रामपुरको आगामी योजनाबारे सांसद तथा जनप्रतिनिधि छलफल

0
279

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद , नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्ष विच सोमबार नगरपालिकामा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले हरेक क्षेत्रको विकासका लागि तिन तहको सरकार विच सहकार्य र समन्व्यले मात्र सम्भव हुने बताउनु भएको छ । उहाँले नगरको विकासका लागि नगरको प्राथमिकतामा रहेका योजना सफल पार्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नगरका वडामा आवश्यक योजनाहरुलाई आवश्यकताको आधारमा प्रदेश सरकार मार्फत ल्याउन पहल गर्ने बताउनु भएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनतको आधारभूत आवश्यकताको आधारमा नगरका योजनालाई प्राथमिकता दिएर संचालन गरिने बताउनुभयो । उहाँले नगरका सवै योजना संचालन गर्न स्थानिय तहले मात्रै सम्भव नहुने भन्दै यसका लागि प्रदेश सरकार र संघीय सरकारको पनि बजेट आवश्यक पर्ने बताउनुभयो । नगर प्रमुख थापाले रामपुर नगरपालिका मात्र नभई अन्य स्थानीय तहलाई पनि समेट्ने गरि प्रदेश र संघीय सरकारका सांसदहरुले पहल गर्न आग्रह गर्नुभयो । यस क्षेत्रमा मेडिकल कलेज , एयरपोर्ट , रिङरोड लगाएतका योजना अन्तरपालिकालाई जोडेर संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले आवश्यकता अनुसार योजना र मागको सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँले राजनितिले प्रतिस्पर्धा गराउने र सहकार्यले विकास गराउने भन्दै सहकार्य र सहमितले विकास सम्भव हुने बताउनुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका १० वटै वडा अध्यक्षहरुले वडामा आवश्यक योजनाहरु प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्षहरुले वडामा शिक्षा , स्वास्थ्य , खानेपानी , सडक ,विद्युत , सिंचाई पर्यटन लगाएतका माग आवश्यक रहेको जानकारी गराएका थिए ।

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here