महिषासुर मर्दिनी भगवतीको रथयात्रा ऐतिहासिक महत्व र व्यवस्थापन

0
455
पुष्कर अथक रेग्मी, राजेन्द्र गोपाल सिंह 
१. नवदुर्गा  देवी दुर्गाको नौवटा रूपहरू छन्– (१) शैल पुत्री (पार्वती), (२) ब्रह्मचारिणी (सच्चिदानन्द  स्वरूपको चिन्तनबाट ब्रह्म स्वरूप), (३) चन्द्रघण्टा (घाँटीमा चन्द्रमा), (४) कुस्माण्डा (पेटमा तापयुक्त संसार  अवस्थित, (५) स्कन्दमाता (कुमारको माता, (६) कात्यायनी (भगवती महर्षि कात्यायनको छोरीको रूपमा), (७) कालरात्रि (सबै दुष्टहरूको संहारकर्ता), (८) महागौरी (शिवकी शक्ति), (९) सिद्धिदात्री (सबै प्राणीलाई मोक्ष दिने) देवीहरूलाई नवदुर्गा महादुर्गा भनिएको छ ।
२. महिषासुर मर्दिनी– महिषासुर राक्षसको बध गर्न देवीहरू शक्ति स्वरूप भई लडे । नौ दिनको लगातार युद्धपछि दशौं दिनमा शक्ति स्वरूपा देवी भगवतीले महिषासुरको बध गरी दानवीय कुकृत्यबाट मानव जगतलाई मुक्ति दिलाएकीले महिषासुर मर्दिनी देवी भगवती भनियो । सेनकालीन समयमा सेन वंशीय राजाहरूको शक्तिकी देवी भगवती थिइन् । राजा रुद्रसेनले तानसेन शहर बसाल्दा बजारको बीच भागमा महिषासुर मर्दिनी देवी भगवतीको मूर्ति  सहितको मन्दिर स्थापना गरेका थिए ।
३. नेपाल अंग्रेज युद्ध –पाल्पाका प्रथम तैनाथवाला  साना काजी अमरसिंह थापाको देहान्त पछि उनका नाति उजिरसिंह  थापा तैनाथ भई वि.स. १८७१ आश्विनमा पाल्पा पाए । वि.स. १८७१ देखि नेपाल अंग्रेजबीच युद्ध शुरू भयो । उजिरसिंह थापासँग करीब ३ हजार सैनिक थिए । बुटवल गढीमा दुई पक्षबीच लडाइँ भयो । नेपाली पक्षको रणकौशलता, साहस, चतुयाई र वीरता प्रदर्शनको कारण अन्नतःयुद्धमा अंग्रेजहरू नराम्ररी हारे नेपालीको जित भयो । युद्ध जितेको स्थल बुटवलगढीलाई जितगढी  भनियो । पराजयको बदला लिन अंग्रेज सेना वि.सं. १८७२ बैशाखको पहिलो हप्ता पुनः बुटवल क्षेत्र आइपुगे । दोस्रो पटक पनि नेपाली सेनाले अंग्रेजहरूलाई नराम्ररी पराजित गरे ।
४. भगवती मन्दिरको निर्माण र मूर्ति स्थापना – भगवतीको भाकल गरी अंग्रेजलाई युद्धमा पराजित गरिसकेपछि उजिरसिंह थापाले महिषासुर मर्दिनी भगवतीको तीनतले मन्दिर वि.सं. १८७२ मा थालनी गरी वि.स. १८७६मा निर्माण कार्य सम्पन्न गरी महिषासुर मर्दिनीको प्रस्तर शिला मूतिलाई गर्भमै साँचेर अष्टधातुले बनेको अठार बाहु भएकी भगवतीको प्रतिमा स्थापना गरी दुर्गा पाञ्चायनको रूप दिई मन्दिरमा आफ्नै उचाई बराबरको सात पूर्ण कलश सुनको मोलम्बो अंकित गजूर स्थापना गरे । मन्दिरभित्र झकिझकाउ चार प्रदक्षिणा मार्ग वायव्य कोणमा सूर्य, इशानमा विष्णु, आग्नेयमा शिव र नैऋश्य कोणमा गणेशको मूर्ति प्रतिष्ठापित गरिएको छ । सिंह वाहिनी दुर्गाको दायाँ पाउँ सिंह र बाया पाउँ महिषासुररूपी राँगोमाथि रहेको छ । अठारबाहु भएकी दुर्गाको दाँया पहिलो हस्तमा त्रिशुल र क्रमशः अरू हस्तमा वरदमुद्रा, बज्र, अंकुश, डमरू, चक्र, तीर, खडक र करपात्र रहेका छन् भने बाँया तर्फको हस्तमा क्रमशः ढाल, नाग, गदा, सुला, कदिहस्ता मुद्रा, घण्ट, अभय मुद्रा र पछिल्लो हस्तले महिषासुरको टुप्पी समातेको छ । एकातिर गलामा नरमुण्डमाला छ भने अर्कोतिर विविध वस्त्र आभुषणले सुसजित सुन्दर शिर, मुकुट, स्वर्ण गहना, कर्णफूल, बस्त्रालंकार कमरपेटी सहित अपूर्व सुकोमल मूर्ति प्रचण्ड दुर्गा स्वरूपमा रहेको छ । वगलमा उजिरसिंहको तरवार राखिएको छ ।
