विभिन्न कानुनहरुको सचेतना कार्यक्रम रामपुर पाल्पामा सुरु

0
176

पाल्पा । स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिका पाल्पामा सोमबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आयोजनामा नगरपालिका भित्रका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धि २ दिने सचेतना कार्यक्रम सुरु भएको भएको हो ।

  कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले कानुन निर्माणको प्रक्रिया र कार्यान्वयन अभावका कारण स्थानीय सरकार सञ्चालनमा केही समस्या आउने गरेको बताउनुभयो । उहाँले कानुनी प्रक्रियाका विषयमा जनप्रतिनिधिलाई पूर्ण ज्ञान नहुँदा  कतिपय वेला अप्ठ्यारो परिस्थिती सिर्जना हुदैँ आएको उल्लेख गर्नुभयो । सचेतना कार्यक्रमले स्थानीय तहको कानुन निर्माण र कार्यान्वयनमा सघाउ पुग्ने बताउनुभयो ।

 कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जुनसुकै कानुन समान हुने र सबैलाई समान रुपमा लागु हुने भन्दै विधि र कानुन संवत रुपमा स्थानीय सरकार संचालन हुन आवश्यक रहेको बताउनुभयो । साथै कार्यक्रम संचालनका लागि जिल्ला भरि मै रामपुर नगरपालिकालाई छनौट गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले स्थानिय तहले आफै कानुन बनाउने अधिकार पाउनु संघियताको मुख्य उपलब्धि भए पनि सरकारले अंकुश लगाएको बताउनुभयो । हरेक स्थानिय तह संचालनका लागि कानुन बनाउने अधिकार प्रदान गरे पनि प्रदेश र संघीय सरकारको कानुन संग नबाझिने गरि कानुन बनाउने पर्ने प्रावधान दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । केही स्थानीय तहमा कानुनले दिए भन्दा बढि अधिकारको प्रयोग गरेको र केहीमा दिएको अधिकार पनि कार्यान्वयनमा आउन नसकेको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

 सचेतना कार्यक्रममा कानुन र न्याय , देवानी संहिता , फौजदारी संहिता २०७४ , स्थानीय तहको कानुन निर्माण प्रक्रिया लगाएतका विषयमा प्रशिक्षण दिईएको छ । श्रीनगर होटलको सभाहल रामपुरमा भएको कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश मुख्यमन्त्रिको कार्यालयका कानुन सचिव राजेन्द्र थापा , आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवाली, अधिकृत सिता घिमिरे लगायतले गर्नु भएको   छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यता र माधव मिश्रको संचालनमा सम्पन्न भएको हो । सचेतना कार्यक्रममा रामपुर नगरपालिकाका १० वटै वडाका अध्यक्ष , सदस्य , जनप्रतिनिधि ,कर्मचारी लगाएतको सहभागिता रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here