Site icon PALPA SAMACHAR

स्वास्थ्य बीमा कार्यक्रमबारे सांसद गैरेको निरन्तर ध्यानाकर्षण

पाल्पा । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा स्वास्थ्य बीमा कार्यक्रमबारे सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

उहाँले स्वास्थ्य बीमाको प्रभावकारी सञ्चालनका विषयमा सांसदमा जनताका पिरमर्का राख्दै आउनुभएको छ । आइतवार प्रतिनिधिसभा सदस्य बैठकमा उहाँले भन्नुभयो–“पाल्पाको सामुदायिक डाइलाइसिस सेन्टर, लमही र स्याङजाको डाइलाइसिस सेन्टरमा समेत मृर्गौला पीडितहरुले गर्दै आएको डाइलाइसिस सेवालाई सरकारले पठाउनुपर्ने रकम नपठाएको भन्दै बैशाख १० गतेबाट बन्द हुने सूचना टाँस गरिएको छ । त्यस क्षेत्रका मृर्गौलाका रोगीहरु यो सूचनाबाट अत्यन्त पीडित हुनुहुन्छ । आतंकित हुनुहुन्छ । म सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । समस्या के हो ? तत्काल सरकारको तर्फबाट पठाउनुपर्ने पैसा पठाई मृर्गौला पीडितहरुले सेवा पाउने परिस्थितिको सृजना होस् भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उहाँले निर्वाचित भएलगत्तै पाल्पाका अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपले संचालन गर्नका लागि पहल गर्दै आउनुभएको छ । युनाइटेड मिसन अस्पतालमा प्रभावकारी रुपमा स्वास्थ्य बीमा सञ्चालनका लागि उहाँले पटक पटक छलफल र ध्यानाकर्षण गराउनुभएको थियो । हाल मिसन अस्पतालले पूर्ण रुपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट बिरामीहरु खुशी भएका छन् ।

सांसद गैरेले गृह जिल्ला पाल्पा आएका बेला बिभिन्न योजनाहरुको स्थलगत अनुगमन गर्ने, सरकारी निकायको ध्यानाकर्षण समेत गराउँदै आउनुभएको छ । गत साता मात्रै उहाँ सांसद बैठकमा कालीगण्डकी करिडोरको राम्दीदेखि रानीमहलसम्मको बाटोका लागि तत्काल बजेटको ब्यवस्था गरि काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सोही बैठकमा उहाँले रानीमहल रिडीमा तट्बन्ध व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

Exit mobile version