५. भगवतीको रथयात्रा – नेपालमा विशेषतः वार्षिक रूपमा श्रावण, भाद्र महिनामा जात्रा मनाउने चलन छ । गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा, पाल्पा तानसेनका प्रचलित जात्राहरू हुन् । भाद्र कृष्ण नवमीका दिन मनाइने भगवतीको रथयात्रा ऐतिहासिक राष्ट्रिय गौरव बोकेको जात्रा हो । यो  जात्रा चलाउने चलन कर्णेल उजिरसिंह थापाले अंग्रेजहरूलाई युद्धमा परास्त गरी भगवती मन्दिरको निर्माण गरी बसालेका हुन् । भगवतीको अर्को रूप विन्ध्यवासिनी अर्थात् योगमाया हो । योगमाया श्रीकृष्णकी बहिनी हुन् । श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन भएकोले यो दिन रातभरि जाग्राम बसी नवमीका दिन भगवती जात्रा चलाउने चलन चलेको हो । वि.स. १८७७ देखि नियमित रूपमा श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रा हुँदै आएको छ । मूल पुजारीको रूपमा पाटनबाट चन्द्रमणि गुभाजु र गुठी व्यवस्थापकको रूपमा भक्तपुरबाट सुक्तमान बौद्धचार्यलाई झिकाएर राखियो । मन्दिरको पुजा आजसम्म पनि चन्द्रमणि गुभाजुका सन्ततीहरूले नै गर्दै आएका छन् । कर्णेल उजिरसिंहले तानसेन, बाजागार, सोम¥या, ढाङढुङ्या, चिदीपानी, अर्गली, मदनपोखरा, तेल्घा, कोलडाँढा समेतका जग्गाहरू गुठीमा राखिदिए । जात्रा तथा नियमित पूजा संचालनका लागि अक्षयकोषको व्यवस्था गरिदिए । श्री ७ रणउजिरेश्वरी भगवती गुठी राजगुठीमा परिणत भयो । वि.संं १९९० सालको महाभूकम्पको कारण मन्दिर भत्किएपछि वि.स. १९९९ सालमा यसको जीर्णोद्धार भयो । पछिल्लोपटक वि.स. २०३१ सालमा ढुङ्गे स्लेटको छाना लगाइ दुई तले मन्दिर निर्माण भएको हो । जो अधावधि रहेको छ ।
६. भगवतीको रथयात्रा, मन्दिरको महत्व–राष्ट्रियताको सवाल ः पाल्पा तानसेनकी भगवती शक्तिकी केन्द्र हुन् । जसलाई जगाउन वैदिक नियम पूर्वक आव्हान गर्नु पर्ने हुन्छ । अंग्रेजलाई जित्ने पाल्पाली भनेर इतिहास साक्षी छ । कठोर साधना अनुशासन र आचारसंहिता पालना गर्नाले सफलता मिल्दछ भन्ने सन्देश समेत यस मन्दिर र जात्राले दिएको छ । शक्ति केन्द्रहरूले पनि श्रद्धा र आदर सहित विश्वास गरी आराधना गर्ने संस्कार बसालेर माया र सत्यताको शिक्षा दिन खोजेको पाइन्छ । ईश्वर सर्वव्यापी छ, जब जीवित प्राणी अप्ठयारोमा पर्छन् तव ती प्राणीले सबै कुरा बिर्सी अदृश्य शक्तिसँग भावनात्मक सम्बन्ध राखी प्रार्थना गर्छन् र भाकल पुरा गर्दछन् । आराधना गर्नेकै अगाडि दैवी शक्ति उपस्थिति हुन्छ भन्ने सत्य तथ्य