रामपुरको १३ औं नगरसभा सम्पन्न

0
381

सृजना घिमिरे । पाल्पा

रामपुर नगरपालिकाको १३ औं नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले आर्थिक बर्ष २०८०,०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । धार्मिक ऐतिहासिक स्थलको संरक्षण, कृषि, सडक तथा पर्यटन विकासलाई नगरसभाले महत्व दिएको छ । सभामा नगरप्रमुख थापाले कालीगण्डकी नदी बेशीको विकास गर्ने उद्देश्यले धार्मिक तथा पर्यटन विकासका निम्ति कालीगण्डकी किनारमा पैदल मार्ग बनाउने, मुख्य योजना रहेको उल्लेख गर्नुभयो ।

सभामा नीति तथा कार्यक्रममा सडक, खानेपानी, शिक्षा, स्वाश्थ्य, कृषि, महिला बालबालिका, अपाङ्गता व्यक्तिहरुका लागि बिशेष कार्यक्रम संचालन गरिने विषय समेटिएको छ । उहाँले नीति तथा कार्यक्रममा दैनिक ज्यालादारी मजदुरको समान कामको समान ज्याला लगायतका कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । नगरप्रमुख थापाले प्रदेश स्तरीय खेल मैदानको सम्भाव्यता अध्ययन गरी निर्माणका लागी सम्बन्धित निकायमा पहल गर्ने लगायतका योजना सुनाउनुभयो ।

सभामा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८०÷८१ को विनियोजन ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बार्षिक बजेट बक्तव्य पेश गर्नुभयो । सभाका अवसरमा निर्वतमान जनप्रतिनिधि, उत्कृष्ट खेलाडी, पत्रकार तथा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्वतमान उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, रामपुर नगरपालिका वडानम्बर १ देखी १० सम्मका निर्वतमान वडाअध्यक्षहरू मित्रलाल कंडेल, तारा बहादुर थापा, दिनेश कुमार खनाल, एकबहादुर नेपाली, हिमाल मल्ल, हुमनाथ न्यौपाने, तिर्थप्रसाद पंगेनी, बोमबहादुर नामजाली, इच्छाराम सिंजाली, लिलबहादुर गाहालाई सम्मान गरिएको थियो । पत्रकारतर्फ सामुदायिक रेडियो रामपुरका कार्यक्रम उत्पादक सुशीला रेग्मी सम्मानित हुनुभएको छ ।

खेलाडी तर्फ ब्याडमिण्टन तर्फ रामपुर ६ का मुस्कान कुमाल, क्रिकेट तर्फ रामपुर ७ का सुनिल क्षेत्री, फुटबल तर्फ रानपा ७ का सन्दीप मल्ल,पुरुष भलिबलमा रामपुर ४ का सन्दिप थापा, महिला भलिबल तर्फ रानपा ६ अस्मिता थापा,रामपुरबाट प्रतिनिधित्व गरि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुने रामतुलसी नमुना माध्यामिक विद्यालयका विद्यार्थी सुरक्षा घिमिरेलाई सम्मान गरिएको छ । उत्कृष्ट विद्यालय तर्फ रामतुलसी नमूना माध्यमिक विद्यालय,रामपुर आधारभुत विद्यालय रामपुर ५, ज्ञानमन्जुरी प्रावि रामपुर सम्मानित भएका छन् ।

निर्वतमान उपप्रमुखलाई दोसल्ला सम्मान पत्र तथा फूलमाला,वडाध्यक्षलाई खादा सम्मान पत्र तथा अन्यलाई नगद सम्मान पत्र तथा फूलमालाले सम्मान गरिएको थियो । कार्यक्रममा नगरप्रहरी ताराबहादुर सेनलाई सम्मान गरिएको छ । नगरसभामा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले स्वागत गर्दै रामपुर नगरको समृद्धिको आधारमा बजेट बिनियोजन हुने उल्लेख हुने बताउनुभयो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका सुचना अधिकृत रामहरि पाण्डेयले गर्नुभएको थियो । सभामा वडा नं. १ का वडाअध्यक्ष कपिलबहादुर खाँड, वडा नं. ३ का वडाअध्यक्ष दामोदर पाठक, वडा नंं १० का वडाअध्यक्ष तोयानाथ सारु लगायतले जिज्ञासा राख्नुभएको थियो । सभामा नगरप्रवक्ता कपिलबहादुर खाँडले धन्यवाद दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here