यस्ता छन् चिदीपानीका योजना कार्यक्रम र प्रभाव

0
305

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचत पश्चात् नयाँ जनप्रतिनिधिहरु आएसँगै माथागढी गाउँपालिका–१ चिदीपानीका नागरिकहरु खुशी भएका छन् । यो वडाको विकास योजनाहरुलाई जनताकै आवश्यकता अनुसार अगाडि बढाइएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।

विकास योजना
चिदीपानीको वडा कार्यालय भवन अहिले चिदीपानी बाटो छेउमा छ । यो भवन जीर्ण भएकै कारण सेवाप्रवाहमा समेत समस्या छ । त्यसैले हालै १ करोड रुपैयाँबजेटबाट वडा कार्यालय भवन निर्माणको काम सुरु भएको छ । केही वर्षमै नयाँ भवनबाट सेवा दिने वडाको योजना छ ।

मोटरबाटो अन्तरगतः यो वडालाई सिद्धार्थ राजमार्गले छोएर गएको छ भने आर्य रामपुर सडक पनि चिदीपानी हुदै गएको छ । स्थानीय बाटोहरुको स्तरोन्नतीसगै रम्भा र माथागढी जोड्ने पालिका पहुँच मार्गको योजना, लसुने अंगाहाखोला झडेवा फेदी, दुम्कीबास बाटोको स्तरोन्नती, बदवारी बुढिकोट जाउपोखरा बाटो, बिहादी मोटरबाटोको स्तरोन्नतीको योजना वडाको छ । बिरौटा धैरेनी रुमालडाँडा बिहाल धाम मो बात्यस्तै ४ वर्षभित्र सबै जसो सडकलाई पक्की नाली सहित स्तरोन्नती गर्दै लैजाने योजना रहेको पन्थीले बताउनुभयो । त्यस्तै यो वडाभित्र रहेका खोलाहरुमा पक्की तथा आवश्यकता अनुसारको पुल निर्माणको कामलाई पनि वडाले प्राथमिकता दिएको छ ।

तिनाउँको दोहोरामा पक्की पुल निर्माण कार्य केही वर्षमै गर्ने, अंगाहाखोलामा पुल नभएकै कारण समस्या भएकोले यसै वर्ष पालिकाबाट टूष्ट पुल निर्माण गर्ने, फेदीमा वक्स कल्भर्ट बनाउने योजना रहेको र अंगाहाखोलाको गोतामेघाटमा पक्कीपुल निर्माणका लागि संघबाट बजेट परेकोले यसै वर्ष काम अगाडि बढाइने वडाको योजना छ । स्थानीय खोलाहरुको व्यवस्थापन, तटबन्ध निर्माणमा पनि वडाले ध्यान दिएको छ । बदवारीदेखि तिनाउँखोलासम्म ब्यवस्थित तटबन्ध गर्ने, दोहोरा फेदी तिनाउँ लगायत आवश्यक स्थानहरुमा तटबन्ध गर्ने योजना रहेको अध्यक्ष पन्थीले बताउनुभयो ।

सिंचाईः
माडी फाँट र अंगाहाखोला फाट यहाँका मुख्य कृषि उत्पादनमुलक क्षेत्र हुन् । यी क्षेत्रमा अहिले पनि सिंचाईको राम्रै प्रवन्ध छ । वडा र पालिकाले अझ राम्रो र व्यवस्थित सिंचाई सुविधाका लागि योजना बनाएका छन् । यसका लागि माडी फाँटमा बृहत सिंचाई योजनाको तयारी छ । त्यस्तै अंगाहाखोलामा पनि व्यवस्थित सिंचाई योजनाको तयारी छ ।

खानेपानीः
चिदीपानीका माडी फाँट र अंगाहाखोला क्षेत्रमा खानेपानीको खासै समस्या छैन । तर यहाँको खानेपानी योजनालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । डाँडामा रहेका बस्तीहरुमा लिफटिङ योजनाको बिकल्प छैन । त्यस्तै वडा र पालिकाले समेत प्रदेश र संघसँगको सहकार्यमा लिफ्टिङ योजनाहरुलाई अगाडि बढाएको छ । हालै अलैचे लिफ्टििङ योजना सम्पन्न भएको छ । साविक वडा नं. ४ र ९ मा पनि योजना सम्पन्न भएको छ ।

बुढिकोटको योजना अन्तिम चरणमा छ । धैरेनी गाउँका १ सय २३ घरलाई लक्षित गरि प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको योजना निर्माणाधिन छ । त्यस्तै भुटुके खुमडाँडालाई पनि समेट्ने गरि योजना बनाउने तयारी गरिएको छ । आफूहरुको यो कार्यकालभित्र चिदीपानीमा १ घर १ धाराको अभियानलाई सार्थकता दिने गरि लागिपरेको वडाध्यक्ष पन्थीले बताउनुभयो ।

बिद्युतीकरणः
चिदीपानीका सबै घरमा बिजुली बत्तीको व्यवस्था छ । निर्वाचनको समयमा गरिएको प्रतिबद्धता बमोजिम आफूहरू निर्वाचित भएर आएलगत्तै टोल टोलमा पुगेर काठका पोलहरुको अवस्थाबारे तथ्यांक संक्लन गरि धेरै ठाउँहरुमा काठका पोल बिस्थापन गरिएको वडाध्यक्ष पन्थीले बताउनुभयो । अझ १ सय ५० वटा स्टिलका पोल भएमा चिदीपानी काठका पोलमुक्त हुने भएकोले सोही बमोजिम विद्युत कार्यालयसँग समन्वय गरिएको अध्यक्ष पन्थीले बताउनुभयो ।