उजिरसिंह÷ भगवती मन्दिर÷रथयात्राबाट प्रमाणित हुन्छ । मूर्ति महिषासुर मर्दिनीको वर्णनमा व्याप्त छ । मन्दिर भव्य छ । तान्त्रिक विधिका पूजाभित्र लुकेका दैवी दार्शनिक पक्षहरू थुप्रै छन् । वास्तुकला, धातुकला र संस्कृतिको विकासमा समेत उल्लेखनीय योगदान रहेका छन् । समस्त नेपाल र नेपालीको ऐतिहासिक विजयोत्सवको रूपमा दुई शताब्दी अघिदेखि निरन्तर भगवतीको आराधाना, पूजा र जात्रा निकाल्ने परम्परा अधावधि रहेको छ । नेपाली सेनाद्वारा सलामी अर्पण गरेपछि सम्पूर्ण सरकारी, गैर सरकारी, सामुदायिक एवं स्वयमसेवी संस्थाका अगुवाहरू, भक्तजन, भजन समूहहरू, सर्वसाधारणहरू समेत भई हरेक वर्ष अति उच्च सम्मानका साथ श्री ७ रणउजिरेश्वरी भगवतीको रथयात्रा निकाली बजार परिक्रमा गरिन्छ । जसले नेपालीहरूको वीरगाथालाई संसारभरि फैलाउदै नेपाली राष्ट्रियता र संस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ । राष्ट्रियताको सवालमा पाल्पा÷तानसेन÷उजिरसिंह÷भगवती मन्दिर रथयात्रा सदैव अवल रूपमा प्रतिष्ठापित रहेको छ ।
७. प्रकाशनमा भगवती मन्दिर,उजिरसिंह,रथयात्रा सन्दर्भ –कविन्द्रमान सिंह, डा. कर्णबहादुर बानियाँ, निर्मल श्रेष्ठ, कृष्णचन्द्र देवकोटा, मदन देउराली, पुष्कर अथक रेग्मी लगायतका लेखकहरूबाट पुस्तक एवं लेखरचना प्रकाशित भएका छन् । जिल्ला समन्वय समिति, तानसेन नगर पालिका, तानसेन गुठी, पाल्पाली संगम लगायतका संघ संस्थाहरूबाट प्रकाशित संग्रह र स्मारिका भित्र विशेष लेखहरू संकलित रहेका छन् । पुराना पत्रपत्रिकाहरूका साथै गाउँले देउराली, पाल्पा टाइम्स, नव जनचेतना, परेवा, करूवा, पाल्पा समाचारपत्र लगायत पाल्पाका र बाहिरबाट प्रकाशन हुने थुप्रै पत्रपत्रिकामा लेख तथा समाचारहरू प्रकाशित हुँदै आएका छन् । स्थानीय तथा राष्ट्रिय एफ.एम. तथा टेलिभिजनहरूले समेत मन्दिर र जात्राको प्रचार प्रसार प्रसारण समेत गर्दै आएका छन् । गृहमान सिंह, झपेन्द्र बहादुर जि.सी., रामेश्वर श्रेष्ठ, राजेश्वर उदय, पशुपति शंकर सैजु, गोविन्द भट्टाराई, माधव अर्याल, मुक्ति न्यौपाने, राजेन्द्र लिगल, शंकर गिरी, लालकाजी शाक्य, कमला देवकोटा, बुद्धिप्रसाद शर्मा, कृष्ण पोखरेल, रामप्रसाद न्यौपाने, भुपाल आले मगर, प्रकाश नेपाल, भोजराज भट्ठराई, रामचन्द्र रायमाझी लगायतका अन्य लेखकहरूले समेत कर्णेल उजिरसिंह भगवती मन्दिररथयात्राको बारेमा लेखहरू लेखी प्रकाशन र सम्प्रेषण गर्दै आएको पाइन्छ । प्रकाशित लेखहरूमा केन्द्रित केही विचारणीय पक्षहरू यसप्रकार रहेका छन् ।
(क) “भगवती जात्रा राष्ट्रिय पर्वका रूपमा मनाइदै आएकोमा आजकाल औपचारिकता मात्र पु¥याउने भावनाको विकास हुनु ।” डा. कर्णबहादुर बानियाँ, पाल्पाको भगवती जात्रा (२०५३ः३४)
(ख) “राम्रा पक्षलाई उजागर गर्दै परम्परागत सोंच र शैली त्यागेर भगवती जात्रालाई अझ व्यवस्थित बनाउनु पर्दछ । दिनप्रतिदिन समस्याको विषय बनाइनु हुँदैन ।” वरिष्ठ पत्रकार मेघराज शर्मा, जनचेतना (२०६५–०५–०८)
