Site icon PALPA SAMACHAR

बाँदरबाट हैरान भएको किसानको गुनासो

पाल्पा । बगनासकाली–८ बराङ्दीकी ७३ वर्षीया देवका घिमिरेले बाँदर आतङ्ककै कारण हैरान भएको बताउनुभयो । “केही वर्ष पहिलासम्म पनि गाउँमा बाँदर आएको पत्तो हुदैनथ्यो । आँगनमा बिस्कुन सुकाएर घास काट्न गएर आइन्थ्यो । अहिले त बिस्कुन त कसरी सुकाउनु, बारीमा भर्खर हरियो हुँदै गरेका मकै पनि जोगाउन मुस्किल भयो ।” उहाले भन्नुभयो ।

गाउँमै खेती किसानी गरेर बालबच्चा हुर्काएर सक्षम बनाइसक्नुभयो देवकाले । त्यतिबेला खेती किसानी गर्न समस्या थिएन । अहिले त बाँदरले सजिलो गरी बाँच्न दिएन । उहाँले भन्नुभयो । बगनासकाली गाउँपालिकाभर बाँदर आतङ्क छ । निर्वाचनको समयमा बाँदर नियन्त्रणको भाषण गरेका नेताहरू समेत गाउँ नपर्केको स्थानीयको गुनासो छ । बगनासकालीभर झण्डै १५ बगाल जति बाँदर छन् । एउटा बगालमा १ सय भन्दा बढी बाँदर हुन्छन् ।

बराङ्दीकी अर्की किसान तारा पाण्डेले पनि बाँदरले हैरान बनाएको बताउनुभयो । “बिहान उठेदेखि साझसम्म बादर कुर्दै समय बित्छ । अरू काम गर्न पनि पाइएन ।” उहाले भन्नुभयो । अर्का किसान ध्रुव पाण्डेले अहिले मकै भर्खर खन्ने काम सकिएको छ । तर बाँदरले मकैको सुत्ला च्यातेर हैरान बनायो । उहाँले भन्नुभयो । पाण्डेले भन्नुभयो–साँच्चिकै बाँदर नियन्त्रण आवश्यक छ । किसानले बाली सजिलो गरी भित्र्याउन पाएका छैनन् । गाउँपालिका र वडा कार्यालय मार्फत बाँदर अनुकुलित कार्यक्रम अन्तरगत कुरिलो अकबरे खुर्सानी लगायतका कार्यक्रम अगाडि सारेपनि पर्याप्त नभएको उहाँले बताउनुभयो ।

बराङ्दीकै अर्का किसान गंगा बहादुर रजालीले केही बर्षअघिसम्म पनि आफूले केराउ, आलु फलाउने गरेपनि अहिले बाँदरबाट मकै जोगाउन पनि मु्स्किल भएको बताउनुभयो । उहाँले बाँदर नियन्त्रणका लागि सरकारले समयमा उचित कदम नचाल्ने हो भने किसानहरू बिस्थापित हँुदै जाने गाउँ नै रित्तो हुने अवस्था आउने बताउनुभयो ।

बगनासकाली गाउँपालिकाले गत वर्षहरुमा बाँदर नियन्त्रणका लागि बजेट नै बिनियोजन गरेपनि कार्यान्वयनमा समस्या भएको थियो । यस वर्ष कृषि कार्यक्रम अन्तरगत बाँदर ले नष्ट नगर्ने कृषि उत्पादन कार्यक्रमलाई जोड दिइएको छ । यसवर्ष बगनासकालीले मागमा आधारित बादर क्षति नगर्ने कृषि कार्यक्रमका लागि ४ लाख रुपैयाँ बिनियोजन गरी कार्यान्वयन गरिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख किशोरकुमार खत्रीले बताउनुभयो ।

बगनासकाली–७ खानीगाउका वडाध्यक्ष गण बहादुर बुढाथोकीले बादर समस्या ज्यादै ठूलो समस्याको रुपमा रहेको बताउनुभयो । खानीगाउँमा ब्यवसायिक टिमुर खेतीलाई अगाडि बढाएको उहाँले बताउनुभयो । खानीगाउमा पहिलो बर्ष ३ हजार, दोस्रो वर्ष २ हजार ३ सय बोट टिमुरका बोट डिभिजन बन कार्यालयसँगको सहकार्यमा बितरण गरिएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । त्यस्तै ३ हजार आप र लिचीका बिरुवा पनि बितरण गरिएको उहाँले बताउनुभयो । यो वर्ष सुन्तला पकेट कार्यक्रमको लागि ६ लाख रुपैयाको कार्यक्रम रहेको उहाँले बताउनुभयो । बादरले क्षति नगर्ने कृषि उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।

 

 

 

Exit mobile version