रामपुरमा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

0
300

सुशीला रेग्मी । रामपुर
पाल्पाको रामपुरमा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । मानवताका लागि योग भन्ने नाराका साथ रामपुर आयुर्वेद शाखा रामपुर नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति रामपुरको सह–आयोजनमा दिवस मनाइएको हो । रामपुर नगरपालिका वडा नं ७ किसानवारीको योगहलमा पतञ्जली योग समिति अध्यक्ष सुदिप गैरेको अध्यक्षतामा कार्यक्रम कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । प्रदेश सभा सदस्य श्रेष्ठले मावन जीवनका लागि योग अति आवश्यक रहेको बताउनुभयो ।

“घरमै बसेर पनि योगाभ्यास गर्न सकिन्छ, स्वास्थ्यलाई निरोगी बनाउन योग दैनिक जीवनमा अति महत्व छ भन्ने हुदापनि यसलाई कतिपयले महत्व दिदैनन्” उहाँले भन्नुभयो,–“हरेक दिन विहान दुई घण्टा योग गरौँ, दिनभरको थकान, कामको बोँझ हटेर जानेछ” ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले योगाभ्यासलाई निरन्तर दिन सकियो भने मानव स्वास्थ्यलाई धेरै फाइदा रहेको बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेपाल भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पतञ्जली योग जिल्ला उपाध्यक्ष दामोदर भण्डारी लगायतले योगको महत्वका बारेमा आफ्ना भनाई राख्नुभएको छ । रामपुर पतञ्जली योग समितिका उपाध्यक्ष तथा रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारीको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई नगर प्रवक्ता कपिलबहादु्र खाँणले धन्यवाद दिनुभएको हो भने कार्यक्रमको संचालन रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेलले गर्नुभएको हो ।

पतञ्जली योग समिति रामपुरमार्फत हरेक दिन ५ वजेदेखि ७ वजेसम्म योगाभ्यास कक्षा भइरहेको छ । रामपुर आयुर्वेद अस्पताल, किसानवारी योगहल, रेशम सभाहलमा सामुहिक रुपमा योग सिकाइन्छ । योगहलमा पुगेर योगाभ्यास गर्ने दैनिक करिव एकसय रहेका छन् । योगको सबैजसो विधि सिकाइने भएकाले नियमित रुपमा कक्षा अगाडी बढीरहेको छ । रामपुरमा विसं २०७० देखि नियमित योग कक्षा चलिरहेको छ ।

पतञ्जली योग समिति रामपुरका अध्यक्ष सुदिप गैरे, समिति सुर्यप्रसाद श्रेष्ठ र राजेन्द्र ढकालले योगाभ्यासका विधिहरु सिकाउँदै आउनुभएको छ । नियमित रुपमा योग अभ्यास गर्दै जादा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्ट्रिक जस्ता रोगहरु निको हुदै गएको सहभागी बताउँछन् । पछिल्लो समय योगाभ्यासमा स्थानीयको आकर्षण बढ्दै गएको रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुमा कक्षा चलाउँदा योग सिक्ने अति कम थिए, हिजोआज त योग सिक्न आउने बढ्दै गएका छन्, सिक्दै जादा शरीर फुर्तिलोपन, निरोगी भएपछि योगको नियमित कार्य गर्ने बढ्दै गएको पाइएको छ” ।

योगाभ्यासमा नियमित आउने व्यक्तिको मोटोपन, ढाड कम्मर दुख्ने, पिनास कसैलाई अत्यधिक टाउको दुख्ने माईग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ । योगाभ्यासले शरीरलाई स्वस्थ र फुर्तिलो मात्र नभई प्यारालाईसिस जस्ता रोगहरुलाई निको बनाउँछ भन्ने कुरामा पहिले–पहिले विश्वास नगर्ने व्यक्तिहरु पनि अहिले सत्य सावित हुदै गएपछि योग कार्यमा सहभागी बनेका छन् । व्यवस्थित योगाभ्यास गर्ने ठाउँ भएमा योग गर्नेको ठुलो जनघनत्व बढ्नेछ । रामपुर नगरपालिकाका दशवटै वडा, टोल वस्तीमा योग कक्षा चलाउने योजना समितिले बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here