(ग) “विद्युतले औंला दिंदा डुँढा निल्ने प्रवृत्ति अपनायो र सो जग्गा नै आफ्नो बनायो । तत्कालीन प्र.जि.अ.ले सुविधाका लागि सो जग्गामा जेनेरेटर राख्न मौखिक अनुमति दिएको सुनिन्छ ।”, केदारलाल श्रेष्ठ नवजनचेतना, (२०६५–०५–०८)
(घ) “राष्ट्रिय अस्मिता जोगाउन सफल राष्ट्रिय महत्व बोकेको श्री रणउजिरेश्वरी भगवतीको मन्दिर व्यवस्थापन र रथयात्रा प्रति गम्भीर हुन सकेको छैन । यसरी नसक्नु विडम्बना सिवाय के हुन सक्छ ? माल पाएर चाल नपाए पछि । के यो तानसेन पाल्पाबासी मात्रको सवाल हो ? अथवा राज्यको पनि ?” बुद्धिप्रसाद शर्मा, नवजनचेतना (२०६५–०५–०८)
(ड.) “जात्रामा आम्दानी भन्दा बढी खर्च हुने भएकोले पनि समस्या भोग्नु परेको छ । गुठी संस्थानले गुठीलाई राज गुठीमा परिणत गरेको छ । तर पाउने व्याजको पनि पुरै दिने गरेको छैन ।” माधव अर्याल, पाल्पा दैनिक (२०६६–०४–३१)
(च) “भगवती जात्राबारे बजारमा धेरै चियोचर्चा हुने गरे पनि औपचारिक छलफल र सुझावका कार्यक्रमहरू हुँदैनन् । जात्राका विषयमा सुझाव लिइदैन, जात्रा पछि यथार्थ आयव्यय सार्वज्निक हुँदैन ।” पाल्पा समाचार पत्र (२०७२–०५–०९)
(छ) “तानसेन नगरपालिका, तानसेन गुठी, पाल्पा उद्योग वाण्ज्यि संघ, मालपोत कार्यालय, गुठीको जमिन रैकरमा परिणत गर्दाको रकमको व्याज र नेपाल सरकारबाट प्राप्त नगन्य आर्थिक सहयोग रकम र तानसेन पाल्पाबासीबाट संकलन गरी बडो कठिनका साथ पाल्पामा भगवती जात्रा संचालन गरिदै आएको छ ।”राजेश्वर उदय, करूवा (२०७२–०५–१३)
(ज) “बेलाबेलामा चर्चा भइरहने पुजारी भेटी व्यवस्थापन, जग्गा र मन्दिरको सम्पत्तिलाई समितिले पारदर्शी ढंगले व्यवस्थित र सुरक्षित गर्न आवश्यक छ ।” सम्पादकीय, श्रीनगर खबर (२०७४–०४–३०)
(झ) “गुठियारले लत्त छाडे, आयस्ता आउदैन । गहना केही तात्कालिन सरकार(पुरातत्व विभाग) सँग होला ।” मूल पुरोहित हिक्मत बज्राचार्य, गाउँले देउराली (२०७४ फाल्गुन ४)
(ञ) “राष्टिय अखण्डाको लडाइँ लड्ने पाल्पा अचेल अन्य क्षेत्रको दयामा बाँच्नु परेझै निरीह बन्न पुगेको छ ।” गोविन्द भट्टराई, देउराली (२०७५–०५–१५) ।
(ट) “भगवतीको गुठी राज गुठी हो । राज गुठीको श्री सम्पत्ति कसैले पनि बेचविखत गर्न पाइदैन । तर हाम्रो देशमा यस्तै भैरहेको छ ।” लालकाजी शाक्य, नवजनचेतना (२०७५–०५–१७)
(ठ) “तानसेनमा भएका नेवारहरूले तानसेन छाड्दै गए, अन्य जातिहरू थपिदै गए । उनीहरूलाई तानसेनमा हुने गरेका संस्कृतिबारे नत जानकारी छ न त चाँसो नै लिन्छन् ।” मदन देउराली, तानसेनमा जात्रा, चाडपर्व संरक्षण चुनौती र समाधानका उपाय, अवधारणा पत्र (२०७६–०४–३०)
(ड) “पाल्पामा वर्ष भरि नै विभिन्न देवी देवताको खटयात्रा हुने गर्दछ । ती खटयात्राहरू मध्ये श्री ७ रणउजिरेश्वरी भगवतीको खटयात्रा डिफरेन्ट मात्र होइन इन डिफरेन्ट छ, जसलाई पाल्पाको भगवती जात्राको नामले प्रसिद्ध छ ।” निर्मल श्रेष्ठ, हाम्रो पाल्पा गौरवमय भगवती जात्रा र राष्ट्रियता, विचार पत्र (२०७६–०५–०५)
