बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ

0
380

पाल्पा । बगनासकाली गाउँपालिकाको कार्यालयमा सूचना तथा अभिलेख केन्द्र सञ्चालन गरिएको छ । उक्त केन्द्रको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन पछि आफ्नो मन्तव्य राख्नुहुँदै अध्यक्ष चिदीले गाउँपालिका भित्रका हरेक सूचनाहरु एकद्धार प्रणालीबाट प्रवाह गर्ने गरि सूचना केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । पालिका र पालिका अन्तरगतका सबै शाखाहरुको प्रगति तथा सम्पुर्ण सूचनामूलक तथ्यांकहरु सोही केन्द्र मार्फत प्रवाह गरिने उहाँले बताउनुभयो । चिलाङ्दीमा निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपश्चात सोही भवनमा कार्यालय सरेपछि केन्द्रलाई थप ब्यवस्थित बनाउँदै लगिने अध्यक्ष चिदीको भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले बनाएका ऐन, कार्य बिधि लगायतका महत्वपूर्ण प्रकाशनहरु सहित पालिकासँग सम्बन्धित सम्पुर्ण सूचनाहरु यो केन्द्रमा रहने बताउनुभयो । यो केन्द्रले पालिकाका उपलब्धीहरुलाई जोगाइराख्न पनि सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले नागरिकले सूचना माग गर्दा वा पालिकाका लागि पनि विभिन्न सूचनाहरु आवश्यक पर्दा यो केन्द्र सहयोगी बन्ने बताउनुभयो । प्रवक्ता थापाले बगनासकाली गाउँपालिका पारदर्शी गाउँपालिकाको रुपमा रहेको र यो केन्द्रले थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले पालिकाले गर्दै आएका काम र प्रगतिहरुको अभिलेखीकरणमा यो सूचना केन्द्र अब्बल बन्नुपर्ने बताउनुभयो । सोही अवसरमा बगनासकालीमा स्थानीय मदिराजन्य पदार्थको ब्रान्डिङ कार्यमा भएको हालसम्मको सफलताको अवस्थाबारे सहजकर्ता बिज्ञान घिमिरेले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, प्रवक्ता सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र संचार क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here