Site icon PALPA SAMACHAR

बगनासकालीका पत्रकारलाई क्षमता विकास तालिम

पाल्पा । बगनासकाली पत्रकार समुहको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा बगनासकाली भित्रका पत्रकारहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

पत्रकारहरुको क्षमता विकास र फिचर लेखनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार तथा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष समुहका सल्लाहकार गोविन्द भट्टराईले देशमै पहिलो पटक बगनासकालीमा स्थानीय तहमा पत्रकार समूह गठन भई रचनात्मक कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।

पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष तथा समुहका सल्लाहकार झपेन्द्र गहिरेले बगनासकाली गाउँपालिकाबाट नेपाल पत्रकार महासंघमा ४ जना अध्यक्ष भइसक्नुभएको बताउनुभयो । उहाँले आगामी दिनमा समुहलाइ सक्रिय बनाउन उचित बजेटको व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनाले पत्रकारका हकहितका लागि र बगनासकाली गाउँपालिकामा भए गरेका कार्यको प्रचारप्रसारका लागि बगनासकाली पत्रकार र जिल्ला भरीका पत्रकारसंग समन्वय गरी संचार मैत्री हुन बगनासकाली सरकारलाई सुझाव दिनु भयो ।

पत्रकार देव पचभैयाले पत्रकारितामा आम्दानी नभएकाले नयाँ पुस्तालाई संचार क्षेत्रमा प्रेरित गर्न अप्ठ्यारो मान्नु परेको बताउनुभयो । अर्का पत्रकार यज्ञमुर्ति तिमिल्सिनाले पत्रकारिताका माध्यमबाट पर्यटन प्रबद्र्धन समग्र बगनासकालीको विकासलाई सचेत गराउन पत्रकार समुहलाई सुझावका रुपमा राख्दै फिचर लेखनकाबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकाली पत्रकार समूहले बगनासकालीको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । पत्रकार तथा संचारकर्मीले बगनासकाली भएका हरेक गतिविधि सकारात्मक रुपमा संचार जगतमा लैजान अहिलेसम्म भूमिका खेल्दै आउनुभएको र आगामी दिनमा पनि त्यस्तै भूमिका रहने बिश्वास अध्यक्ष चिदीले ब्यक्त गर्नुभयो । उहाँले जनतामा भ्रम छर्ने खालका समाचारबाट टाढा रही सल्लाह सुझावका रुपमा समाज सुधारका दस्तावेज संचारमाध्यममा लैजान समुहलाई आग्रह गर्नुभयो ।

उहाँले आगामी दिनमा बगनासकाली समूहलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रम बगनासकाली पत्रकार सूुहका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षतामा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनाको प्रमुख आतिथ्यता र बगनासकाली पत्रकार समुहका सचिव दयाराज न्यौपानेको संचालनमा चलेको थियो । तालिममा बगनासकालीमा क्रियाशील २६ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम पश्चात फिचर लेखन गरिने समूहले जनाएको छ ।

Exit mobile version