(ढ) “रथ यात्रा विगतमा भन्दा वर्तमानमा मौलाउँदै आएको छ । यस विषयमा मन्दिर व्यवस्थापन समितिले गम्भीर भएर सोंच्ने बेला आएको छ ।” राजेन्द्र लिगल, करूवा (२०७६–०५–०५)
(ण) नेपाल अंग्रेज युद्धमा सबै क्षेत्रमा नेपालको हार भएको थियो जितगढीमा मात्रै नेपालीहरूले अंग्रेजलाई जितेका थिए । यति हुँदा हुँदै पनि उजिरसिंह थापालाई राष्ट्रिय विभूतिको रूपमा किन मानिएन ? यो गम्भीर प्रश्नको रूपमा रहिरहेको छ ।” पुष्कर अथक रेग्मी, नवजनचेतना (०७६–०५–०७)
(त) “कोरोना कहरः भगवती जात्रा परम्परा धान्नका लागि भए पनि निकालियो ।”, शर्मिला थापा, नवजनचेतना (२०७७–०४–२९)
भगवती मन्दिरको जिन्सी तथा गरगहनाको सम्बन्धमा गुठी समिति नै जानकार हुनुहुन्छ । यद्यपि रामप्रसाद भण्डारीद्वारा लिखित एवं प्रकाशित ‘गुठी मठ–मन्दिरका गहनाहरू सम्बन्धी केही जानकारी’ (२०६३ः४५६–४६०) पुस्तकमा ६८ वटा महलमा भगवती मन्दिरको गरगहनाको जिन्सीको अभिलेख राखिएको छ । यसका साथै उनले पुस्तकमा पाल्पाको श्री अमरलक्ष्मी नारायण, श्री ऋषिकेशव गुठी र श्री भैरवनाथ गुठीको समेत जिन्सी सामानहरूको विवरण प्रस्तुत गरेका छन् ।
८. सार्वजनिक जिज्ञासाहरू
(क) उजिरसिंहसँगै युद्धमा विजयी हुने काजी, सरदार, भारदार एवं झारा सेनाहरूको ऐतिहासिक लेखाजोखा किन हुन सकेन ?
(ख) नेपाल अंग्रेज युद्धमा एक मात्र स्थान (जीतगढी)मा अंग्रेजलाई नराम्ररी परास्त गर्ने बहादुर उजिरसिंह थापालाई आजसम्म पनि किन राष्ट्रिय विभूति घोषणा गरिएन ?
(ग) राष्ट्रिय विजयोत्सवको रूपमा २०० सय वर्ष अघिदेखि मनाउँदै आइएको भगवती जात्रालाई आजसम्म पनि राष्ट्रले  राष्ट्रिय जात्रा र पर्व घोषणा गर्न किन सकेको छैन ?
(घ) २००ं वर्ष नपुग्दै भगवती जात्राको २००औं वर्ष किन मनाइयो ?
(ङ) विभिन्न लेख, रचना, अन्तरवार्ता मार्फत सुधारका कुराहरू आइरहेतापनि त्यसको सम्वोधन गर्न मन्दिर व्यवस्थापन समितिले किन सकेन ?
(च) मन्दिर व्यवस्थापन समितिले बनाएका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू के के थिए र छन् ?
(छ) मन्दिरका नगद, गरगहना र जग्गाहरूलाई गुठीले कसरी व्यवस्थापन गरेको छ ?
(ज) मन्दिरमा नगद र गरगहना चोरी भएका, हराएका कुराहरू पनि सुनिन्छन् । तर भेटिए या भेटिएनन्,  सार्वजनिक किन हुँदैन ?
(झ) रणउजिरेश्वरी भगवती मन्दिर र निशान भगवती मन्दिरमा कुन मन्दिर÷देवी जेष्ठ÷ठूलो हो ? कोरोना कालमा रणउजिरेश्वरी भगवतीलाई निशान भगवतीको दर्शन गराउन किन लगियो ?
(ञ) अचेल जात्रामा मानिसको उपस्थिति विगतको तुलनामा कम हुन्छ भन्ने गुनासो छ  । उपस्थिति बढाउने तर्फ पहल के कति कारणले किन गरिएन ?
(ट) भगवती जात्रामा सहयोग र समन्वय भएन, जात्रा चलाउन निकै गाह्रो भयो, आर्थिक अभाव रह्यो भन्ने सुनिन्छ । सहयोग र समन्वय कुन कुन पक्षबाट भएनन् ?
