निस्दीमा विकास योजनाको काम तीव्र

0
190

पाल्पा । निस्दी गाउँपालिकाले चालु आर्थिक वर्षका कार्यक्रम तथा योजनाहरुलाई प्रभावकारी रुपमा आगढि बढाएको जनाएको छ । चालु आर्थिक वर्ष २०७९,०८० मा बिनियोजित बजेट तथा अघिल्लो वर्षका क्रमागत कार्यक्रमहरुलाई समेत निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने गरि लागिपरेको गाउउँपालिकाका सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो ।

एकीकृत घुम्ती शिविर बन्यो सहयोगी
पालिकाले वडाका विकास योजनाका लागि पनि उपभोक्ता समूह पालिकासम्म आउन समस्या नहोस् र समयमा सम्झौता भई काम अगाडि बढोस् भन्ने उद्देश्यले गत माघ महिनामा वडा वडामा घुम्ती शिविरको आयोजना गरेको थियो । पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिएको थियो । त्यसको प्रभाव यस वर्षको निस्दीका योजनाहरुमा देखिएको खनालले बताउनुभयो ।

पालिकाभित्रका ७ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरि वडाबाटै योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखिकरण, जेष्ठ नागरिक सम्मान, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङ्गता परिचय पत्र वितरण, ब्यवसाय दर्ता, औषधी वितरण, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरिएको थियो । त्यसको प्रतिफल स्वरुप योजनाका कामहरू समेत समयमै सम्झौता भई कार्य सम्पन्न हुने अवस्थामा पुगेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव दयालले बताउनुभयो । वडामै पुगेर योजना सम्झौता क्रममा योजना सम्झौता देखि फरफारक प्रक्रियासम्म जानकारी गराउने गरिएको कारण पनि यस वर्ष योजनाहरुको कार्यान्वयनमा धेरै हदसम्म सहयोग पुगेको उहाले बताउनुभयो ।

“शिविरले योजनामा मात्र सजिलो नभई समग्र सेवा प्रवाह स्थानीय नागरिकहरुसम्म सहज रुपमा पुगेकोले वर्षमा २ पटक त्यस्तै खालको शिविर गर्नुपर्ने माग आएको छ ।” उहाँले भन्नुभयो । पालिकाका केही वडाहरुबाट अहिले पनि पालिका केन्द्रसम्म आउन जान धेरै समय लाग्ने र सहज रुपमा गाडी पनि नपाइने भएकोले वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ताहरुलाई पनि धेरै सहज भएको उहा“ले बताउनुभयो ।
चालु आर्थिक वर्षमा निस्दी गाउँपालिकामा करिव ३ सय ७६ वटा योजनाहरू छन् । जसमा २ सय ९० वटा योजना उपभोक्ता मार्फत काम हुनेगरी सम्झौता भई काम अगाडि बढेको छ । पालिका भित्रका सबै बाटोहरु ४४ वटा मोटरबाटोको स्तरोन्नति योजनालाई एकद्धारबाट हुने गरि एकीकृत गरि ४ वटा समूहमा राखेर टेण्डर गरि काम अगाडि बढाइएको सूचना अधिकारी खनालले बताउनुभयो ।

यस वर्ष वडा नं. ३ को चापाघाटमा झोलुङ्गे पुल निर्माणका लागि टेण्डर भएको छ । बाकामलाङ देखि ज्यामिरे सम्मको करिव ४६ किलोमिटर सडक स्तरोन्नतिको योजना केम खाम्चा मार्गको लागि टेण्डर भएको छ । यस वर्ष ग्राभेल र पक्की नाली निर्माण गर्ने काम चलिरहेको छ । पालिकाभित्रको मुख्य सडकको रुपमा रहेको यो सडक ५ वर्षमा कालोपत्रे हुनेगरी योजना बनाइएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको वडा नं. ५ गल्धाको स्वास्थ्य चौकी भवन निर्माणको काम पनि टण्डर मार्फत अगाडि बढेको छ । यो योजनाको काम अन्तिम चरणमा रहेको छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कामलाई निरन्तरता दिइएको छ । ५ करोड २७ लाख २५ हजार ८ सय ९० रुपैयाँमा टेण्डर पश्चात सम्झौता भई काम अगाडि बढेको छ । १५ शैंयाको अस्पताल निर्माणको काम पनि चलिरहेको छ । यस्तै गरी वडा नंं १ र २ को वडा भवन निर्माणको काम चालु अवस्थामा छ । आगामी वर्षमा सम्पन्न हुने योजनाका लागि यस वर्ष ५०,५० लाखको काम भइरहेको छ ।

पालिकाभित्र भएका विकास योजनाहरुको अनुगमन निरीक्षण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयो । यसका लागि वडा, पालिकाको अनुगमन समिति मात्र नभएर पालिकाका प्राविधिक कर्मचारीहरुलाई स्थलगत रुपमा परिचालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गाउँपालिका भित्रका विकास योजनाहरुलाई तदारुकताका साथ अगाडि बढाउने पालिका लागिपरेको बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here