पाल्पामा क्षयरोग दर न्युनीकरण हुन सकेन

0
254

विष्णुप्रसाद घिमिरे । पाल्पा
क्षयरोगका कारण पाल्पा जिल्लामा पछिल्लो ६ महिनामा १५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८,०७९ को एक वर्षमा भने २० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा जिल्लामा क्षयरोगको मृत्युदर ७ प्रतिशत छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार क्षयरोग सम्बन्धी राष्ट्रिय कार्यक्रमले निको हुने दर ९० प्रतिशत हुनुपर्छ भनेको छ । यद्यपी पाल्पा जिल्लाको निको हुने दर भने ८९ प्रतिशत मात्रै छ । अझ पछिल्लो ६ महिनालाई हेर्ने हो भने निकोहुने दर ८५ प्रतिशत मात्रै हुन आउछ । “हामीकहाँ संक्रमणदर र मृत्युदर दुवै वढी छ ।” प्रमुख गिरीले क्षयरोगको सुरुकै अवस्थामा पत्ता लगाउन नसकिएको र रोगले ग्रस्त बनाएपछि स्वास्थ्य संस्था आउने प्रचलनले मृत्युदर बढेको बताउनुभयो ।

पाल्पा जिल्लामा क्षयरोगको संक्रमण दर घट्न सकेको छैन् । पछिल्लो १० वर्षदेखी एउटै दरमा संक्रमण कायम छ । स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८,०७९ मा ३ सय ४२ जनामा यो रोगको संक्रमण भेटिएको छ । जुन १० वर्ष अगाडि आर्थिक वर्ष २०६८,०६९ मा ४ सय ८ मा थियो । ३ सय ४२ जना संक्रमण हु“दा २० जनाले ज्यान गुमाएका छन् । यो ५.८ प्रतिशत मृत्युदर हो । स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा २०७७,०७८ मा ३ सय ३९ मा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वर्षदेखिपुनः संक्रमण बढेको देखिन्छ । जिल्लाका तानसेन, रामपुर र निस्दीमा संक्रमण बढी देखिएको छ । “कोभिडको मृत्युदर २ प्रतिशत थियो । क्षयरोगको कारण भएको मृत्युदर ५.८ प्रतिशत हुनु राम्रो मानिदैन् ।” न्यौपाने भन्नुहुन्छ, “समयमै स्वास्थ्यजाँच नगर्नु नै मृत्युदर बढ्नुको कारण बनेको छ ।” पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले क्षयरोगको संक्रमणदर न्युनीकरणका लागि संचारमाध्यमहरुको पनि भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । संचार माध्यमबाट यसबारेको जनचेतनामूलक सन्देश प्रवाह गर्नुपर्ने उहाको भनाई छ । उहाले समयमै जाच र उपचारलाई वडातहसम्मै लैजान स्थानीय तहहरुसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

पाल्पामा ४० प्रतिशत क्षयरोगका विरामी ६० वर्ष माथीका छन् । नेपालमा ८० प्रतिशतलाई फोक्सोको र २० प्रतिशतलाई अन्य भागमा क्षयरोग हुनेगरेको छ । विश्वमै क्षयरोगलाई महामारी पछिको मृत्युको ठूलो कारकतत्व मानिन्छ । नेपालमा मात्रै वर्षेनी ७ हजार वढीले यो रोगका कारण ज्यान गुमाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here