शिक्षाः
यस वडामा अहिले ७ वटा बिद्यालय सञ्चालनमा छन् । शौभाग्य माविमा कक्षा १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ पनि पढाई हुदै आएको छ । यो विद्यालयलाई आवासिय बिद्यालयको रुपमा विकास गरि बाह्य जिल्लाहरुबाट पनि बिद्यार्थी ल्याउने योजना छ । जनजागृति आधारभुत बिद्यालय नेपालमै एकमात्र मगर भाषामा पढाई हुने बिद्यालय हो । यसलाई पनि समय सापेक्ष अगाडि बढाउने योजना छ ।

बरपोखरीमा रहेको ज्ञानोदय प्रावि २ वर्ष अघि यो बिद्यालय माडी स्थानान्तरण गरिएको छ । यो विद्यालयमा अहिले विद्यार्थी संख्या बढ्दै गएका छन् । आफूहरू निर्वाचित भएपछि यो बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र ओकेबाजेको सहयोगमा भवन निर्माण कार्य चलिरहेको वडाध्यक्ष पन्थीले बताउनुभयो । यी लगायत चिदीपानीका सबै बिद्यालयहरुलाई समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडि बढाइने उहाँले बताउनुभयो ।

स्वास्थ्यः
नागरिकको स्वास्थ्य अधिकार प्रत्याभुति गराउनेमा माथागढी गाउँपालिकाले पनि बिशेष महत्व दिएको छ । चिदीपानीमा स्वास्थ्य चौकीको सेवाबाट भौगोलिक दुरीबाट टाढा रहेका नागरिकहरुलाई लक्षित गरि पालिकाले हालै धेरैनीमा २ जना स्वास्थ्यकर्मी सहितको सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । बुढिकोट, अर्पिडाँडा, जाउपोखरामा हरेक महिनाको एकपटक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ । हालै पालिका मार्फत संचालन गरिएको निःशुल्क आँखा शिविरबाट चिदीपानीका २७ जना नागरिकको निःशुल्क मोतियाबिन्दुको अपरेशन गरिएको छ । आगामी दिनमा जनतालाई स्वास्थ्य सुविधा सहज बनाउने कुरामा वडा र पालिका लागिपर्ने वडाध्यक्ष पन्थीले बताउनुभयो ।

कृषि, पशुपालन र उद्यमशीलताः
कृषि तथा पशुपालनको लागि चिदीपानी राम्रो सम्भावना बोकेको वडा हो । यहाँका डाँडाबस्तीहरुमा पनि तरकारी खेतीको राम्रो सम्भावना छ । कृषिमा यान्त्रिकरण, ३ वटा टनेल लगाउनेहरुका लागि टनेल निःशुल्क कार्यक्रम पालिका र वडाले चलाएका छन् । पशुपालक किसानहरुका लागि ब्याउने र लैना गरि ३ सय २० वटा भैसीको निःशुल्क बिमा वडाले नै गरिदिएको छ । जसका कारण पशुपालक किसानमा उत्साह बढेको छ । आगामी दिनमा पनि यो योजनालाई निरन्तरता दिने वडाको योजना छ । तरकारी तथा नगदेबालीका बिउ बितरण, प्राविधिक सहयोग वडा मार्फत हुँदै आएको छ । उद्यमशीलता प्रवर्धनकै लागि नवपवर्तन कार्यक्रम, महिला समन्वय समिति, लघु उद्यम विकास कार्यक्रम अन्तरगत विभिन्न उद्यमशील तालिम सञ्चालन भइरहेको छ ।

उद्यमशीलता अभियान अन्तरगत नै यसअघि आरन ब्यवसायीहरुलाई आरन सहयोगको कार्यक्रम गरिएको र आगामी दिनमा सामुहिक आरन उद्योग सञ्चालनको तयारी रहेको उहाँले बताउनुभयो । त्यस्तै पञ्चेबाजा संरक्षणका लागि बिहानी क्षेत्रमा बाजा बजाउनेहरुका लागि सहयोग गर्दै यहाँको बाजालाई प्रवर्धन गर्ने कार्यक्रम रहेको पन्थीले बताउनुभयो । धैरेनी जाउपोखरामा होमस्टेको सम्भाव्यता अध्ययन गरि कार्य अगाडि बढाउने योजना पनि वडाको रहेको छ ।

यस वडा मार्फत सबै लक्षित वर्गका लागि बजेट बिनियोजन गरि सोही बमोजिम कार्यक्रम हुदै आएको छ । लक्षित वर्गको नेतृत्व विकास आयआर्जनका कार्यक्रमलाई महत्व दिइएको छ । यो वडाका वडाध्यक्ष पन्थी जिल्लाकै कान्छो उमेरको वडाध्यक्षको रुपमा परिचित हुनुहुन्छ । वडाका अन्य जनप्रतिनिधि पनि युवा नै छन् । सबै जनप्रतिनिधिहरुको एकता र कर्मचारीहरुसँगको सही सहकार्यकै कारण वडाको गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएको वडासदस्य लिलाकुमारी बिकको अनुभव छ । वडा र माथागढी गाउपालिका बीच विकास योजना तथा सेवाप्रवाह लगायतमा प्रभावकारी समन्वय रहेकै कारण सहज भएको वडाध्यक्ष पन्थीको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here