तरकारीबाट आत्मनिर्भरतातर्फ रम्भाका युवा

0
331

विष्णु प्रसाद घिमिरे । पाल्पा
रम्भा गाउँपालिका–३ वेलपानीका गिरीराज बस्याल २०४६ सालदेखि सवारीसाधनमा सहायक चालकको काम गर्नुहुन्थ्यो । आफूमा सवारी चलाउने सीप थिएन त्यसैले पनि १२ वर्ष उहाँले सहायक भएर हिड्नुभयो । उक्त कामबाट आम्दानी थोरै भएपछि ४ जनाको परिवार पाल्न समस्या भयो । त्यसपछि उहाँले कृषि गर्ने सोंच बनाउनुभयो । “चार रोपनी जग्गा म सँग थियो, वाँकी ५ रोपनीमा भाडामा लिएर तरकारी खेती गर्न थाले ।” बस्यालले भन्नुभयो । वैदेशिक रोजगारी र १२ वर्ष गाडीमा हिड्दा भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ र घरगुजारा चलाउन सहज भएको छ । उहाँले भन्नुभयो ।

उहाँ केही समय वैदेशिक रोजगारीमा समेत जानुभयो । बस्यालले अहिले ९ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । अहिले ९ सय काउली, ७ सय बढी बन्दा र आलुखेती उहाँको वारीमा छ । बस्यालले ४ वटा टनेलको निर्माण गरि व्यवसायिक गोलभेडा खेती समेत गर्नुहुन्छ । उहाँको गोठमा २ वटा दुधालु भैसी छन् । जसबाट दैनिक १० लिटर दुध र दही समेत विक्री गर्नुहुन्छ । “घर खाएर पनि विक्री गर्दै आएको छु ।” बस्यालले भन्नुभयो । स्वदेशमै काम गर्ने हो भने विदेश विदेश भनेर भौतारिन नपर्ने उहाँको अनुभव छ ।

रम्भा गाउँपालिका पाल्पामा हेफरसँगको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरू भएपछि गिरीराजसँग तरकारी खेती गरेर आफ्नो घर गुजारा चलाउने आट आएको हो । यहाँ हेफर प्रोजेक्ट नेपाल र रम्भा गाउँपालिका पाल्पा बीच साझेदारी कार्यक्रम संचालन भएको छ । यहाँका गिरीराज जस्तै सय वढी युवा तथा महिलाहरू कृषि तथा पशुपालनको कर्म गरि आत्मनिर्भर भएका छन् ।

रम्भा–१ हुँगीका हुम बहादुर पाँण्डेले पनि गाउँमै ९ रोपनी जग्गा भाडामा लिएर गोलभेडा खेती गर्दै आउनुभएको छ । १० वटा टनेल निर्माण गरि ४ हजार बिरुवा गोलभेडा खेती गर्दै आउनुभएका हुम बहादुरले ४ सय वढी बोट कुरिलो पनि लगाउनुभएको छ । उहाँले गत वर्ष २० लाख आम्दानी लिन सफल भएको बताउनुभयो । उहाँ पनि पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीमा जानुभएको थियो । साउदीमा काम अनुसारको तलव नपाएपछि २७ महिनामा नेपाल फर्किनुभएका पाण्डेयले कृषि कर्मबाट राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । आफ्नो १ रोपनी मात्रै जग्गा भएका पाण्डेयले भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको हो ।

गाउँपालिकाले गैर सरकारी संघ संस्था तथा नीजि क्षेत्र बीचको सहकार्यमा गरिवी निवारणका लागी दीर्घकालिन परियोजना संचालन गर्ने उद्देश्य लिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार कृषि तथा पशुबस्तुको उत्पादन र वृद्धि गरी रोजगारमूलक उद्यमशिल र मर्यादित कृषि व्यवसायको विकास गर्ने रणनीति लिएको हो । रम्भा गाउँपालिकालाई कृषि तथा पशुबस्तुको माध्यमबाट आर्थिक आम्दानीमा वृद्धि गरि जीवीकोपार्जनमा सुधार गर्न तरकारी, पशुबस्तु तथा डेरी व्यवस्थापन गर्न उद्यमशीलता परियोजना संचालन गरेको छ ।

हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत मदन पौडेलका अनुसार यहाँका २ हजार २ सय वढी महिला तथा युवाहरू यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् । उन्नत प्रविधिहरुको अनुशरणबाट उत्पादन, उत्पादकत्व उद्यमशिलता अभिवृद्धि गरी बजारको व्यवस्थापनमा सुधार गर्दै समृद्ध पालिका निर्माणमा सकारात्मक वातावरण सृजना गर्ने उदेश्यले यो परियोजना संचालन गरिएको पौडेलले बताउनुभयो ।

यस रम्भा गाउँपालिकामा युवा तथा महिलाहरू कृषि तथा पशुपालन, खोरगोठ सुधार, उन्नत घाँस खेती, डेरी पकेट कार्यक्रम, स्थानीय जातका कुखुरा, उन्नत जातका बाख्रापालनबाट आम्दानी बृद्धि गर्दै आईरहेका छन् भने यसबाट स्वरोजगारी समेत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here