Site icon PALPA SAMACHAR

मानवअधिकारको लागि महिला, एकल महिला समूहको साधारणसभा सम्पन्न

पाल्पा । मानवअधिकारको लागि महिला, एकल महिला समूह पाल्पाको चौथो वार्षिक साधारणसभा तानसेन नगरपालिका वडा न ६ को वडा कार्यालय हलमा शनिवार सम्पन्न भएको छ ।

समूहकी अध्यक्ष तुल्सी गैरे घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी कार्यबाहक प्रमुख प्रतिक्षा गाहा सिंजालीले एकल महिलाको आर्थिक तथा सामाजिक विकासका लागि नगरपालिकाले खास योजना बनाई कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले एकल महिलाको हकहीत र मानवअधिकार संरक्षणका लागि यो समूहले गर्दै आएको कामको प्रशंसा समेत गर्नुभयो ।

तानसेन नगरपालिका वडा नं. ६ न वडा अध्यक्ष सागरमान महर्जन, वडा नं. ७ का अध्यक्ष प्रदिप खनाल, समाजसेवी पुर्णमाया महर्जन, अधिवक्ता शारदा पौडेल नेपाल, समाजसेवी माया शर्मा , रमा पन्त लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै एकल महिलाहरुको मानवअधिकार प्रवर्धनसँगै उनीहरुको दीर्घकालिन व्यवस्थापन र टेवामा यो समूहले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमकी अध्यक्ष समेत रहनुभएकी समूहकी अध्यक्ष तुल्सी गैरे घिमिरेले समूहमा मार्फत सीमित स्रोत साधनका बीच पनि एकल महिलाहरुको मानवअधिकारको क्षेत्रमा नमुना कामहरु हुँदै आएको बताउनुभयो । उहाँले यो समूहमा जोडिन अन्य एकल महिलाहरुलाई आह्वान समेत गर्नुभयो । उपाध्यक्ष सिता जिसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोषाध्यक्ष प्रभा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव जीवा आलेले गर्नुभएको थियो ।

Exit mobile version