मोहनकन्या माविका शिक्षकहरूका लागि अभिलेखीकरण सम्वन्धी तालिम सम्पन्न

0
600

गोपालप्रसाद बस्याल । पाल्पा
तानसेनको मोहनकन्या माध्यमिक विद्यालयका शिक्षकहरूका लागि विद्यालय स्तरीय पाठ्यक्रम र विद्यार्थी मूल्यांकन तथा अभिलेखीकरणसम्बन्धी दुई दिने तालिम मंगलवार सम्पन्न भएको छ ।

तालिममा एकिकृत पाठ्यक्रम र सक्षमतामा आधारित पाठ्यक्रमका सैद्धान्तिक अवधारणा, बालमैत्री तरिकाका कक्षा शिक्षण रणनीति एवम् क्रियाकलापहरू, विद्यार्थी मूल्यांकनको अवधारणा, एकिकृत पाठ्यक्रमअनुसार विद्यार्थी मूल्यांकनको पोर्टफोलियो ब्यवस्थापन र उपलब्धि अभिलेखीकरणको अभ्यास गरिएको थियो ।
तालिमको सहजीकरण गर्दै शिक्षक गोपाल प्रसाद वश्यालले शिक्षणका क्रममा पाठ्यक्रम, पुस्तक, शिक्षक निर्देशिकाको उपयोग अनिवार्य भएकोले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका वेवसाइटमा उपलब्ध लर्निंग पोर्टल र डिजिटल सामग्रीको पहुँचसम्बन्धी अभ्यास समेत गराउनु भएको थियो । शिक्षकहरूलाई निरन्तर सहायता आदानप्रदान गर्ने उद्देश्यकासाथ गुगल क्लासरुम मार्फत शिक्षण स्रोत सामग्री र पारस्परिक सिकाइको वातावरण बनाउने प्रयाश गरिएको शिक्षक वश्यालले बताउनु भयो ।
विद्यार्थीको उपलब्धिस्तर बृद्धि गर्नका लागि विद्यालयले आफ्नै पहलमा शिक्षकहरूको क्षमता विकास गर्ने परम्पराको थालनी स्वरुप पाठ्यक्रमसम्बन्धी तालिम आयोजना गरेको र निकट भविष्यमै कम्प्युटर प्रविधि र अंग्रेजी माध्यममा शिक्षणसम्बन्धी तालिम आयोजना गर्ने कार्यक्रम विद्यालयले बनाएको प्रधानाध्यापक दिपक ज्ञवालीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here