९. भगवती मन्दिर रथयात्रालाई प्रभावकारी बनाउनका लागि सुझावहरू
विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा भगवती मन्दिर÷रथयात्रालाई व्यवस्थित र प्रभावकारी  बनाउनका लागि निम्न सुझावहरू प्रस्तुत गरिएको छ –
(क) गुठी समितिले समय सापेक्ष रूपमा मन्दिर र रथयात्राको बारेमा सरोकारवालाहरूको भेला गरी छलफल गर्नु पर्दछ ।
(ख) गुठी समितिले अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा ल्याउनु पर्दछ ।
(ग) गुठी समितिमा दलीय भाग बण्डा अनुसारका व्यक्तिहरू रहनु भन्दा इतिहास, संस्कृति र सम्पदा बारे जानकार व्यक्तित्वहरू रहनु पर्दछ ।
(घ) मन्दिर परिसरभित्र रहेका विवादित संरचना र प्रसंगहरूलाई हटाइनु पर्दछ । मन्दिर परिसरलाई आकर्षक ढंगले व्यवस्थित गर्नु पर्दछ ।
(ङ) गुठी समितिले मन्दिर र जात्राको इतिहासदेखि वर्तमान समेटिएको,  गुठीले गरेका कामहरू, पूजा विधिहरू, जात्रा व्यवस्थापनका पक्षहरू, जग्गाहरू र गरगहनाहरूको सूची रहेको, अक्षकोषदाताहरूको नामावली रहेको, आयव्ययको विवरण रहेको, संग्रह दस्तावेजको रूपमा प्रकाशित गर्नु पर्दछ ।
(च) हालसम्म भगवती मन्दिर, उजिरसिंह र जात्राका बारेमा लेखिएका पुस्तक, पत्रपत्रिका एवं समाचार आदिको संकलन गरी धार्मिक पुस्तकालय निर्माण गर्नुपर्दछ ।
(छ) उजिरसिंह सँगै लड्ने अन्य बहादुर वीरहरूको खोजी नीति गरी परिचय सहित अभिलेख राख्नु पर्दछ ।
(ज) भगवती मन्दिर र रथयात्रालाई राष्ट्रिय पर्व र रथयात्रा घोषणा गरिनु पर्दछ ।
(झ) उजिरसिंह थापालाई राष्ट्रिय विभूति  घोषणा गरिनु पर्दछ ।
(ञ)हरेक वर्ष राष्ट्रपति,प्रधानमन्त्री,प्रधान सेनापतिलाई अनिवार्य रूपमा भगवतीको रथयात्रामा उपस्थित हुने व्यवस्था मिलाइनु पर्दछ ।
(ट) भगवती मन्दिर गुठीले पाल्पा तानसेनका अन्य गुठीहरूसँग समन्वय स्थापित गरी पाल्पाको धार्मिक, सांस्कृतिक र सम्पदाको विकास र विस्तारका साथै जात्रा संचालनका महत्व बढाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ । यसका लागि विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक एवं स्वयमसेवी संस्थाहरूबीच समन्वय र सहकार्य गर्नुपर्दछ ।
(ठ) मन्दिर परिसरभित्र रहेका अव्यवस्थित रूखहरू काटिनु पर्दछ । परिसरभित्र भक्तजनहरूका लागि धर्मशाला निर्माण गरिनुका साथै उपयुक्त स्थानमा कार्यक्रमका लागि ठूलो हल निर्माण गरिनु पर्दछ र विवाह, व्रतबन्ध, चौरासी, सप्ताह जस्ता धार्मिक कार्यको आयोजनामा सशुल्क प्रयोगमा ल्याउनु पर्दछ ।
(ड) परिसरभित्र रहेका धर्मशाला र भजन गृहलाई व्यवस्थित बनाइनु पर्दछ । जाडोमा ताप र गर्मीमा शीतलताको व्यवस्थापन गरिनु आवश्यक छ । भजन खल र भजन संरक्षण समितिलाई अझ क्रियाशील र व्यवस्थित बनाइनु पर्दछ । भजन टोलीलाई भजन पोशाक र परिचय पत्रको व्यवस्थापन गरिनु पर्दछ ।
(ढ) मन्दिर परिसरभित्र ठाउँठाउँमा मन्दिर र जात्राका इतिहास लेखिएका फ्लास्बोर्ड र तस्वीरहरू सजाइनु पर्दछ । जसबाट सर्वसाधारण र पर्यटकहरूले समेत धेरै कुराको जानकारी पाउनेछन् ।
(ण) मन्दिर परिसरभित्र नै पुजारीका लागि आवास गृह निर्माण गरिनु पर्दछ ।
(त) मन्दिर बिहानदेखि साँझसम्म नै खोल्ने व्यवस्थापन गरिनु जरूरी छ । मन्दिर परिसरको भित्र र बाहिर पूmल, पूजा सामग्री तथा कला कृतिका सामग्रीहरूका साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पुस्तकहरू सशुल्क÷निःशुल्क बिक्री÷वितरणका लागि राखिनु पर्दछ ।
