सामुदायिक वनमा चिया बगान बनाउन सम्भाव्यता खोज्दै चापपानी

0
365

पाल्पा । बगनासकाली गाउँपालिका–९ चापपानीले सामान्य जंगलका रुपमा रहेको सामुदायिक वनमा चियाखेती गर्ने योजना अगाडि सारेको छ । यसको लागि वडाले वनसँगको प्रक्रियाबारे सम्भाव्यताको खोजी गरिरहेको वडाध्यक्ष ठानेश्वर तिमिल्सिनाले बताउनुभयो ।

चापापनीभित्र ३ वटा सामुदायिक बन रहेका छन् । जसमध्ये सतिघा सामुदायिक वनमा चियाखेतीको राम्रो सम्भावना रहेकोले यहाँ चियाखेतीको सम्भावनाबारे छलफल सुरू गरिएको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो । इलामको चियाखेती रहेको स्थान सतिघा सामुदायिक वनको उचाई र तापक्रम पनि उस्तै उस्तै रहेकोले यहाँ चियाखेतीको सम्भावनाबारे धेरैले दिएको सुझाव बमोजिम वडा कार्यालयले यो पहल अगाडि सारेको उहाँले बताउनुभयो । यो सामुदायिक वनमा अहिले सल्ला सहित अन्य बोटबिरुवाहरू रहेका छन् ।

यी बोटबिरुवा हटाई यहाँ क्रमशः चियाखेती गर्दा एकातिर यहाँका नागरिकहरुको आयआर्जन पनि बढ्ने र अर्कोतर्फ यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । उहाँले यसबारे वडामा छलफल भएको निर्णय पश्चात पालिकामा लैजाने र अन्य प्रक्रिया पनि अगाडि बढ्ने बताउनुभयो ।

वन व्यवस्थापनको विषयमा रहेको ऐन कानुनहरुको पालना गर्दै यो नमुना कामको थालनी गर्ने सोंच अगाडि बढेको उहाँले बताउनुभयो । अहिले कायम रहेका वनहरुबाट मानिसहरुले सामान्य घाँस दाउरा मात्रै गर्ने अवस्था रहेकोले त्यसभन्दा माथि उठेर थप आयआर्जनका कार्यक्रम अगाडि बढाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्ता छन् चापपानीका अन्य कार्यक्रमः
चालु आर्थिक वर्षका चापपानीका सबै योजनाहरू सम्पन्न भएका छन् । यसरी समयमै योजना सम्पन्न गर्नेमा चापपानी पालिकाकै पहिलो वडा हो । आफू वडाध्यक्षको रुपमा काम गर्न थालेको ६ वर्ष भएको बताउँदै वडाध्यक्ष तिमिल्सिनाले बाटोघाटो निर्माण तथा जनताको आयआर्जनसँग जोडिएर काम गर्दै आएको बताउनुभयो । हरेक वर्ष वडा मार्फत हुदै आएका विकास योजना र कार्यक्रमहरुको आय व्यय विवरण सार्वजनिक गर्दै आएको उहा“ले बताउनुभयो ।

मोटरबाटो,बिद्युत
चापपानीका सबै टोलहरुमा मोटरबाटो पुगेको छ । यी बाटोहरुको स्तरोन्नती गर्दै बाह्रै महिना मोटर चल्न सक्ने बनाउने गरि आफू लागिपरेको उहाँले बताउनुभयो । अव वडाभित्र नयाँ ट्रयाक खोल्न खासै आवश्यक नरहेको र पुरानै बाटोहरुलाई स्तरोन्नती गर्दै लगिने उहाँले बताउनुभयो । चापपानीका सबै घरहरुमा बिजुली सुविधा उपलब्ध रहेको उहाँले बताउनुभयो ।

सिंचाईः
चापपानी वडाभित्र धेरै उत्पादनमुलक खेतहरू रहेका छन् । यहाँको मुख्य कृषि उत्पादन हुने फाँट खहरेखोलामा सिंचाईको कुलो निर्माणको काम भइरहेको छ । अन्य फाँट र खेतहरुमा पनि सहज सिंचाई सुविधाका लागि वडाले योजना बनाउँदै आएको र हरेक वर्ष काम गर्दै आएको उहाँले बताउनुभयो ।

खानेपानीः
यहाँका परम्परागत मुलहरु भुकम्पपछि धेरै सुकिसकेका छन् । धेरै टोलहरुका लागि लिफ्टको योजनाको आवश्यकता छ । यो ५ वर्षभित्र चापपानीका सबै घरमा धारा पुु¥याउने उद्देश्य रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । यस क्षेत्रकै ठूलो योजनाको रुपमा कालीगण्डकी लिफ्ट योजना र जरुवा लिफ्ट योजनाको काम सम्पन्न हुने प्रक्रियामा रहेको र यी योजनाहरु सम्पन्न भएपश्चात चापपानीका लगभग सबै घरमा धारा हुने उहाँले बताउनुभयो ।

अन्य
यस क्षेत्रमा अहिले बसाईसराई जाने क्रम बढेको छ । जंगली जनावरका कारण खेती किसानी गर्ने किसानहरू आजित भएका छन् । यसको विकल्पबारे खास छलफल हुन सकेको छैन । अर्कोतर्फ मानिसहरू बसाई सर्नुको मुख्य कारण प्राविधिक शिक्षा र उचित स्वास्थ्य सेवाको खोजी पनि हो । त्यसैले गाउँकै बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने र गाउँमै स्वास्थ्य चौकीमा उचित स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । यही वडामै रहेको चन्द्र माविमा कक्षा ९ देखि सिभिल इन्जिनियरिङको अध्यापन भइरहेको र यसलाई पनि समय सापेक्ष अन्य प्राविधिक विषय थप गर्दै लगिने उहाँले बताउनुभयो । यस क्षेत्रमा बाँदर समस्या बढी नै रहेकोले संघीय सरकारले बाँदर नियन्त्रणका लागि खास निर्णय गर्नुपर्ने उहाँको भनाई छ ।

वडा कार्यालय मार्फत प्रभावकारी रुपमा मुस्कान सहितको सेवा प्रदान गर्दै आएको तिमिल्सिनाले बताउनुभयो । वडाले आगामी वर्षको योजना बनाउनु अघि टोलभेला गरि टोल टोलबाट योजना ल्याएको र अव प्राथमिकीकरण गरि बजेट बिनियोजन गर्ने उहाँले बताउनुभयो । वडाबासीहरुको सेवाका लागि वडाका जनप्रतिनिधि र कर्मचारी सबै एक भएर काम गर्दै आएको उहाँले बताउनुभयो ।

फोटोः चापपानीमा आयोजित वन वातावरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here