बेशीमा सारेपछि चिदीपानीको ज्ञानोदय स्कुलमा विद्यार्थी संख्या बढे

0
682

पाल्पा । जिल्लाका धेरै सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । ग्रामीण क्षेत्रका विद्यालयहरुमा यो समस्या अझ बढी छ तर माथागढी गाउँपालिका–१ चिदीपानी एक्लेवरमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा भने विद्यार्थी संख्या बढ्ने क्रम बढ्दो छ ।

यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाहरुको संयुक्त पहलकै कारण यो विद्यालय झण्डै झण्डै मर्ज हुने अवस्थाबाट माथि उठेको छ । २०३० सालमा स्थापना भएको यो विद्यालय २ वर्षअघिसम्म साविक चिदीपानी गाविसको वडा नं. ८ बरपोखरीमा संचालनमा थियो । यस क्षेत्रमा बसाई सराई बढ्दै गएपछि बालबालिकाको संख्या कम हुँदा विद्यालयमा जम्मा विद्यार्थी संख्या ११ जना मात्रै भयो ।

स्थानीयहरुको छलफल समन्वय पछि २०७८ साल साउन ११ गतेबाट सो विद्यालयलाई माथागढी गाउँपालिका–१ चिदीपानी एक्लेवरमा स्थानान्तरण गरिएको हो । यो विद्यालय रहेको क्षेत्रमा बस्ती पनि बाक्लो रहेको र अभिभावकहरुको राम्रो साथ रहेकोले यहाँ अहिले १ सय ४६ जना विद्यार्थी छन् । यस वर्षबाट यो विद्यालयमा कक्षा ६ को पनि पठनपाठन सुरू भएको छ ।

अहिले विद्यालयमा ३ जना स्थायी, पालिका अनुदानका २ जना, बालविकासमा १ जना, नीजि स्रोतमा २ जना गरि जम्मा ८ जना शिक्षक कार्यरत रहनुभएको छ । एक्लेवरमा माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा अस्थायी कक्षाकोठा व्यवस्थापन गरि अहिले बिद्यालय संचालन भइरहेको छ । विद्यालय संचालनका लागि सहकारीले निःशुल्क रुपमा भवन उपलब्ध गराएको छ ।

हालै जापानीज समाजसेवी काजु मासा काकिमी ओके बाजेको पहलमा ३७ लाख आर्थिक सहयोगमा ४ कोठे पक्की भवनको निर्माण भएको छ । शौचालय निर्माणको काम बाँकी रहेको र सो कार्य सम्पन्न भएपश्चात नयाँ भवनबाट पठनपाठन सुरू हुने विद्यालयका प्रधानाध्यापक बिजयदीप पन्थीले बताउनुभयो ।

अहिले निर्माण भएको भवनले मात्रै कक्षाकोठा पर्याप्त नहुने भएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ५० लाख रुपैयाँको भवन निर्माण गर्ने गरि टेण्डर समेत भइसकेको र यो भवन निर्माण भएपछि पठनपाठनमा थप सहज हुने प्रधानाध्यापक पन्थीले बताउनुभयो । विद्यालयको भवन निर्माणका लागि स्थानीय नागरिकहरुले निःशुल्क रुपमा ३२ आना जग्गा विद्यालयको नाममा हस्तान्तरण गरेका छन् । स्थानीय समाजसेवी तथा शैक्षिक व्यक्तित्वहरू जयदीप पन्थी, विजयदीप पन्थी, फनिसरा गाहा, मान बहादुर गाहा र सुमित्रा गाहाले विद्यालयको नाममा जग्गा प्रदान गर्नुभएको हो । प्राप्त भएको जग्गाको लालपुर्जा विद्यालयको नाममा रहेको प्रधानाध्यापक पन्थीले बताउनुभयो ।

यो विद्यालयमा हाल नर्सरीदेखि कक्षा ६ सम्म सामाजिक, नेपाली र स्थानीय पाठ्यक्रमबाहेक सबै पाठ्यपुस्तक अंग्रेजी माध्यमकै रहेको उहाँले बताउनुभयो । विद्यालय हालसम्म आइपुग्नका लागि यहाँका पुर्व विद्यार्थीहरुको पनि राम्रो साथ र सहयोग रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले यो विद्यालय यहाँसम्मको सफल अवस्थामा आउनुमा सबै क्षेत्रको उत्तिकै सहयोग रहेको बताउनुभयो । पन्थीले दुई वर्ष अघिसम्म सङ्कटमा रहेको विद्यालय आज सबै पक्षको सहयोगमा आजको अवस्थामा आएको बताउनुभयो । माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले विद्यालको शिक्षक ब्यवस्थापन, शौचालय निर्माण, कम्पाउन्ड निर्माण लगायत आवश्यक पर्ने विषयमा सहयोग रहने बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here