विद्यार्थी तान्ने तरिकाः स्कुलमै सुनाइन्छ समाचार अनि अतिरिक्त क्रियाकलाप थरि थरिका

0
923

पाल्पा । हरेक दिन विद्यालय समय सुरू भएपछि अन्य विद्यालयमा जस्तै विद्यार्थीहरू प्रार्थनामा सहभागी हुन्छन् । माइकमा उज्यालो नेटवर्कबाट हरेक दिन बज्ने कायाकैरन बज्छ । विद्यार्थीहरुले ध्यान दिएर समाचार सुन्छन् । कायाकैरनसँगै त्यस दिनको तिथि मिति मात्रै हैन मुख्य समाचार पनि उनीहरुले थाहा पाउछन् ।

पाल्पाको बगनासकाली गाउँपालिका–५ दर्लमडाँडामा रहेको दर्लमडाँडा माविमा कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको अंग्रेजी ब्लकको दृश्य हो यो । धेरैलाई यो विषयमा खुल्दुली लाग्न सक्छ तर यसरी समाचार सुन्दा विद्यार्थीहरुलाई वर्ष, महिना गते र बार थाहा हुने र अर्कोतर्फ उनीहरुमा वाचनकला शैलीको पनि विकास हुने भएकोले यो अभ्यास गरिएको विद्यालयका अंग्रेजी ब्लकका संयोजक मोहन बस्यालले बताउनुभयो ।

यति मात्रै हैन हरेक दिन विद्यार्थीहरुले पालैपालो राष्ट्रिय तथा स्थानीय सवालमा आफ्नो मन्तव्य पनि राख्छन् । यसो गर्दा विद्यार्थीहरुलाई पढाईका अतिरिक्त देश विदेशमा के भइरहेको छ भन्नेबारे पनि जानकारी हुन्छ र उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्छ । यी लगायत धेरै अतिरिक्त क्रियाकलापहरु हुँदै आएको संयोजक बस्यालले बताउनुभयो ।

पहाडका अन्य सामुदायिक विद्यालयहरुमा यो अभ्यास खासै छैन । यति मात्रै हैन विद्यालयले मासिक रुपमा विभिन्न उत्कृष्ट विद्यार्थी छनौट गरि अवार्ड समेत प्रदान गर्दै आएको छ । अवार्ड वितरणका समुदायमा रहेर रचनात्मक काम गरेका व्यक्तिहरुलाई बोलाइन्छ र अतिथिहरुले पनि आफ्नो अनुभव सुनाउँछन् । यसो गर्दा विद्यार्थीहरुमा पढाईका अतिरिक्त अग्रजहरुसँग चिनजान र अनुभव लिने वातावरण बनेको बस्यालले बताउनुभयो ।

सरसफाई, अध्ययन, अनुशासन, अतिरिक्त क्रियाकलापका विभिन्न बिधामा हरेक महिना विद्यार्थीहरुलाई अवार्ड प्रदान गरिन्छ । १२ महिनामा उत्कृष्ट विद्यार्थीहरुबाट पुनः उत्कृष्ट छनौट गरि वार्षिक रुपमा अवार्ड प्रदान गरिन्छ ।

गाउँका विद्यालयमा पुरानै शैलीमा पठनपाठन गराउँदा विद्यार्थीहरुको खास आकर्षण नभएकोले यो विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरू गरेको हो । गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिएपछि अहिले पहिले विद्यार्थीहरुको संख्या पनि बढेको संयोजक बस्यालले बताउनुभयो ।

कक्षा १२ सम्म अध्यापन हुँदै आएको यो बिद्यालयमा अहिले टाढा टाढाबाट आउने विद्यार्थीलाई लक्षित गरि स्कुल बस पनि सञ्चालन गरिएको छ । संयोजक बस्यालले विद्यालयमा समय सापेक्ष अंग्रेजी माध्यमबाट पठन पाठन सुरू भएपछि विद्यार्थीहरू पनि थपिने क्रम बढेको बताउनुभयो । आगामी दिनमा माथिल्लो कक्षाहरुमा पनि अंग्रेजी माध्यममै पठनपाठन गराउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो । गाउँमै बोर्डिङ स्कुलमा जस्तै पढाई हुन थालेपछि बजारमा लगेर पढाउनुपर्छ भन्नेहरुले पनि यही स्कुलमा छोराछोरी भर्ना गरि पढाउन थालेका छन् ।

विद्यालयको यो अभ्यासमा अभिभावकहरुको पनि दह्रो साथ छ । अभिभावक थर्कराज गैरेले गाउँकै सामुदायिक विद्यालयमा व्यवस्थित रुपमा पढाई हुनु सबै बालबालिका र अभिभावकका लागि गौरवको कुरा भएको बताउनुभयो ।

तस्बिरः मासिक रुपमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै बिद्यालयका प्रधानाध्यापक सहित अतिथिहरु ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here