चिदीपानी स्वास्थ्य चौकी भवनको उद्घाटन तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सम्पन्न

0
290

पाल्पा । माथागढी १ चिदीपानीमो रहेको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन तथा चिदीपानी वडालाई पूर्णसंस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष एवम् चिदीपानी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथिको रुपमा पाल्पा जिल्ला क्षेत्र नं. २ का सांसद ठाकुर प्रसाद गैरे र क्षेत्र नं. १ का सांसद नारायण प्रसाद आचार्य, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्गचे विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रममा पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुँरास आत्रेय सहित जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि,समाजसेवी, विद्यालयका शिक्षक प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद गैरेले स्थानीय नागरिकहरुको सहज स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य चौकीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अव चिदीपानी स्वास्थ्य चौकीले पनि नवनिर्मित भवनबाट थप गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । अर्का सांसद आचार्यले स्वास्थ्य चौकी ग्रामीण नागरिकको सहज स्वास्थ्य उपचारका लागि सबैभन्दा राम्रो बिकल्पको रुपमा रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चिदीले माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि बिशेष महत्व दिएको बताउनुभयो । नागरिकहरुले स्वास्थ्य चौकीबाट उचित स्वास्थ्य सुविधा पाउने गरि स्वास्थ्य चौकीलाई सुविधासम्मन्न बनाउँदै लगिने उहाँले बताउनुभयो । अध्यक्ष चिदीले स्वास्थ्य चौकीको पायकमा नभएका नागरिकहरुको स्वास्थ्य सेवाको पहुँचका लागि पालिकाले सामुदायिक स्वास्थ्य इकाई बिस्तार गर्दै आएको बताउनुभयो । उहाँले यसैबर्षबाट चिदीपानीको धैरेनीमा पनि सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको बताउनुभयो ।

कार्यक्रममा जग्गादाता चिदीपानी निवासी(हाल अमेरिका) निवासी सनातन काफ्ले र स्वर्गीय गणेश बहादुर रेग्मी काे स्मृतिमा खुमा कुमारी रेग्मीलाई सम्मान गरिएको थियो । भवन निर्माणका लागि सनातन काफ्लेले ३ रोपनी र खुमा कुमारी रेग्मीले १ रोपनी १ आना जग्गा उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै वडा नं. १ का अध्यक्ष राज कुमार पन्थी र स्वास्थ्य चौकी प्रमुख ध्रुव बहादुर सुनारलाई घोषणापत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पूर्व स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन पदाधिकारीहरु, वर्तमान पदाधिकारीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य आमा समूह समाजसेवी, चिदीपानी आयुर्वेद औषधालय, सप्तपथ युवा क्लब लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा चिदीपानी स्वास्थ्य चौकी प्रमुख ध्रुव ब. सुनारले प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रम गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जि.सीको संचालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here