको प्रक्रिया, तालिम, साँस्कृतिक कार्यक्रमका लागि पोशाक लगायतका बिषयमा गाउँपालिकाले सहयोग गरेको बताउनुभयो ।  डिभिजन बन कार्यालय मार्फत यहाँ बिभिन्न पर्यटकीय गन्तब्य बनाउने कार्यमा सहयोग भएको छ । यहाँ पुगेका पर्यटकहरू भ्युटावर, पिकनिक स्थल, लायन पार्क, अम्रिसो खेती, किवी खेतीको समेत अवलोकन गर्ने गरेका छन् । त्यस्तै प्राकृतिक सौन्दर्यताका हिसावले पनि ढोलीमारा उत्तिकै महत्वको स्थानको रुपमा रहेको छ । मादले गुफा,खाँणदेवी गुफामा पनि पर्यटक पुग्ने गरेका छन् ।
शहरको बसाईमा लगभग एकै प्रकृतिको खाना पाइन्छ । तर ग्रामीण होमस्टेमा तयार गरिने खानाका परिकारहरू स्थानीय उत्पादनमा आधारित हुन्छन् । यसबाट होमस्टेमा बस्ने सबै पर्यटकले यस्ता खानाको परिकारको भिन्न स्वाद प्राप्त गर्दछन् । स्थानीय उत्पादनको संरक्षण र रैथाने परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन भएका हुन्छन् । जहा पर्यटकले कहिल्यै नबिर्सने खानाको परिकारहरू खान पाउँछन् ।
स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरू भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । स्याङ्जाको सिरुबारीबाट नेपालमा होमस्टे पर्यटनको आरम्भ भएको मानिन्छ । हाल ढोलीमारा, रानीबास, जन्तीलुङ, सुकेताल, खाँदर लागयतका स्थानमा होमस्टे संचालनमा छन् । तानसेनमा पनि बिभिन्न होमस्टेहरू रहेका छन् । बगनासकालीको सुनादीमा पनि आगामी वर्षदेखि ब्राह्मण होमस्टे संचालनको तयारी गरिएको छ । तस्बिरः प्रदिप घिमिरे
Exit mobile version