पाल्पामा ४ जनाले पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्यागे

0
564

पाल्पा । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको छ । सदस्यता शुद्धीकरण कार्यविधि २०७९ बमोजिम महासंघले हरेक शाखाहरुमा शुद्धीकरण अभियान चलाएको हो ।

पत्रकार महासंघ पाल्पा शाखाले पनि केन्द्रीय निर्णय बमोजिम पाल्पामा पनि सदस्यता शुद्धीकरण मापदण्ड–२०७९ बमोजिम सदस्यता शुद्धीकरण कार्य अगाडि बढाएको हो । हालसम्म पाल्पामा ४ जना महासंघका सदस्यहरुले स्वेच्छिक रुपमा सदस्यता त्याग गर्नुभएको छ । महासंघको जेठ २ गते सम्पन्न बैठकले स्वेच्छिक सदस्यता त्यागका लागि १० दिने समय दिइएको थियो । यसरी स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सदस्यहरुलाई शाखाले सम्मान सहित बिदाई गर्ने निर्णय समेत गरेको छ ।

पाल्पामा शाखाका पूर्व उपाध्यक्ष मुना घिमिरेले स्वेच्छिक रुपमा सदस्यता त्यागको घोषणा गर्नुभएको छ । त्यस्तै शाखाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पनि स्वेच्छिक रुपमा सदस्यता त्यागको घोषणा गर्नुभएको छ । त्यस्तै सदस्य मानु हिस्की र हरि बहादुर सारुले पनि स्वेच्छिक रुपमा सदस्यता त्यागको घोषणा गर्नुभएको छ । घिमिरे, भण्डारी र सारु पछिल्लो समयमा पत्रकारितामा भन्दा अन्य पेशामा बढी संलग्न रहनुभएकोले स्वेच्छिक सदस्यता त्याग गर्नुभएको हो । त्यस्तै हिस्की बैदेशिक रोजगारीको क्रममा रहनुभएको छ ।

पहिले चरणमा सूचना जारी गरि स्वेच्छिक रुपमा सदस्यता त्यागका लागि आह्वान गर्ने र यो अभियानमा सहभागी भई स्वेच्छिक सदस्यता त्याग गर्नेहरुलाई शाखाले उचित सम्मान सहित बिदाई गर्ने र दोस्रो चरणमा मापदण्ड अनुसार नै सदस्यता शुद्धीकरण हुने बताइएको छ । अन्य जिल्लामा जस्तै पाल्पामा पनि सदस्यता शुद्धीकरण हुने शाखा अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।

हिजोको दिनहरुमा पत्रकारिता पेशामा क्रियाशील रहँदा सदस्यता लिई हाल अन्य पेशा वा व्यवसायमा रहनुभएका सदस्यहरुलाई बिदाई गर्ने महासंघ केन्द्रले शुद्धीकरण मापदण्ड बनाएको हो । शुद्धीकरण पश्चात पत्रकारितामा क्रियाशील व्यक्तिहरू मात्र महासंघको सदस्यको रुपमा रहने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here