Site icon PALPA SAMACHAR

बगनासकालीमा पाल्पाका स्थानीय तहमा पहिलो सिभिल प्रयोगशाला स्थापना

पाल्पा । बगनासकाली गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये पहिलो सिभिल प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बगनासकाली ९ चापपानी स्थित चिलाङ्दी भञ्ज्याङमा स्थापना गरिएको प्रयोगशालाको बिहीवार बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले उद्घाटन गर्नुभयो ।

गाउँपालिका अध्यक्ष चिदीले पालिका भित्र सञ्चालनमा रहेका विकास योजनाहरुको प्रयोगशाला सेवाका लागि बुटवल जानुपर्ने अवस्था रहेको र रिपोर्ट आउन ढिलाई हुने तथा जान आउनका लागि अतिरिक्त खर्च हुने गरेकोमा अव यही प्रयोगशालाबाट सस्तो राजश्वमा तत्काल रिपोर्ट पाइने बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिका भित्रका भौतिक निर्माण, संरचनालाई गुणस्तरीय, पारदर्शी बनाउन यो प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले यो प्रयोगशालाबाट बगनासकाली सहित सबै पालिका र कार्यालयहरुले सेवा लिन सक्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यो प्रयोगशालालाई प्रभावकारी र पारदर्शी ढंगले संचालन गरि विकास योजनाहरुको कामलाई गुणस्तरीय बनाउन सघाउने र पालिकाको आन्तरिकराजस्व वृद्धि गर्ने लक्ष्य पनि राखिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए सरकारी, गैरसरकारी तथा नीति भौतिक संरचनालाई समेत गुणस्तरीय बनाउनका लागि प्रयोगशाला सहयोगी हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले यो प्रयोगशालाबाट विभिन्न सरकारी विकास योजनाहरुका अतिरिक्त मानिसहरुले बनाउँदै गरेका नीति संरचनाहरुको गुणस्तरीयता मापन गर्न पनि सेवा लिन सक्ने गरि वातावरण बनाउनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले यो प्रयोगशाला पुल्चोक इन्जिनियरिङ कलेजबाट मान्यता प्राप्त गरेर मात्र यो प्रयोगशाला संचालनमा ल्याइएको बताउनुभयो । उहाँले विभिन्न १५ प्रकारका सिभिल कामको प्रयोगशालामा जाँच गर्न सकिने बताउनुभयो । कार्यक्रम वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिनाको अध्यक्षतामा चलेको थियो

Exit mobile version