बगनासकालीमा घटना दर्ता कार्य प्रभावकारी (सबै वडाको वार्षिक तथ्यांक सहित)

0
447

पाल्पा । बगनासकाली गाउँपालिकामा रहेको स्थानीय सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता (पञ्जिकरण सेवा इकाई) ले पालिका भित्रका सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ ।

शाखाले समय समयमा विभिन्न वडाहरुमा समय समयमा घटना दर्ता कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । यो वर्ष पनि बैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गरिएको शाखाका प्रमुख भोजराज भट्टराइले बताउनुभयो ।

“व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिको लागि घटना घटेको ३५ दिनभित्र वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता गरौं गराऔं ।” भन्ने नारासहित अभियान सञ्चालन गरिएको थियो । इकाईले समय समयमा घटनादर्तासँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

२०७९ बैशाख देखि चैत मसान्तसम्म बगनासकाली गाउँपालिकाभित्र जम्मा ५ हजार १ सय ११ घटना दर्ता भएका छन् । बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडाहरूमा गरि गत १ वर्षको अवधिमा १ हजार ३०७ बालक र १ हजार १४४ जना बालिका गरि जम्मा २ हजार ४५१ जनाको जन्म दर्ता भएको छ । वडा नं. ६ यम्घामा सबैभन्दा बढी ४ सय ४४ जनाको जन्मदर्ता भएको छ भने सबैभन्दा कम वडा नं. ८ बराङ्दीमा १ सय ४६ जनाले जन्म दर्ता गराएका छन् । वडा नं. १ चिर्तुङ्धारामा ३ सय ६१ जना, वडा नं. २ पोखराथोकमा २ सय ६४ जना, वडा नं. ३ नायरमा १ सय ९२ जना, वडा नं. ४ खानीछापमा २ सय १३ जना, वडा नं. ५ दर्लमडाँडामा ३ सय ७ जना, वडा नं. ९ चापपानीमा २ सय ९१ जनाको जन्म दर्ता भएको छ ।

त्यस्तै गत १ वर्षको अवधिमा बगनासकाली गाउँपालिकामा जम्मा १ हजार १ जनाको मृत्यु दर्ता भएको छ । जसअन्तरगत वडा नं. १ चिर्तुङ्धारामा सबैभन्दा बढी १ सय ९२ जनाको मृत्यु दर्ता भएको छ भने सबैभन्दा कम वडा नं. ८ बराङ्दीमा ३६ जनाको मृत्यु भएको छ । वडा नं. २ पोखराथोकमा १ सय ३१, वडा नं. ३ नायरमा १ सय २ जना, वडा नं. ४ खानीछापमा ७७ जना, वडा नं. ५ दर्लमडाँडामा ९० जना, वडा नं. ६ यम्घामा १ सय ५६ जना, वडा नं. ७ खानीगाउँमा ९८ जना र वडा नं. ९ चापपानीमा १ सय १९ जनाको मृत्यु दर्ता भएको छ ।

त्यस्तै विभिन्न वडाहरुमा गरेर ८९ जनाले सम्वन्ध बिच्छेदको प्रमाणपत्र लिएका छन् । यसमा सबैभन्दा बढी वडा नं. ६ यम्घामा २२ जना र सबैभन्दा कम वडा नं. ८ बराङ्दीमा २ जनाले दर्ता गराएका छन् । वडा नं. १ चिर्तुङधारामा १२ जना, वडा नं. पोखराथोकमा ८ जना, वडा नं. ३ नायरमा ५ जना, वडा नं. ४ खानीछापमा ४ जना, वडा नं. ५ दर्लमडाँडामा १२ जना, वडा नं. ८ खानीगाउँमा ५ जना र वडा नं. ९ चापपानीमा १३ जनाले सम्बन्धविच्छेदको घटना दर्ता गराएका छन् ।

त्यस्तै बिबाहदर्ता अन्तरगत बगनासकाली गाउँपालिकाभित्र ११ सय ३८ जनाले बिवाह दर्ता गराएका छनु । जसमध्ये सबैभन्दा बढी वडा नं. १ चिर्तुङ्धारामा १ सय ९६ जना र सबैभन्दा कम वडा नं. ८ बराङ्दीमा ६६ जनाले बिवाह दर्ता गराएका छन् ।

त्यस्तै बगनासकाली गाउँपालिकाभित्र ६९ परिवारका २ सय १३ जना ब्यक्तिहरू अन्यत्रबाट बसाई सरि यस पालिकाका बिभिन्न वडाहरुमा आएका छन् । यसअन्तरगत सबैभन्दा बढी वडा नं. १ चिर्तुङधारामा १३ परिवारका ३४ जना बसाई सराई गरि आएर दर्ता गराएका छन् । त्यस्तै यो १ वर्षको अवधिमा बगनासकाली गाउँपालिकाबाट अन्यत्र बसाई सरेर जाने ३ सय ६३ परिवारका १३ सय २७ जनाले अन्यत्र बसाई सराई गएपछि बसाई सराई लगेका छन् । यसमा सबैभन्दा बढी वडा नं ६ यम्घाबाट ६६ घरका २ सय ४१ जनाले बसाई सराई लगेका छन् भने सबैभन्दा कम वडा नं. ८ बराङ्दीमा २१ घरका ७१ जनाले बसाईसराई लगेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here