रामपुरमा पञ्जेबाजा सहित इन्द्रदेवसँग पानी मागियो

0
1051

सृजना घिमिरे । रामपुर (पाल्पा)
रामपुर नगरपालिका वडानम्बर ६ पाल्पाका नागरिकले बिहीवार भगवान इन्द्रदेवको पुजा गरि पानी मागेका छन् । अकला कालिका दुर्गा मन्दिरमा पुजा आरधना गरी पन्चेबाजा बजाउदै नाच्दै गाउदै कालीगण्डकी नदी किनार परेवाघाटमा पुगेर फूलपाती सेलाएर पानी छेपाछेप गर्दै पानी मागेका हुन् ।

मन्दिर व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा करिब ३ सय घरपरिवार सहभागी रहनुभएको थियो । प्रत्येक घरपरिवारबाट दान संकलन गरी पुजा आरधना व्यवस्थापन मिलाइएको मन्दिर व्यवस्थापन समिती उपाध्यक्ष ज्ञानप्रसाद ढकालले बताउनुभयो । पुजा गरेर यसरी पानी फाल्ने नुहाउने गरे पानी पर्ने विश्वास रहेको स्थानिय मन्जु ढुङगाना बताउनुहुन्छ । कालीनदी परेवाघाट क्षेत्रबाट नै मन्दिरमा मुर्ति लगेर पुजा गरिरहेको र त्यही मन्दिरमा पुजा गरी मुर्ति लगेकै स्थानमा फूलपाती सेलाएर नुहाउने कार्य गर्दा विगतका बर्षमा पनि पानी परेको विश्वासले इन्द्र भगवानको पुजा तथा रुद्री पुजा गरेको स्थानिय पंण्डित हरिप्रसाद पौडेलको भनाइ छ ।

२०३६ सालमा स्थापना भएको मन्दिरमा नियमित पाठपुजा आरधना तथा कुनै पर्व विशेषमा मेला समेत लाग्ने गर्दछ । लामो समय सम्म पानी नपरेपछि कृषकहरु निकै समस्यामा परेका छन् । खेतवारीमा भएका अन्न तथा तरकारी बाली सुकेका छन् । समयमा पानी नपर्दा यसबर्ष खेतमा रहेका मकैबाली नष्ट हुने अवस्थामा रहेको कृषकको गुनासो छ । आकाशबाट पानी नपर्दा खेतमा घुँगा हाल्ने बेला भएका मकै सुक्न थालेका छन् ।

मकैको सुत्ला राखेका , धानचमरा हालेको मकै पटान गर्ने समय अवधीभर पानी नपरे मकै उत्पादन घट्ने रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो । मकैको सिंचाइका निम्ति धान चमर तथा सुस्ला राखेका बेला महत्वपूर्ण रहेको र त्यही समय पानी नपर्दा किसान मारमा परेको उहाँको भनाइ छ । लामो समय पानी नपर्दा लहरेबाली अन्तर्गत करेला, घिरौला काक्रा, लगायतका तरकारी बाली समेत सुक्न थालेका छन् । पानी नपरेपछि कतिपय पानीका मुल धारा समेत सुक्न थालेका छन् । चर्को घाम तथा गर्मीले यसक्षेत्रका नागरिकको जनजिवन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here