 (थ) भगवती मन्दिर, उजिरसिंह र जात्रा सम्बन्धी पुस्तक तथा लेख रचनाहरू प्रकाशित गर्ने, समाचारहरू सम्प्रेषण गर्ने, विशेष पूजा तथा अक्षयकोषका लागि रकम प्रदान गर्ने र भजन गाउने व्यक्तित्वहरूलाई सम्मान गरिनु पर्दछ ।
(द) भगवतीको रथ बोक्नेहरूलाई गुठीले हरेक वर्ष कपडा जुत्ता सहितको आकर्षक बढी खप्ने पोशाक प्रदान गर्नुपर्दछ ।
(ध) गुठीले स्थानीय, प्रदेश र राष्ट्रिय सरकारसँग मन्दिर संचालन र जात्रा व्यवस्थापनका लागि नियमित बजेटको माग गरी हरेक वर्ष निश्चित बजेट प्रदान गरिने सुनिश्चिता तीनै तहको सरकारबाट गरिनु पर्दछ ।
(न) मन्दिर परिसरभित्र फ्री वाईफाई जोन हुनु पर्दछ । उपयुक्त स्थान कोणमा भिडियो राखी प्रत्यक्ष प्रसारण र विशेष कार्यक्रम प्रसारण गरिरहनु पर्दछ । परिसरभित्र सी.सी. क्यामरा जडान गरिनु पर्दछ ।
(प) भगवती मन्दिरमा गाइने भजनलाई हस्तान्तरण पुस्तान्तरण गर्नका लागि नयाँ पुस्तालाई तालिम दिइनु पर्दछ । भजनहरू रेकर्ड गरी प्रसारण गरिनुपर्दछ ।
(फ) भगवतीको रथयात्राको समयमा रथमा ४ वटा टेको दिनु पर्दछ । जसले गर्दा रथ बोक्नका लागि सहज र व्यवस्थापनमा प्रभावकारिता देखिन्छ ।
(ब) भगवतीको रथयात्रा चलाउन वर्षेनी समस्या परेकोले यसका लागि के कति कोष चाहिने हो ? त्यसका लागि सरोकारवालाहरूसँग छलफल चलाई नियमित कोष व्यवस्थापन गरी वर्षेनी हुने अभाव र समस्याको दिगो समाधान गरिनु पर्दछ ।
(भ) भगवती मन्दिरसँग सरोकार रहेको भनी सुनी आएको तेल्घाको बालकन्या भगवती र प्रभासको शीतलादेवी मन्दिरको बारेमा समेत खोजीनीति  र चर्चा हुन आवश्यक छ ।
(म) तानसेनको भौगोलिक क्षेत्रमा वृद्धि भएकोले रथयात्रा घुमाउने क्षेत्रको दायरा समेत अझ फराकिलो बनाउदै लैजानु आवश्यक छ ।
(य) महिषासुर मर्दिनी भगवती मन्दिर नेपाली सेनाको शक्तिकी देवी समेत भएकीले पाल्पामा आउने प्र्रत्येक गुल्म गणले भगवती मन्दिर,उजिर सिंह,रथयात्राका लागि नवीनतम कार्य,योगदान गर्नु पर्दछ ।
(र) पाल्पाको तानसेन भाषा, कला, संस्कृति, सम्पदा, परम्परा, भेषभूषा, धार्मिक, आध्यात्मिक, पुरातात्विक मठमन्दिर, जात्रा तथा पर्वहरूले भरिपूर्ण ऐतिहासिक क्षेत्र भएकोले लुम्बिनी प्रदेशकै ऐतिहासिक र सांस्कृतिक राजधानी घोषणा गरिनु पर्दछ ।
१०. समापन–महिषासुर मर्दिनी स्वरूप श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर हाम्रो राष्ट्रिय शक्ति हो । भगवती जात्रा राष्ट्रियता सहितको विजयोत्सवको प्रतीक हो । अंग्रेजमाथिको जित राष्ट्रिय अस्मिताको पहिचान हो । मन्दिर, रथयात्रा र पर्व भनेका हाम्रा सम्पदा  र संस्कृति हुन् । संस्कृति भनेको मानिसले पालना गर्दा गर्दै विकसित भएर मान्य रूपमा स्थापित परम्परागत उच्च अस्तित्व हो । अस्तित्वको रक्षा गर्न सकेमा मात्र कुनै पनि व्यक्ति समाज र राष्ट्रले अन्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सक्छ । अतः राम्रा र असल गुणहरूको अंगीकार गर्न हामीेले हाम्रा अग्रजहरूबाट सिकौं र सन्तती पुस्ताहरूलाई सिकाऔं । जसबाट समाजमा स्वच्छ सभ्यताको विकास हुन्छ । सभ्यताको विकास हुनु नै संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनु हो । निष्कर्षमा भन्नु पर्दा तानसेनकी भगवती शक्ति स्वरूपा हुन् । राष्ट्रिय एकता र विजयश्रीको प्रतीक हुन् जसलाई वैदिक नियमपूर्वक आव्हान गरी जगाएर आशिर्वाद लिन सकियो