पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कोइराला पुरस्कृत

0
455

पाल्पा । तानसेन नगरपालिकाको सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठानमा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ बामपन्थी लेखक तथा बरिष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिएको छ । शुक्रवार तानसेनमा आयोजिक एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली लगायतले नगद, सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाका टोपीसहित पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ प्रदान गर्नुभयो ।

पुष्पलालका समकालीन, पत्रकार कोइरालाको जन्म ८६ वर्ष अघि मोरङमा भएको थियो । उहाँका पिता मातृकाप्रसाद कोइराला राणाशासनको अन्त्यपछि मुलुकको प्रधानमन्त्री बन्नुभयो तर पुरस्कृत उक्त कोइराला परिवारबाट कम्युनिस्ट नेताको रुपमा स्थापित हुनुभएको थियो । कोरियाका लागि पुर्वराजदुत समेत भइसक्नुभएका कोइरालाले पुरस्कार ग्रहण पछि बोल्दै आफुलाई सम्झेर पुरस्कृत गर्नुभएको धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनमा अहोरात्र खट्दै लेखनका माध्यमबाट सामाजिक रुपान्तरणका लागिपर्नुभएका कोइरालालाई यो पुरस्कार प्रदान गर्नु धेरै सराहनीय कार्य भएको बताउनुभयो । प्रतिष्ठानका सहसचिव गणेश ज्ञवालीले पुष्पलालको जीवनी र नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गर्नुभएको थियो ।

बरिष्ठ पत्रकार किशोर श्रेष्ठले पुरस्कृत व्यक्तित्व कमल कोइरालाको जीवनी, राजनीतिक, सामाजिक आन्दोलन र पत्रकारिता क्षेत्रमा रहेको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, तानसेन नगरपालिकाका पुर्व मेयर अशोककुमार शाही, विपि प्रतिष्ठान पाल्पाका अध्यक्ष डा. टंक पन्थ, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुसिला श्रेष्ठको स्वागत, सन्तोष खनालको सञ्चालन रहेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here