माथागढीका विकास योजना प्रभावकारी रुपमा चल्दै

0
535

पाल्पा । माथागढी गाउँपालिले चालु आर्थिक वर्ष २०७९ । ०८० का योजनाहरुको सफल कार्यान्वयन, अनुगमन र फरफारक कार्य तीव्र रुपमा सञ्चालन गरिरहेको छ । विकास योजनाहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको पालिकाले जनाएको छ । ५ लाख भन्दा कमका योजनाहरुको अनुगमन वडास्तरबाटै र ५ लाख भन्दा बढीका योजनाहरुको अनुगमन पालिका स्तरीय योजना अनुगमन समिति मार्फत हुँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । सञ्चालित योजनाको अनुगमनका लागि बिहीबार र शुक्रबार हुँदै आएको छ ।

चालु आर्थिक वर्षमा पालिकामा रहेका केन्द्र, प्रदेश र पालिका अन्तरगतका ९० प्रतिशत बढी योजनाहरु सम्झौता भई अधिकांश योजनाहरु सम्पन्न भई फरफारक समेत भईसकेको पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा माथागढीभित्र ६ सय बढी योजना तथा कार्यक्रम छनोट भएका छन् ।
स्वास्थ्यमा बिशेष पहल
माथागढी गाउँपालिकाका केही वडाहरु आफैमा पनि दुर्गम वडाको रुपमा रहेको र त्यहाँका नागरिकहरु कतिपय अवस्थामा स्वास्थ्य चौकीसम्म पुग्न समस्या हुने भएकोले पालिकाले यस वर्ष जनताकै माग बमोजिम पालिका भित्रका ५ स्थानमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याइएको छ । यी इकाईहरु मार्फत स्वास्थ्य चौकीको सेवाबाट टाढा रहेका नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । यसअघि हात्तीलुङमा एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको थियो ।

यस वर्ष पालिकाले स्वास्थ्य चौकीको सेवाप्रवाहबाट केही टाढा रहेका नागरिकहरुलाई सहज सेवाका लागि ५ वटा स्थानमा सामुदायिक स्वास्थ्य इकाई थप गरिएको छ । चिदीपानीको धैरेनी, कसेनीको शिकारकोट, गोठादीको भुटुके, रहबासको मटेरी र बहादुरपुरको ताकातुङमा यस वर्ष देखि सामुदायिक स्वास्थ्य इकाई थपिएको र इकाईकै लागि गाउँपालिकाले १२ जना स्वास्थ्य कर्मी करारमा नियुक्त गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्र बृहत स्वास्थ्य शिविरहरु संचालन मार्फत नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गरिदै आएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । त्यस्तै पालिका भित्रका बिद्यालयहरुको शैक्षिक सुधारका लागि पालिकाले पनि आवश्यक बजेट सहित ब्रिटीस काउन्सिलसँगको सहकार्यमा परियोजना संचालन गरिरहेको र यसबाट शिक्षकहरुको क्षमता विकास लगायतका तालिम कार्यक्रम संचालन हुँदै आएको उहाँले बताउनुभयो । यो वर्षबाट माथागढीमा सक्षम कार्यक्रम संचालन गरिएको छ । यसमा विशेषगरि अंग्रेजी शिक्षकलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम अनुसार नै योजनाहरु छनोट र कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो ।

पालिकाले सारेका महत्वाकांक्षी योजनाहरु
गाउँपाकिाले सडकको विकासमा केही महत्वाकांक्षी योजनाहरु अगाडि बढाएको छ । यी योजनाहरुको सफल कार्यान्वयन र समयमै सम्पन्न गर्नका लागि प्रदेश र संघीय सरकारसँग समन्वय र सहयोगको लागि प्रस्ताव गरिएको पालिकाले जनाएको छ । दुई प्रदेश जोड्ने सिद्धार्थ राजमार्ग, महेन्द्र राजमार्ग र कालीगण्डकी करिडोरलाई जोडने बाँसटारी झडेवा रहवास हुँदै दुम्कीबास सडक, अन्तरपालिका पूर्वखोलाको देविनगर हुँदै माथगाढीको झडेवा गोठादी देखि सुनवलसम्मको सडक र अगाहाखोला चिदीपानी फेदी झडेवा गोठादी हुँदै सुनवलसम्मको सडकलाई गाउँपालिकाले महत्वाकांक्षी योजनाको रुपमा अगाडि बढाएको हो ।

गाउँपालिकाको आन्तरिक राजश्व संकलन पनि ज्यादै कम रहेकोले सोचेजति विकास योजनाहरु संचालन गर्न नसकिएको र अति आवश्यक योजनाहरुलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गरि अगाडि बढाइएको अधयक्ष चिदीले बताउनुभयो । गाउँपालिकामा रहेका ठूला योजना ठेक्का मार्फत सञ्चालन प्रक्रिया अगाडि बढाइएको र साना योजनाहरु उपभोक्ता समिति मार्फत नै संचालन गर्ने गरि अध्यक्ष चिदीले बताउनुभयो ।

कर्मचारी व्यवस्थापन र चालु योजनाहरु
माथागढी गाउँपालिकामा अघिल्ला वर्षहरुमा वडा र शाखाहरुमा समेत कर्मचारी समस्या थियो । अहिले यो वर्ष केही सुधार भएको छ । स्वास्थ्य तर्फको अनमी अहेवलाई सचिवको जिम्मेवारी दिएका छौं । अहिले केही सहज भएको छ ।
अहिले स्थायी शिक्षकलाई शाखा हेर्ने गरि शिक्षा शाखाको जिम्मेवारी दिइएको छ । अन्य क्षेत्रमा करारका कर्मचारी पदपूर्ति गरिएको छ । प्राविधिक तर्फ १ वडा १ प्राविधिक व्यवस्थापन गरेका छौं । करारमा प्राविधिक राखेपछि वडाबाट हुने योजनाको काममा धेरै सहज भएको छ ।

यस वर्षको योजना संचालनको कुरा गर्नुपर्दा ४ वटा योजनाहरुमा स्थलगत रुपमा योजनाहरुको सम्झौता गरिएको थियो । बिशेष अनुदान अन्तरगत १ करोड बजेटमा वडा नं. ३ मा स्वास्थ्य चौकी बन्दैछ । ३५ प्रतिशत हाराहारी भौतिक र बित्तिक प्रगति भएको छ । वडा नं. १ को जग्गा प्राप्तिको चरण पुरा भएपछि निर्माण वयवसायीबाट काम सुरु भएको छ । यसका लागि १ करोड बिनियोजन गरिएको छ । प्रमुख विषय गाउँपालिकाको प्रशासकीय भवन निर्माण विद्यालयको जग्गामा भवन निर्माण गर्ने भनिएकोमा पालिकाकै जग्गामा भवन बन्नुपर्ने भएकोले नयाँ स्थानमा भवन बन्नेगरि जग्गादाताहरुले जग्गा दिने तयारी गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

सम्झौता हुन बाँकी रहेका योजनाहरुलाई प्राविधिक समस्या पहिचान गरि प्रक्रिया अगाडि बढाइएको । अहिले हामी फरफारकको प्रक्रियामा रहेका छौं । फरफारकको काम तीव्र रुपमा चलिरहेको छ । दैनिक रुपमा १० वटा हाराहारीमा फरफारक हुने गरेको छ । अपेक्षित बित्तिय प्रगति यो वर्ष गर्न सक्छौ भन्ने लागेको छ । १५ शैयाको अस्पताल निर्माणको काम पनि सन्तोषजनक चलिरहेको ज्ञवालीले भन्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here