भने समग्र मुलुककै कल्याण हुनेछ । यसका साथै अंग्रेजलाई जित्ने पाल्पाली गोर्खाली नेपाली कर्णेल उजिरसिंह थापालाई  राष्ट्रिय विभूति, भगवतीको रथयात्रालाई राष्ट्रिय पर्व र पाल्पाको तानसेनलाई लुम्बिनी प्रदेशको ऐतिहासिक सांस्कृतिक राजधानीकै रूपमा घोषणा गरिनु पर्दछ । यसो भएको खण्डमा मात्र पाल्पाली गोर्खाली नेपालीहरूलाई न्याय हुनेछ र राष्ट्रदेखि अन्तराष्ट्रिय स्तरसम्म नै नेपाल राष्ट्र र राष्ट्रियताकै उच्च पहिचान र सम्मान हुनेछ ।
महिषासुर मर्दिनी शक्ति केन्द्रकी देवी हुन् । मन्दिर हाम्रो प्राचीन सम्पदा हो । भगवती जात्रा हाम्रो संस्कृति, परम्परा र विजयको प्रतीक हो । उजिरसिंह थापा विश्व सामु नेपालीको शिर उच्च गराउने वीर पुरुष हुन् । मन्दिर, रथयात्रा र उजिरसिंहको इतिहास सार्वजनिक सरोकारका विषय हुन् । सेनकालीन समयमा स्थापित महिषासुर मर्दिनी, शाहकालीन समयमा रणउजिरेश्वरी भगवतीको रूपमा प्रतिष्ठापित भएसँगै गौंडाकालीन समयसम्म आइपुग्दा भगवतीको रथयात्रा भव्य  सभ्य र दिव्य रूपमा मनाउदै आएको पाइन्छ । समयको क्रमसँगै वर्तमान समयमा व्यवस्थापकीय पक्षहरूमा तालमेल नमिल्नुका साथै समस्या तथा कमजोरी देखा पर्नाले जात्रा व्यवस्थापनलाई प्रभावकारी रूपमा सुसंचालन गर्न गराउन नसकिरहेको जनगुनासोहरू रहेका छन् । गुठीले विगतका दिनमा मन्दिर र रथयात्राको सम्बन्धमा सरोकारवालाहरूबीच भेला बोलाई सार्वजनिक छलफल, अन्तरक्रिया चलाएको पाइएन । विभिन्न पुस्तक, पत्रपत्रिका एवं स्मारिकाहरूमा प्रकाशित लेख, विचार, सुझावहरूको सम्बन्धमा समेत सरोकारवालाहरूको भेला गराई सार्वजनिक छलफल र अन्तरक्रिया गरेको देखिएन । सार्वजनिक सरोकारका विषयहरू, जिज्ञासाहरू, सर्वसाधारणका गुनासाहरू, आध्यात्मिक आस्था र चिन्तनहरू, सम्पदा र संस्कृतिको संरक्षणका प्रयासहरू, प्रर्यटकीय आकर्षणहरू, दीर्घकालीन पूर्वाधारका योजनाहरू, मन्दिर व्यवस्थापन र रथयात्रा संचालनका लागि दिगो सोंचहरूमाथि सम्बोधन गरिएको पाइएन । अतः महिषासुर मर्दिनी भगवती मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन, रथयात्राको प्रभावकारी दिगो व्यवस्थापन र कर्णेल उजिरसिंह थापा सहित पाल्पाली÷गोर्खाली÷नेपाली वीरहरूको योगदानको व्यापीकरण गर्ने र समग्र तानसेनको ऐतिहासिक, सांस्कृतिक विकासको लागि भगवती मन्दिर गुठी व्यवस्थापन समितिले गुरु योजना निर्माण सहित शीघ्र कार्य सम्पादन गर्नु पर्दछ भन्ने उद्देश्यका साथ पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाको तर्फबाट यो अवधारणा पत्र प्रस्तुत गरिएको छ ।
प्रस्तुत मिति २०८०।०४।१३ अवधारणापत्र
सन्दर्भ सामग्री
देउराली, मदन (२०७६) तानसेनका जात्रा चाडपर्व संरक्षणको चुनौती र समाधानका उपाय, अवधारणा पत्र (२०७६–०४–३०)
देवकोटा, कृष्णचन्द्र (२०३२) ऐतिहासिक भगवती जात्रा, तानसेनः श्रेष्ठ न्यूज एजेन्सी ।
रेग्मी, पुष्कर अथक (२०७९) अनुस्मृति, ऐतिहासिक प्रबन्ध संग्रह, पाल्पा ः पाल्पा साहित्य समाज ।
बानियाँ, कर्णबहादुर (२०७०) नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान, पाल्पाः धवल पुस्तकालय ।
श्रेष्ठ, निर्मल (२०७६) हाम्रो पाल्पा गौरवमय भगवती जात्रा र राष्ट्रियता, विचार पत्र (२०७६–०५–०५)
विभिन्न पत्रपत्रिका एवं संगालोहरूमा प्रकाशित लेख, विचार, समाचारहरू आदि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here