शुक्रवार तानसेनमा रोजगार मेला हुँदै

0
221

पाल्पा । तानसेन नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले यही जेठ १२ गते शुक्रवार वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न लागेको हो ।

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले बताउनुभयो । तानसेनको शिक्षा तथा सामाजिक विकास समितिका संयोजक समेत रहेका खनालले बताउनुभयो । नगरप्रमुखको संयोजकत्वमा कार्यपालिकाको सम्पूर्ण टीम सहित मूल आयोजक समिति गठन गरिएको छ । यस मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्य राखेको छ । यहाँ सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरू बारे जानकारीमूलक स्टलहरु रहने बताइएको छ ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले रोजगारीका लागि सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरुले रोजगारी प्राप्त गर्न मेला सहयोग बन्ने बताउनुभयो । “किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको छ ।” उहाँले बताउनुभयो ।

आफ्नो मार्ग पहिचान गर्न, दीगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताउनुभयो । मेला यही जेठ १२ गते मखनटोल तेर्सो सडकमा बिहान १० देखि बेलुका ५ बजेसम्म हुने नगरपालिकाले जनाएको छ । मेलामा विभिन्न ३० बढी स्टलहरू रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here